mero sathi tv

१८ दिनपछि आमाको काख

आश्विन ३०, २०७४-१८ दिनअघि चोरी भएको सातमहिने छोरा भेटिएपछि आइतबार सुनीतादेवी यादवको खुसीको सीमा रहेन । लामो समयपछि छोरा शुभमलाई काखमा खेलाउन पाउँदा हर्षको आँसु बग्न थाल्यो ।
‘कति दुब्लाइसकेछ,’ छोराको नाडीमा चाँदीको बलिया सुमसुम्याउँदै उनले भनिन्, ‘पहिले यो बलिया साँघुरो थियो, अहिले खुकुलो भइसकेछ ।’ पहिलो भेटमै छोराले आफूलाई चिनेर काखमा लुटुपुटु गरेको सुनीताले बताइन् ।

कमला नगरपालिका–३ पर्सागाउँस्थित घरको छतमा आमासँगै सुतिरहेका शुभम असोज १२ गते मध्यराति चोरिएका थिए । सुनीतासँगै छोरीहरू १५ वर्षीया सञ्जु, १० वर्षीया बेबी र ७ वर्षीया श्रुति पनि सुतेका थिए । छोरा छतबाट खस्ला भनेर कान्छी छोरी श्रुतिलाई सिरानीतिर सुताएकी थिइन् उनले । परिवारका अन्य सदस्य पनि छतमै थिए । त्यति हुँदा पनि बालक चोरिएको कसैले पत्तै पाएनन् ।

पाँच सन्तानकी आमा हुन्, सुनीता । पति महेन्द्र रोजगारीका लागि विदेशमा छन् । जेठा छोरा सुरेन्द्र कक्षा ९ मा पढ्छन् । सुनीताको घरभन्दा उत्तरतिर सामुदायिक दालानको छतबाट उक्लेर बच्चा चोरी गरिएको अनुसन्धानमा संलग्न प्रहरीको दाबी छ । सिरहा प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले शुभमलाई आइतबार सिरहा लक्ष्मीपुर पताइर गाउँपालिका–४ लक्ष्मीपुरस्थित लीलादेवी साह कलवारको घरबाट उद्धार गरेको हो । चोरीमा संलग्न आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरीमा आयोजित पत्रकारसम्मेलनमा आइतबार उनीहरूलाई सार्वजनिक गरियो ।

दुई जना अझै फरार रहेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । प्रहरीका अनुसार चोरी योजनामा कमला नपा–३ का वीरेन्द्र यादव, २ का राधाकृष्ण मण्डल, सिरहा नपा–१० नरहियाका दिलीपकुमार मण्डल, विदेह नपा झिझा टोलका बाला पासमान संलग्न थिए । उनीहरूले लीलादेवीलाई बच्चा बेचेका थिए । तीमध्ये मुख्य आरोपी वीरेन्द्र र बाला फरार रहेको सिंहले बताए ।

शुभमलाई छिमेकी वीरेन्द्रले छतबाट उक्लिएर चोरी गरेको र राति नै लीलादेवीलाई बुझाएको अनुसन्धानमा खुलेको छ । लीलाले बच्चा ल्याइदिएबापत दिलीपलाई साढे ६ लाख रुपैयाँ भुक्तान गरिसकेको बयान दिएकी छन् । उनका तीन छोरी मात्र छन् । पति वैदेशिक रोजगारीमा छन् । प्रहरीका अनुसार दिलीप घटनाका मुख्य योजनाकार हुन् । उनीहरूले राधाकृष्ण मण्डलको घरमा बसेर बच्चा चोर्ने योजना बनाएका थिए जसमा बालासमेत संलग्न थिए ।

Leave A Reply

Your email address will not be published.