mero sathi tv

साउदीमा नेपाली कामदारको समस्या थप जटिल बन्दै बाहिरियो यस्तो रिपोर्ट

सरकारले वैदेशिक रोजगार ऐन संशोधनमा उदाशिनता देखाएको भन्दै प्रवासी नेपालीहरुले आपत्ति जनाएका छन् । त्यसैगरी आममाफीपछि नेपाली दूतावास गम्भीर नभएका कारण साउदीमा नेपाली कामदारको समस्या थप जटिल भएको पनि उनीहरुले गुनासो गरेका छन् ।

नेपाली साझा मञ्च र अन्तर संस्था समन्वय समितिमा आबद्ध सदस्यहरुबिच दमाममा शुक्रबार भएको अनौपचारिक अन्तरक्रिया कार्यक्रमका सहभागीले वैदेशिक रोजगार ऐन संशोधन र आममाफी पछिको अवस्थाका बारेमा यस्तो बताएका हुन् । संसोधन गरिएको ऐन चालू संसदमा नल्याएकोमा आपत्ति जनाउँदै उनीहरुले अध्यादेश मार्फत भएपनि ऐन ल्याउनुपर्ने माग गरेका छन् ।

संसोधन ऐन ल्याउन सरकारलाई चाँडै ज्ञापनपत्र पठाउने र अध्यादेश मार्फत भए पनि संशोधित ऐन जारी गराउन माग गर्ने सहमति सहभागीहरुले गरेका छन् ।

त्यस्तै, साउदी सरकारले घोषणा गरेको आममाफीपछि साउदीमा रहेका नेपालीको समस्या कम हुने अपेक्षा विपरीत समस्या थप जटिल भएको विषयमा पनि छलफल गरिएको थियोे । सहभागीहरुले नेपाली कामदारको समस्या समाधानमा साउदीमा रहेका नेपाली कुटनीतिक नियोगहरुले गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

रोजगारीका लागि आएका नेपालीहरुको अकामा (परिचयपत्र) नबनाई दिने, नविकरण नगरिने, लामो समयसम्म पनि तलब नदिने, आफ्नै खर्चमा स्वदेश फर्कनु पर्ने, लेवरकोर्टले समयमै फैसला नगरिदिने, पासपोर्ट खोस्ने, विरामी हुँदा उपचार नपाउने, खानबस्न नदिने, सम्झौता अवधि पूरा हुँदा पनि स्वदेश फर्कन नदिने, मानसिक शारीरिक यातना दिने लगायतका समस्या साउदीमा रहेका नेपालीले भोगिरहेका छन् ।

अन्तरक्रियामा अन्तर संस्था समन्वय समितिका अध्यक्ष मोहन विएसके, नेपाल मगर संघका कार्यवाहक अध्यक्ष युवराज पुन मगर, अमर आले मगर, राज थापा मगर, युवा कुमाल समाजका ओमबहादुर कुमाल, प्रवासी नेपाली सहयोग युवा मञ्चका संयोजक रविन्द्र खाती, ऋषि श्रेष्ठ, विवेकशिल साझा पार्टीका आदर्श गुभाजु, रामबहादुर कोइराला, राजेन्द्र श्रेष्ठ, हिमालयन एयरलाइन्सका शाखा प्रमुख शरदकुमार शर्मा, नेपाली साझा मञ्चका अन्तर्राष्ट्रिय संयोजक महेश श्रेष्ठ, साउदी संयोजक कृष्ण पुरी, राष्ट्रिय समन्वय समितिका केन्द्रीय सदस्य जिके क्षेत्री, भोजकुमार कार्की, लेखबहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो

Leave A Reply

Your email address will not be published.