mero sathi tv

कांग्रेसमा एकताको अभ्यासः विरोधका स्वर एकाएक मत्थर

प्रादेशिक र संघीय संसदका उम्मेदवार छनोटमा युवालाई नसमेटिएकामा चरम असन्तुष्टी सतहमै पोखिएको थियो, कांग्रेसभित्र । तर, असन्तुष्ट अनुहारहरु अहिले मौन देखिन्छन् । असन्तुष्टीका बावजुद आ-आफ्ना क्षेत्रका उम्मेदवारलाई मत माग्न घरदैलोमा देखिन थालेका छन्, उनीहरु ।

पार्टीले असन्तुष्टी सम्बोधन गरेका कारण उनीहरु मौन बसेका भने होइनन्, वाम गठबन्धनका शीर्ष नेताहरुका पछिल्ला अभिव्यक्तिले उनीहरुमा कांग्रेसलाई जिताउनै पर्ने मनोविज्ञान विकास भएको हो ।

फुट र विभाजन कांग्रेसभित्र जरा गाडेर बसेको रोग नै मानिन्छ । ‘अहिले अभूतपूर्व एकता देखिएको छ,’ युवा नेता गगन थापा भन्छन् ।

१७ असोजमा एमाले र माओवादी केन्द्रले निकट भविष्यमै पार्टी एकतासम्म पुग्ने गरी चुनावी गठबन्धन घोषणा गर्दा कांग्रेसका अधिकांश नेता/कार्यकर्तामा मनोवैज्ञानिक त्रास सिर्जना भएको थियो । अहिले त्यस्तो त्रास विस्तारै हट्दै गएको देखिएको कांग्रेसलाई नजिकबाट नियालिरहेका विश्लेषकहरुको ठम्याइ छ ।

शायद यही बुझेर हुन सक्छ, १० कात्तिकमा पोखरा पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनको सबैभन्दा ठूलो लाभ कांग्रेसलाई पुगेका बताएका थिए । भनेका थिए, ‘वाम गठबन्धनकै कारण कांग्रेस एकतावद्ध भएको छ ।’

यस्तो छ आकलन र रणनीति

तथापि, यसपटक प्रतिनिधिसभामा उत्कृष्ट प्रदर्शन गर्न नसकिने आकलन कांग्रेसजनको देखिन्छ । कांग्रेसको तुलनामा दोब्बरभन्दा बढी सिटमा एमाले र माओवादीको वाम गठबन्धनले विजय हासिल गर्ने उनीहरुको ठम्याइ देखिन्छ ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा ३७ वटा निर्वाचन क्षेत्र छन्, प्रतिनिधिसभाका । तीमध्ये १० वटा सिट आफ्नो पोल्टामा आए पनि ठूलो उपलब्धि मानिने एक कांग्रेस नेता बताउँछन् ।

उनका अनुसार हिमाली र पहाडी भेगका ती निर्वाचन क्षेत्रमा वाम रुझान बलियो देखिएको छ । र, कांग्रेस उम्मेदवारले बढी मिहिनेत गर्नुपर्ने अवस्था छ । पहिलो चरण निर्वाचन हुन पाँच दिन मात्र बाँकी रहँदा अहिले देखिएको एकताबाट मात्र वाम गठबन्धनलाई हराउन सहज नरहेको ती नेताको ठम्याइ छ ।

दोस्रो चरणको निर्वाचनमा भने पहिलोभन्दा तेब्बर सिटमा जित हात पार्ने कांग्रेसको रणनीति देखिन्छ । कांग्रेसको चुनावी प्रस्तुतीको शृंखला विश्लेषण गर्दा यसपटक ४० भन्दामाथि र ५० सिट हाराहारीमा उक्त पार्टीले प्रतिनिधिसभामा स्थान पक्का गराउने सम्भावना रहेको आकलन पार्टी वृत्तमा देखिन्छ । त्यो भनेको बढीमा ३० प्रतिशत सिटमा कांग्रेस खुम्चिने अनुमान हो ।

नयाँशक्ति पार्टी र मधेशी दलहरुसँगको चुनावी गठबन्धनबाट खासै फाइदा बटुल्न नसकिने विश्लेषण कांग्रेसभित्र देखिएको छ । नयाँशक्तिले गोरखाका दुईबाहेकका अधिकांश निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ ।

मधेशी दलहरु राजपा र संघीय समाजवादी फोरमको गठबन्धनसँग कांग्रेसले सुनसरी-१, महोत्तरी-३ र सप्तरी-२ मा मात्र चुनावी तालमेल गरेको छ । त्यसको लाभ कांग्रेसले उठाउन पाउने छैन । किनभने, तीन वटाबाहेक प्रदेश-२ कै अधिकांश निर्वाचन क्षेत्रमा मधेशी दलले उम्मेदवारी दिएका छन् ।

‘नयाँशक्ति र मधेशी दलहरुसँग चुनावी तालमेल छ पनि, छैन पनि,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘उनीहरुसँगको तालमेलबाट कांग्रेसलाई केही फाइदा हुने छैन ।’

नयाँशक्तिले गोरखाबाहेकका क्षेत्रमा कांग्रेससँग चुनावी तालमेल नगरेको विषयले गोरखा-२ बाट उम्मेदवारी दिएका डा. बाबुराम भट्टराईलाई असर पर्ने सम्भावना पनि त्यत्तिकै देखिन्छ । उक्त क्षेत्रमा कांग्रेसको सोलोडोलो मत प्राप्त गर्न नसके डा. भट्टराईका लागि चुनाव जित्न हम्मे पर्ने देखिएको छ ।

राप्रपासँगको तालमेलबाट भने राम्रै लाभ उठाउन सकिने बुझेका छन्, कांग्रेसजनले । जस्तो- काठमाडौं-४ मा मात्र राप्रपाको करिब ३५ सय मत छ । उक्त मत आफ्ना पक्षमा खस्ने कुराले कांग्रेस उम्मेदवार गगन थापामा उत्साह देखिन्छ ।

‘कतिपय ठाउँमा राप्रपाको राम्रो मत प्राप्त गर्न सकिने वातावरण बनेको छ, जुन कम्युनिस्टलाई नजाने मत हो,’ थापा भन्छन्, ‘र, त्यो अन्डर स्टिमेट गर्ने मत पनि होइन ।’

उनको बुझाइमा कतिपय निर्वाचन क्षेत्रमा राप्रपाको मत निर्णायक बन्न सक्छ ।

७०/३० को आँकडा

नेपालको सन्दर्भमा समाजशास्त्रीय दृष्टिकोणबाट ७० प्रतिशत लोकतान्त्रिक र ३० प्रतिशत वामपन्थी मत रहेको मानिन्छ । यस कोणबाट हेर्दा एमाले, माओवादीलगायत वामपन्थी दलले यसअघि पाएको मत कम्युनिस्ट कित्ताको मात्र नभई लोकतान्त्रिक वृत्तको पनि हो ।

सोही कारण प्रतिनिधिसभामा एमाले र माओवादीका पक्षमा मत एकोहोरिने सम्भावनामा शंकाको सुविधा दिन्छ, उक्त दृष्टिकोणले । र, ७० प्रतिशत मत कांग्रेसको एकलौटी पनि होइन ।

वाम गठबन्धन र कांग्रेसबीच त्यही ७० प्रतिशत मत आफ्नो पोल्टामा पार्ने होडबाजी चल्ने हो ।

यसपालि कांग्रेस नेताहरु एमाले र माओवादीलाई जाने लोकतान्त्रिक मत आफूतिर तान्ने अभ्यासमा देखिन्छन् । वाम गठबन्धनबाट एमाले या माओवादीका उम्मेदवार उठेका क्षेत्रमा दुवै दलको सोलोडोलो मत नखस्ने सम्भावनामा खेल्न खोजेको देखिन्छ, कांग्रेसले ।

एमाले भएका कारण माओवादी र माओवादी भएका कारण एमालेका उम्मेदवारलाई मत दिन नचाहने मतदातालाई आफूतिर तान्ने कांग्रेसको रणनीति देखिन्छ । तथापि, त्यस्तो मत ग्रामीण इलाकामा नभई शहर/बजारमा मात्र तान्न सकिने विश्वास कांग्रेसमा देखिन्छ ।

ग्रामीण भेगमा असाध्यै प्रतिबद्ध कार्यकर्ता भएकाले एमाले र माओवादीको मत कांग्रेसले प्राप्त गर्ने सम्भावना कमजोर देखिन्छ । शहरी इलाकामा भने आफ्नो पार्टीले भनेकै आधारमा अर्को पार्टीलाई भोट हाल्ने सम्भावना कमजोर देखिएको कुरालाई आफ्नो अवसरका रुपमा देखेका छन्, कांग्रेस उम्मेदवारहरुले ।

मत पनि त्यस्तै ठाउँमा बढी छ, जुन कांग्रेसका लागि लाभदायक सिद्ध हुन सक्छ । त्यही मत निर्णायक बन्ने सम्भावना पनि उत्तिकै छ ।

विरोधाभाषपूर्ण एजेन्डा

चुनावी माहोल तात्दै गर्दा धेरै कांग्रेस समर्थकको आशा देखिन्थ्यो, पार्टी शीर्ष नेतृत्वले केही न केही नौलो एजेन्डा पस्किने छ । अझ, त्यसभन्दा अगाडि बढेका केहीको आशा थियो, कुनै सर्वस्वीकार्य नेतालाई भावी प्रधानमन्त्री घोषणा गरेर कांग्रेसले वाम गठबन्धनलाई कडा चुनौती दिनेछ ।

तर, त्यस्तो हुन सकेन । वाम गठबन्धनलाई ‘ट्याकल’ गर्न सक्ने कुनै नयाँ एजेन्डा घोषणापत्रमा समेटिएनन् । न त कुनै नेतालाई भावी प्रधानमन्त्रीको उम्मेदवार नै घोषणा गरियो । प्रदेशका सम्भावित मुख्यमन्त्री पनि तोक्न सकेन, कांग्रेसले ।

बरु, घोषणापत्रमा एमालेलाई हेर्ने दृष्टिकोणमा वाम गठबन्धनका कारण अतालिएको आभास पाइयो ।

‘वाम गठबन्धनको विजय भए मुलुकमा कम्युनिस्ट अधिनायकवाद आउने कांग्रेसको तर्कमा दम देखिँदैन,’ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘कम्युनिस्टहरुलाई लोकतान्त्रिक प्रक्रियामा ल्याउन आफैंले निर्वाह गरेको ऐतिहासिक भूमिका कांग्रेसले बिर्सियो ।’

वामपन्थको लोकतान्त्रिक रुपान्तरणमा बारम्बार कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । ०४६ सालको परिवर्तनमा वाम मोर्चा गठन गराउँदै कांग्रेसका तत्कालीन सर्वमान्य नेता गणेशमान सिंहले पञ्चायती व्यवस्थाविरुद्धको संघर्षलाई सफल बनाएका थिए ।

स्वर्गीय कृष्णप्रसाद भट्टराई पनि कम्युनिस्टहरुप्रति ‘सफ्ट कर्नर’ राख्थे । स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पनि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

‘ऐतिहासिक पक्षलाई कांग्रेसको अहिलेको घोषणापत्रले छाडिदियो । त्यो कांग्रेसका लागि सुहाउने कुरा होइन,’ आचार्य भन्छन् ।

त्यसै पनि, एमाले ५/७ वटा निर्वाचनमा भाग लिएर लोकतान्त्रिक अभ्यासमा खरो उत्रिइसकेको पार्टी हो । माओवादी पनि सत्ताकब्जाको धङधङीबाट बाहिर निस्केर लोकतान्त्रिक अभ्यासमा अग्रसर भइसकेको छ ।

घोषणापत्रमा कांग्रेसले एमालेलाई ‘कर्पोरेट हाउस’जस्तो पार्टीका रुपमा व्याख्या गरेको छ । आर्थिक रुपमा चरम पूँजीवादी ढाँचाको बताएर राजनीतिक रुपमा कम्युनिस्ट अधिनायकवादी पार्टीको संज्ञा दिनु आफैंमा विरोधाभाषपूर्ण छ ।

सडक निर्माण, बिजुलीका पोल गाड्नेलगायत विषय ०४८ सालदेखि नै राष्ट्रिय राजनीतिमा विकासको एजेन्डा बनेका छन् । ती सबै स्थानीय तहमा वडाध्यक्षहरुले गर्ने काम हुन् ।

२६ वर्षदेखि निरन्तर तिनै एजेन्डा पार्टीहरुका घोषणापत्रमा उल्लेख हुँदै आएका छन् । यत्रो वर्ष शासन गरेर कांग्रेसले किन ती विषयलाई सम्बोधन गर्न सकेन भन्ने प्रश्न मतदाताले तेर्स्याइरहेका छन् ।

चुनावी निर्णयको आधार भारतीय नाकाबन्दी !

राजनीतिक विश्लेषक आचार्यको भनाइमा स्थानीय तह र आसन्न प्रदेश/प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष रुपमा भारतीय नाकाबन्दीपछिको घरेलु राजनीति निर्णायक देखिएको छ ।

तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भएको र मधेशको मुद्दा सम्बोधन गर्न कांग्रेसले प्रयत्न गरेको विषयलाई नेतृत्वले मतदातामाझ बिक्री गर्न नसकिरहेको कुरा सत्य हो । ती सकारात्मकताका बावजुद चुनावी माहोल कांग्रेसमैत्री नदेखिनुको पछाडि पेचिलो भूराजनीति दृष्यमा आउँछ ।

संविधान जारी भएलगत्तै भारतले त्यसमा असन्तुष्टी जनाउँदै गरेको नाकाबन्दीले पहाडी भेगमा बसोबास गर्ने मतदातामा दक्षिणी छिमेकीप्रति बितृष्णा पैदा भएको थियो, जुन अद्यापि कायम छ ।

चुनावको पूर्वसन्ध्यामा राष्ट्रवादको बहस चुलिँदाको परिणाम कांग्रेसका चुनावी नतिजाहरुमा देखिन पुगेको छ । निर्वाचनको मुखमा यो बहसले वाम गठबन्धनलाई चिठ्ठाको काम गर्न पुगेको छ

भारतविरोधी ‘सेन्टिमेन्ट’मा उग्र र संकीर्ण राष्ट्रवादले जरा गाडेको छ । त्यसयता नेपाल दुई खेमामा बाँडिएको छ । ‘पहाडी सांस्कृतिक समूहले नाकाबन्दीपछि भारतलाई घृणा गर्न थालेको छ । र, त्यो करिब ७० प्रतिशतको संख्यामा छ,’ आचार्य भन्छन्, ‘दुर्भाग्य मान्नु पर्छ, कांग्रेस त्यो खेमाका लागि दोस्रो पक्ष बनेको छ । र, निरपेक्ष राष्ट्रवादका पक्षमा उभिँदै गर्दा कांग्रेसले उक्त समूहको विश्वास गुमाएको छ ।’

जस्तो- भारतको नाकाबन्दीलाई कांग्रेसले न विरोध गर्न सक्यो न त समर्थन नै । निरपेक्ष बस्दै गर्दा कांग्रेसको देशभक्तिमा संशय पैदा भयो । र, कांग्रेसको फराकिलो मूल्यमा पनि गिरावट देखियो ।

राणाशाही र पञ्चायत ढाल्न मुख्य भूमिका निर्वाह गरेको, कम्युनिस्टहरुको लोकतान्त्रीकरण गराएको, माओवादीको हतियार बिसाउन नेतृत्व लिएकोलगायत ऐतिहासिक भूमिका सोही कारणले गौण बन्न पुगेको छ, अहिले ।

ती सबै तथ्यहरुलाई जोडेर अलिकति प्रगतिशील हिसाबले प्रस्तुत भएको भए त्यो संकीर्ण राष्ट्रवादलाई छिचोल्न कांग्रेसले पापड बेल्नुपर्ने थिएन ।

तर, कांग्रेसको तत्कालीन शीर्ष तहले भारतीय नाकाबन्दीको विरोध गर्नु भनेको सत्तामा पुग्ने बाटो अवरोध हुनु हो भन्ने ढंगले बुझ्यो । तल्लो तहसम्म त्यही मनोविज्ञान हाबी भयो ।

भारतीय नाकाबन्दीमा कांग्रेसका नेताहरु तमासे बन्दै गर्दा वाम गठबन्धन त्यसमा पनि एमालेले त्यसमा ‘स्कोर’ गर्‍यो । त्यही कुरा बुझेर माओवादी त्यसमा मिसिन गयो । र, त्यो माओवादीको अस्तित्व रक्षाको रणनीति पनि थियो ।

चुनावको पूर्वसन्ध्यामा राष्ट्रवादको बहस चुलिँदाको परिणाम कांग्रेसका चुनावी नतिजाहरुमा देखिन पुगेको छ । निर्वाचनको मुखमा यो बहसले वाम गठबन्धनलाई चिठ्ठाको काम गर्न पुगेको छ ।

‘अहिलेको कांग्रेसको कमजोरी भनेको यो रक्षात्मक छ । जनतासँग गाँसिने कांग्रेसका नेताहरुको क्षमता कमजोर देखिएको छ,’ आचार्यको तर्क छ, ‘आफ्ना उपलब्धिहरुलाई प्रस्तुत गर्ने क्षमतामा पनि कमजोर सावित भएको छ, नेतृत्व ।’

‘सबैभन्दा ठूलो कुरा कांग्रेसको ‘क्याम्पेनर’ छैन, अहिले,’ राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल भन्छन्, ‘पहिलो संविधानसभा निर्वाचनदेखि नै कांग्रेसमा क्याम्पेनरको अभाव देखिँदै आएको छ ।’

अवसरको संघारमा कांग्रेस

त्यसो भए कांग्रेसको भविष्य खतरनाक मोडमा छ त ? कम्युनिस्टले जिते आफूहरुलाई उठ्न नदिने पूरानो मनोविज्ञानका दृष्टिकोणबाट त्यसैलाई सत्य मान्दा हुन्छ ।

तर, सत्य त्यतिमै सीमित छैन । कांग्रेसका लागि संगठन र मतदातालाई फेरि आफ्नो केन्द्रमा गोलबद्ध गर्ने अवसर पनि देख्छन् यसलाई, कतिपय विश्लेषक ।

अहिलेको कांग्रेस नेतृत्वको ‘र्‍यांक एन्ड फाइल’लाई युवामैत्री मान्न कठिन छ । युवा पुस्तालाई अगाडि सार्न नसक्दाको परिणाम मान्न सकिन्छ, पछिल्लो कमजोर प्रस्तुतीलाई ।

संसारभर ४० वर्ष हाराहारीका नेताले विभिन्न मुलुकको नेतृत्व लिएका छन् । कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीका हकमा युवाको अग्रसरता अनिवार्य सर्त हुनुपर्ने हो ।

यो निर्वाचनमा युवा पुस्तालाई ‘कम्युनिकेट’ गर्न सक्ने कुनै नेतालाई अगाडि सारेर निर्वाचनमा गएको भए कांग्रेसको ‘पोजिसन’ बलियो बन्न सक्थ्यो । किनभने, त्यस्तो नेतासँग आफूले बोलेको कुरा पूरा गर्ने समय रहन्थ्यो ।

७० नाघेको नेतृत्वका लागि काम गर्न समय कम हुनु स्वाभाविकै हो, जसले १५ वर्षपछि मुलुकको मुहार यस्तो बनाउँछु भन्दै गर्दा मतदाताले सहजै विश्वास गर्दैनन् ।

युवालाई आकर्षित गर्न नसक्नु नै कांग्रेसको ठूलो कमजोरी देखिएको छ । र, युवाकेन्दि्रत पार्टीको परिकल्पना गरेर अगाडि बढ्दा कांग्रेसको निकट भविष्य नराम्रो पनि मान्न सकिँदैन । तर, त्यसका लागि स्थानीय र प्रादेशिक तहदेखि नै पार्टीको ‘रि-इन्जिनियरिङ’ अत्यावश्यक देखिन्छ ।

कम्युनिस्टहरुको उद्दण्डताले कांग्रेसलाई धेरै पटक बचाएको छ । यही चुनावमा पनि त्यो अवसर ‘क्यास’ गर्न सक्छन्, कांग्रेसका उम्मेदवारहरुले

कांग्रेस, माओवादी र मधेशकेन्द्रित दलहरुका यी र यस्तै कमजोरीको फाइदा एमालेले उठाइरहेको प्रष्ट छ ।

केचाहीं सत्य हो भने कम्युनिस्टहरुको उद्दण्डताले कांग्रेसलाई धेरै पटक बचाएको छ । यही चुनावमा पनि त्यो अवसर ‘क्यास’ गर्न सक्छन्, कांग्रेसका उम्मेदवारहरुले ।

‘एमाले अध्यक्ष केपी ओलीका ७२ घण्टायताका अभिव्यक्ति हेर्दा कांग्रेसका लागि अवसर सिर्जना हुँदै गएको आभाष हुन्छ,’ आचार्य भन्छन् । चुनावी अभियानमा आउने उत्तेजक अभिव्यक्तिलाई दुई हिसाबले विश्लेषण गर्ने गरिएको छ । पहिलो, अति आत्मविश्वास र दोस्रो पराजित मानसिकताको उपज ।

‘ओलीमा कहीं कतै वाम गठबन्धनका कारण आफू कमजोर बन्दै गएको अनुभूति झल्किन थालेको छ । माओवादीसँग गठबन्धन गरेर गल्ति गरेको महशुस उनमा पलाउन थालेको पाइन्छ,’ आचार्य भन्छन्, ‘किनभने, गाली त्यसले मात्र ज्यादा गर्छ, जो चुनाव हार्ने या कमजोर बन्ने मनोविज्ञानबाट त्रसित बन्न थाल्छ ।’

कांग्रेसभित्र एउटा जबर्जस्त मनोविज्ञान देखिन्छ । त्यो हो, एमालेसँग गठबन्धन गरेर माओवादीले चुनावमा आफ्नो हैसियतभन्दा ज्यादा सिट जित्ने र कांग्रेससँग मिलेर सरकार गठन गर्ने ।

माओवादी अध्यक्ष दाहाललाई अति महत्वाकांक्षी नेता मान्छन्, कांग्रेसजन । दाहालले सत्तामा पुग्ने बाटो जुनसुकै पनि रोज्न सक्छन् भन्ने कांग्रेसजनको बुझाइ देखिन्छ । त्यही बुझेर हुन सक्छ, कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश-७ को चुनावी अभियानमा आफूलाई नै भावि प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न छुटाएका छैनन् ।

प्राध्यापक खनाल भने आगामी चुनावलाई सतहमा बसेर विश्लेषण गर्नु गल्ति हुने बताउँछन् । ‘चरम ध्रुवीकरणका बेला गैर-कम्युनिस्ट मतको लाभ कांग्रेसलाई हुन्छ,’ खनाल भन्छन्, ‘जतिसुकै खराबीका बावजुद पनि प्रजातान्त्रिक पद्दतिमा विश्वास गर्नेहरुले कांग्रेसलाई नै मत दिन्छन् ।’

प्राध्यापक खनालको भनाइमा कांग्रेसलाई परिस्थितिको लाभ हरेक निर्वाचन देखिने गरेको छ । ०५६ मा एमाले र ०७० मा माओवादी विभाजनको लाभ कांग्रेसले प्राप्त गरेको थियो ।

खनाल भन्छन्, ‘०७० सालको चुनावमा वैद्य माओवादीले कांग्रेसलाई माथि उकासेर माओवादीलाई तल झारिदिएको हो । विप्लव माओवादीको टार्गेट पनि माओवादी नै हुन सक्छ ।’

उनको बुझाइमा वाम गठबन्धनको घोषणाका बेलामा एमाले र माओवादीका नेताहरुको प्रस्तुती र साम्यवादमा पुग्ने घोषणाको प्रतिक्रियाको लाभ पनि कांग्रेसले पाउने सम्भावना बलियो देखिन्छ ।

Leave A Reply

Your email address will not be published.