mero sathi tv

साउदीमा तेजेन्द्रको मृत्यु : एकै मानिसका दुईटा लास जले, तर मरेको प्रमाण फेला परेन

तेजेन्द्र भण्डारी दुर्घटनामा परेर साउदीमा मरेपछि उनको किरिया दुई महिलाले, दुई पल्ट दुई ठाउँमा गरे ।
मृत्यु लगत्तै आएको लास आफ्ना पति सुवासकै हो भनेर मोरङको लक्ष्मीमार्गकी सन्तोषीको सिउँदो पखालियो । त्यसको तीन महिनापछि तेजेन्द्रकी श्रीमती नामु भण्डारीका हातका चुरा फुटे, सिउँदोको सिन्दुर पखालियो र छोरी टुहुरी भइन् ।
मरेको ३ वर्ष पुग्न लाग्दा पनि तेजेन्द्रकी श्रीमती नामु र आमा सुर्विताले तेजेन्द्र मरेको प्रमाण फेला पारेका छैनन् । त्यसैले, उनीहरुलाई तेजेन्द्रले कुनैबेला साउदीबाट टेलिफोन गर्छन् जस्तो लागि रहन्छ ।

कपिलवस्तुको शिवनगरमा रहेको घरमा खाना खान बसेकी सुर्विता बर्बराएको स्वरमा भन्छिन् ‘मेरो नानीले आमा भनेर गुहार्‍यो,’ । खाना खान बसेकी सुर्विता भण्डारीलाई मरिसकेका छोराले बोलाएको झझल्को लागिरहन्छ । त्यो साँझ मेरा अगाडि पनि त्यस्तै भयो । खाना खान बसेका बेला छोराले आमा भनेर बोलायो भन्दै सुर्विताले बुहारीलाई छोराका लागि खाना छुट्याउन अह्राइन् ।
जेठी बुहारी शान्तिले साग र भात बटुकोमा हालेर अगेनोको छेउमा छुट्याइ दिइन् । टोलाउँदै खाना खाइरहेकी सुर्विता बुहारीले बटुकोमा मरेको छोरालाई छुट्याइदिएको भात हेर्दै सुँक्सुकाउन थालिन् ।

सुर्विता धेरै जसो बाग्लुङमै बस्छिन् । तेजेन्द्रकी श्रीमती नामु र छोरी गायत्री कपिलवस्तुमा बस्छन् । छोरो बितेपछि बिरत्तिएकी सुर्विता मन भुलाउन कहिले कपिलवस्तु कहिले बाग्लुङ आवतजावत गरिरहन्छिन् । गएको कात्तिक १६ गते उनी कपिलवस्तुको शिवराज नगरपालिकाको खैरहनी पुगेकी थिइन् ।

२ वर्ष भयो सुर्विताको दिन छोराको वियोगमा बितेको । रोजगारीका लागि २०६९ साल सकिनै लाग्दा साउदी गएका उनका छोरा तेजेन्द्र भण्डारी २०७२ असार २४ गते दुर्घट्ना परेर साउदी मै बिते । विदेशमा बितेका छोराको लास पनि देख्न नपाउँदा सुर्विता मानसिक रुपमा विक्षिप्त छिन् । लास नआएसम्म सुर्विताको मनले छोराको मृत्यु स्वीकार्न सकेको छैन ।

तेजेन्द्रकी श्रीमती नामुले श्रीमान्को काजकिरिया गरिसकेपछि पनि मृत्यु चाहिँ स्वीकार्न सकेकी छैनन् । तेजेन्द्र र नामु बिच तेजेन्द्र दुर्घट्नामा पर्ने अघिल्लो दिन राती अबेरसम्म कुराकानी भएको थियो । त्यो दिन फेसबुक च्याटमा अबेरसम्म कुराकानी गरेका श्रीमान्ले नामुसँग अघिपछि गर्ने भन्दा फरक कुरा गरेका थिए ।

‘तिम्रो र मेरो यसरी कुरा हुन अब तीन दिन मात्र बाँकी छ । मलाई जेल हाल्ने भनेका छन् । तिम्रो र मेरो त भेट पनि हुन्न होला,’ नामु श्रीमानले २०७२ असार २३ गते फेसबुक च्याटमा लेखेका कुरा सुनाउँदै भन्छिन, ‘उहाँले भने जस्तै भयो ।’ भनिन्छ कहिलेकाहीँ बोलेको पुग्छ । नामु र तेजेन्द्रको हकमा पनि यही लागु भयो ।

नामु र तेजेन्द्र बिच यो नै अन्तिम कुराकानी बन्यो । राति अबेरसम्म अनौठा गफ गरेर बिदा भएका श्रीमान् फेरि फेसबुकमा देखिएनन् । स्वीच अफ भएको तेजेन्द्रको फोन फेरि अन भएन । श्रीमानसँग कुनै माध्यमबाट पनि सम्पर्क नभएपछि नामु आत्तिइन् । अघिल्लो दिन भेट नहुने कुरा गरेका श्रीमान् भोलिपल्ट एक्कासी सम्पर्कविहिन हुँदा नामु रनभुल्लमा परिन् ।

साउदीमै रहेका उनका भाइलाई बुझ्न लगाइन् । नामुका भाइलाई पनि तेजेन्द्रको बारेमा खोधिखोजी गर्न समय लाग्यो । उनले भोलिपल्ट मात्रै नामुलाई तेजेन्द्रको बारेमा जानकारी दिए ।

‘दिदी भिनाजु त दुर्घटटामा परेका छन् रे,’ नामु भाइले दिएको खबर सुन्दा नामुलाई सुरुमा त पत्यार लागेन । अघिल्लो दिन अबरेसम्म श्रमितीसँग कुरा गरेर बिदा भएका तेजेन्द्र भोलिपल्ट (२०७२ असार २४ गते) साउदीका रहेको हुण्डाई कम्पनीमा काम गर्ने चार जना नेपालीलाई लिएर हुँइकिएका थिए । उनले चलाएको ट्याक्सी दुर्घट्नामा पर्यो ।

भाइबाट नामुले यत्तिनै जानकारी पाएकी थिइन् । भाइले दिएको खबरले नामुलाई छट्पटी भयो । दुर्घट्ना पछि के भयो, श्रीमान् कहाँ छन, नामुको मन प्रश्नले भरिए । उनले फेसबुकमा खोज्दै जाँदा श्रीमानका साथी गोरखाका शिव गुरुङ फेला पारिन् । शिव र तेजेन्द्र एउटै कोठामा बस्ने साथी थिए । तेजेन्द्रको दुर्घट्ना पछि उनी अस्पताल पनि पुगेका थिए । उनैले नामुलाई तेजेन्द्रको दुर्घट्नाको बारेमा सबै कुरा बताए ।

दुर्घटनामा उनी सहित पाँच जना नेपाली परेका थिए । साउदीको जेद्धामा रहेको किङ अजिज अब्दुल अस्पतालले दुर्घट्नाको भोलिपल्ट अर्थात असार २५ गते हुण्डाई कम्पनीका काम गर्ने चारजना नेपालीको मृत्यु भएको घोषणा गरिसकेको थियो । नामुका श्रीमान तेजेन्द्रकोे भने उपचार भइरहेको थियो । तर उनलाई गहिरो चोट लागेको बताए शिवले ।

बाग्लुङको ढोरपाटन नगरपालिकाको अधिकारी चौरमा बस्ने सुर्विता भण्डारीलाई छोराको दुर्घटनामा परि मरेको निकै पछिसम्म थाहा थिएन । बाग्लुङमा बस्ने तेजेन्द्रका आफन्तलाई उनको दुर्घटनाको बारेमा थाहा भए पनि सुर्वितालाई यो खबर सुनाइएको थिएन ।
‘मलाई रुन्छे भनेर कसैले सुनाएनन्, छोरो त्यस्तो भएको रैछ मैले त १०-१२ दिन पछि मात्रै थाहा पाएँ,’ सुर्विता छोराको दुर्घटनाको बारेमा आफूलाई भनेनन् भनेर गुनासो गर्छिन् । छोराको दुर्घटनाको बारेमा सुनेपछि सुर्विताले दिन रोएरै बिताउन थालिन् ।

उनी गाउँमा मोवाइल बोक्ने मानिस भेट्ने बित्तिकै छोरालाई फोन लगाइदेउ भन्थिन् । तर उनलाई अस्पतालमा कोमामा रहेको छोरा बोल्न सक्दैन भन्ने थाहा थिएन । दुर्घटनामा परेर बिरामी भएको छोरालाई कस्तो छ भनेर सोध्ने इच्छा पूरा भएन सुर्विताको ।
अस्पतालमा उपचार गराइरहेका श्रीमानको हालखबर बुझ्न शिवलाई दिनहुँ फोन गर्थिन् नामु पनि । शिवले दिने जवाफ एउटै थियो, ‘अनुहारमा पट्टी लगाएको छ हेर्न मिल्दैन ।’

सात समुन्द्र पारीको अस्पतालमा उपचार गराइरहेका श्रीमानलाई हेर्न उडेरै जाउँ जस्तो लाग्थ्यो नामुलाई । तर त्यो असम्भव थियो । छट्पटीलाई शान्त पार्ने बाटो बने तेजेन्द्रका साथी शिव ।

नामुलाई तेजेन्द्रका बारेमा छिमेकीले अनेक सुनाउँथे । ‘कोही भन्थे हात छैन रे, कोही भन्थे खुट्टा छैन रे, तर मलाई साथ मात्रै भए पनि हुन्छ जस्तो लाग्थ्यो,’ नामु बोल्दा बोल्दै रुन थालिन् । श्रीमान् दुर्घटनामा परेर महिना बित्दा पनि होस नआउदा अतालिएकी नामुलाई गाउँलेका यस्ता कुरा सुन्दा मन अमिलो हुन्थ्यो ।

श्रीमानका लागि देवी देउता भाकिन् । पुराना भाकल पुरा गरिन् । परिवारका सबैजना तेजेन्द्रको अनुहारको पट्टी खोलिने दिनकै प्रतिक्षामा थियो । यसैगरी तीन महिना लाग्यो । त्यसपछि तेजेन्द्रको अनुहारमा लगाइएको पट्टी खोलिएको खबर खबर आयो । अनुहारको पट्टीसँगै खुलेको रहस्यले भने तेजेन्द्र परिवारमा उथलपुथल ल्याइदियोे ।

अनुहारको पट्टी खोल्दा अर्कै मानिस
अस्पतालमा उपचार गराइरहेका मानिसको अनुहारको पट्टी खोल्ने बित्तिकै तेजेन्दका साथीले फोटो पठाए । फोटो पठाउने उनै तेजेन्द्रका साथी शिव थिए । ‘बैनी तिम्रो श्रीमान हो, राम्रोसँग हेर त भने । मैले फोटो हेर्दा त फोटोको मान्छेको चिउँडो हल्का उठेको थियो । नत्र निधार, आँखा, हेराइ सबै मेरै बुढाकै जस्तो थियो । मैले त हो भनें,’ शिवले किन तिम्रै श्रीमान् हुन् भनेर सोधे भन्ने नामुले हेक्का राखिनन् ।
‘मलाई त फोटो हेर्दा खान नपाएर होला गाला नि भित्र पसेछन्, चिउँडो पनि उठेछ भन्ने सोचें,’ नामु फोटोका मानिस आफ्नै श्रीमान् हुन भन्नेमा ढुक्क थिइन् ।

नामु श्रीमानको होस आएको खबरले दंग थिइन् । फोटोका मानिस आफ्नै श्रीमान् हुन् भनेर नामु ढुक्क भइन् । तर आफन्तहरु फोटो हेरे पछि अनुहार मिल्दैन भनेर रनभुल्लमा परे । तेजेन्द्रलाई भेट्न अस्पताल पुगेका साथीहरु होसमा आएको मानिस तेजेन्द्र नभएको थाहा पाएर झनै अचम्ममा परे ।

होसमा आएका मानिसले आफ्नो घर भोजपुर अनि श्रीमतीको नाम सन्तोषी भएको बताएपछि उनी तेजेन्द्र होइनन् भन्ने कुरा पक्का भयो । तेजेन्द्रको परिवारमा यस्तो अपत्यारिलो खबरले बज्रपात पर्यो । तीन महिनादेखि सास कुरेर बसिरहेका उनीहरु लासको पनि पत्तो नहुँदा विक्षिप्त भए ।

तीन महिना अघि तेजेन्द्रले चलाएको ट्याक्सी दुर्घट्ना भएको भोलिपल्टै निधन भएका चार जनामध्ये तेजेन्द्र पनि एक रहेछन् । तेजेन्द्रको नाममा उपचार गराइरहेका मानिस त मरे भनिएका भोजपुरका सुवास तामाङ रहेछन् । सुवासको परिवारमा जीवितै भनिएका तेजेन्द्रको शव पुगेको रहेछ ।

जो मरे भनिएका थिए उनी तेजेन्द्रको नाममा अस्पतालमा उपचार गराइरहेका थिए । तर जो जीवितै छन भनिएको थियो, उनीको पार्थिव शरीरले तीन महिना अघि नै मोरङको लक्ष्मीमार्गमा सुवासकी श्रीमतीलाई विधुवा बनाई सकेका थियो । सुवासको भनेर बाकसमा आएको शव आफ्नै मानिसको ठानेर सुवासको परिवारले काजकिरिया गरिसकेको थियो ।

लुगाको लास बनाएर दाहसंकार
छोराको यो अनौठो मृत्यु र दाहसंस्कारको खबर सुन्दा सुर्वितालाई टेकेको जमिन भासिए झैं भयो । नामुको दिमाग खाली भयो । उनले श्रीमानको मृत्युको खबर पत्याउन पनि सकिनन् । नकार्न पनि सकिनन् । सुर्विता छोराको मृत्युको खबर सुन्दा बाग्लुङ मै थिइन् । नामु भने कपिलवस्तुमा ।

कपिलवस्तुमा तेजेन्द्रका बुवाका जेठी श्रीमती पट्टीका छोरा कुलमान भण्डारी पनि बस्छन् । नामुलाई कुलमानले नै सम्हाले । साउदीबाट आएको खबर कुलमानको मनले पनि पत्याइरहेको थिएन । निधन भएकै हो भन्ने पक्का भए पनि खोजीलागि निवेदन दिने सल्लाह भयो ।
मृत्युको खबर सुनेकै दिन नामु जेठाजु कुलमानको साथमा काठमाडौं आइन् । तेजेन्द्रको खोजीका लागि कन्सुलर सेवा विभागमा उजुरी पनि दिइयो । लास नभए पनि मरेको खबर सुनेपछि आफ्नो संस्कार अनुसार मृत्युको संस्कार गरिन्छ ।
तेजेन्द्रको परिवारले पनि उनी बाग्लुङमै जन्मिएकाले उतै दाहसंस्कार र काजकिरिया गर्ने निधो गर्यो । मृत्युको खबर सुनेको पाँचदिन पछि कपिलवस्तुबाट कुलमान सहित तेजेन्द्रकी श्रीमती नामु र छोरी गायत्री बाग्लुङ पुगे ।

दाइले दागबत्ति दिए, ११ वर्षकी छोरी मलामी
तेजेन्द्रको पुराना लुगाहरु जोडेर लास बनाइयो । लुगाले बनाएको लास बोकेर घर नजिकैको खोलामा लगियो । चिता बनाइयो । चितामाथि लास सर्लक्क सुताइयो । लुगाको लासको टाउको पट्टी तेजेन्द्रको फोटो राखियो । कुलमानले दागबत्ति दिए ।
पापा ल्याउने आश देखाएर बाइबाइ भनेका बुवाको फोटो र लुगा जलाउदा छोरी गायत्री पनि मलामी गइन् । ‘हाम्रो बुवाको फोटो त लाइटरले डढाएको खोलामा ।’ गायत्री तोते स्वरमा भन्छिन्, ‘बुवाले काँधमा राखेर स्कूल लानुहुन्थ्यो, मलाई कापी पापा ल्याइदिन्छु भन्नुभाथ्यो ।’ बुवाले ल्याइदिएको नयाँ लुगा लागउने, काँधमा चढेर स्कुल जाने उनको सपना बुवाको पुरानो लुगा र फोटोसँगै खरानी भए ।

तेजेन्द्रका फोटो र पुराना लुगा खरानी भएपछि श्रीमती नामुको सिन्दुर पखालियो । महिनौदेखि श्रीमानको बोली कुरिरहेकी नामुलाई श्रीमानको निधनको खबर असह्य थियो । उनका सँगै जिउने सँगै मर्ने सपना श्रीमानको दुईजोर लुगा र फोटो सँगै खरानी भए । उनलाई आफ्नै आँखाले सबै चिज नियाल्दा पनि श्रीमान् मरेकै हुन भनेर अझै पत्यार लागेको छैन । । ‘न लास, न कुनै प्रमाण कसरी मरेका हुन् भनेर पत्याउनु, अझै पनि श्रीमान् फर्किएर आउने नामुको आशा मरेको छैन ।

छोराको फोटो र लुगा दनदनी बल्दा सुर्विताको मन पनि त्यसै गरी बल्यो । कमाउँछु, सुखले पाल्छु आमा भन्दै विदेश हिडेको छोराको लास पनि देख्न नपाइकन सुर्विताको काख रित्तियो । लुगाले बनाएको छोराको चिता जलेको देख्दा उनलाई छोरो साँच्चै मरिसक्यो भन्ने विश्वास लागेन ।

छोराको मलामी गएकी सुर्विताले पारीपट्टीको पहाड आफै माथि बज्रेको अनुभव गरिन । उनले आफ्नै छोराको मलामी जानुुपर्ला भनेर कल्पना गरेकी थिइनन् । लुगाले बनाइएको शवमा लागेको आगो एकछिन दन्कियो निभ्यो । तर सुर्विताको मनमा अहिले पनि आगो दन्किरहेको छ ।

लास बिना नै छोराको मृत्युलाई स्वीकार्दै सुर्विताले छोराको काजकिरिया गरिन् । पतिको निधन भएको तीन महिना पछि उनले छोरालाई बिदा गरेकी थिइन । छोराको बिदाइसँगै सुर्विताका खुसी पनि बिदा भए । सुखका दिन सधैका लागि टाढा भए ।

छोराको पर्खाईमा आमा सुर्विताको रोएरै दिन बित्छन्
तेजेन्द्रको मृत्यु भएको साढे दुई वर्ष पुग्न लाग्यो । तर सुर्विताको आँखा ओभाएका छैनन् । उनी छोरालाई सम्झेर बर्बराउछिन, रुन्छिन् र मन भुलाउन रक्सीको सहारा लिन्छिन् । बिहान उठ्नासाथ रक्सी खान्छिन् । रक्सी नखाइ निदाउन पनि सक्दिनन् ।
छोराको कुरा गर्नासाथ सुर्विताका आँखाबाट शब्द भन्दा पहिले आँसु खस्छन् । तेजेन्द्रको मृत्युपछि सुर्विता विरामी परेकी छन् । बुढेशकालको सहारा गुम्नु अनि गरिखाने हात पनि चल्न छाडको छ । छोरोको मृत्युसँगै सुर्विताको टेक्ने लौरी र समाउने हात भाँच्चिएका छन् ।

‘मेरो मुटु दुख्छ, दाहिने हात चल्र्दैन, मलाई कसले उपचार गर्छ, कसले खान दिन्छ अब,’ सुर्विता पेटमा छाम्दै रुन्छिन् । लोग्ने छँदै एक्लो जिन्दगी बाँचेकी उनी छोराको मृत्यु पछि नितान्त एक्लोपनको सिकार भएकी छन् ।
छोराको मृत्युभएको केही समयपछि बुहारी नामु छोरी लिएर कपिलवस्तुकै इमलियामा रहेको माइतमा बस्छिन् । नामुकी उमेरले ७० वर्ष नाघेकी सुर्विता बाग्लुङमा एक्लै बस्छिन् ।

तेजेन्द्रले विदेश जाँदा काढेको ऋण तिर्दा भएको जायजेथो सकियो । त्यसपछि मुन्टो लुकाउने घर बनाउनका लागि सुर्विताले आफन्तसँग ऋण काढेर जग्गा किनिन् । सानो घर पनि बनाइन् । मुन्टो लुगाउने बास भए पनि सुर्वितासँग बिहान बेलुकाको गाँसको टुङ्गो छैन । तर साढे चार लाख रुपैयाँ ऋणको भारी छ ।

ऋणको चिन्ताले उनको भोक निन्द्रा खोसिदिएको छ । ‘मलाई भोक निन्द्रा छैन, ऋणको पीरले सुर पनि पाउन छाडेकी छु,’ सुर्विता टोलाउँछिन् । औंला भाँच्दै सय कडा तिनका दरले काढेको ऋणको व्याज गन्छिन् । उनलाई मरिहाले पनि साहुको ऋणले शान्ति पाउँदिन जस्तो लाग्छ । ‘छोरा त अर्काले पोल्यो दुर्गति भयो, मेरो पनि त्यस्तै हुनेभयो,’ छोराको मृत्युपछि सुर्विताको मन ठेगानमा छैन ।
मरेपछि आत्माले शान्ति नपाउला भनेर चिन्ता गर्ने सुर्विताले बाँच्दा पनि कहिल्यै सुखको श्वास फेर्न पाइनन् । सुर्विता अहिले एक गाँस खानकै लागि भौतारिनु पर्दा तेजेन्द्र सानो छँदा पाएको दुःख सम्झिन्छिन् ।

पहिलेको श्रीमान् पट्टीको छोरी लिएर सुर्विताले तेजेन्द्रका बुवासँग बिहे गरेकी थिइन् । तेजेन्द्रको बुवाको जेठी श्रीमती बितेपछि उनी भण्डारी परिवारमा छोरी सहित भित्रिइन् । घरको आर्थिक अवस्था राम्रो थिएन । तेजेन्दका बुवा कमाउन भारत जान्थे । सुर्विता घर सम्हाल्थिन् ।

तेजेन्द्र ४ वर्षका भएपछि सुर्विताले श्रीमान्को साथ पाइनन् । उनी बाग्लुङमै बस्थिन् । तेजेन्द्रका बुवा कपिलवस्तुमा घरजग्गा किनेर बस्न थाले । उनी बेलाबेला श्रीमानलाई भेट्न आउँथिन् । त्यो बेला श्रीमानले सौता हालिसकेका हुन्थे । माइली श्रीमती बनेर तजेन्द्रका बुवासँग बिहे गरेकी सुर्विता माथि उनका पतिले विधिवत रुपमा नै पाँच वटी सौता हाले ।

श्रीमान्को हेला भएपछि सानैदेखि तेजेन्द्रलाई उनले दुःखमा हुर्काइन् । बनिबुतो गरेर दुई सन्तानको पेट भरिन् । छोराछोरीको पेट भर्न उनी कयौ दिन भोकै बसिन । ‘एक छाक खान दिनभरि अर्काको मकै भाचेँ । वर्षौं शरीर ढाक्न एउटै बाहेक अरु लुगा थिएनन् ।
वर्खामा दिनभरी पानीले भिज्यो राती घरमा गएर अँगेनो माथि सुकाउथें, मान्छे आउछन् कि भनेर छोरीलाई ढोकामा राख्थें । आमा आमा मान्छे आए भनेपछि अनि हतार हतार जीउमा लुगा लगाउथें,’ यति सुनाउदा उनको बोली लर्बरियो ।

तेजेन्द्र बुझ्ने भएपछि बाबुसित कपिलवस्तु पठाइन् । तर तेजेन्द्रलाई पनि बुवाले राम्रो व्यवहार गरेनन् । तेजेन्द्र ९ कक्षा पढ्दा सुर्विताले नै आफन्तले मागीदिएका केटी नामुसित तेजेन्द्रको बिहे गरिदिइन् । २०६३ सालमा नामु र तेजेन्द्रको मागी बिहे भयो ।
बिहे भएको एक वर्षमै नामु र तेजेन्द्र आमा र बा बने । नामुले एसएलसी पास गरिसकेकी थिइन् । त्यसैले, नामुले पनि तेजेन्द्रको पढाइमा सहयोग गरिन् । छोरी हेर्दै नामु लुगा सिलाउन थालिन् । तेजेन्द्रले एसएलसीसम्म पढे ।

पढ्न छाडे पनि तेजेन्द्रले कुनै जागिर खाएका थिएनन् । आम्दानीको स्रोत थिएन । तेजेन्द्र २०६५ सालमा कुवेत गए । तर कमाएर घरमा पठाएनन् । १ वर्ष काम गरे । तर घर फर्किंदा उनको हात रित्तो थियो ।
त्यसपछि उनी भारत गए । आफ्नो ज्यान पाले । तर परिवारका लागि फेरि पनि पैसाको जोहो गर्न सकेनन् । त्यसपछि उनी डेढ लाख रुपैया तिरर साउदी उडेका थिए ।

साउदीमा पनि उनले लामो समयसम्म काम पाएनन् । गाडी चलाउन रहर गर्थे तेजेन्द्र । उनले साउदी पुगेपछि साउदीको लाइसेन्स लिन्छु भन्दै घरबाट पैसा मगाए । कक्षा ९ मा पढ्दादेखि साथ र सहयोग गर्दै आएकी पत्नि नामुले नै एक लाख रुपैयाँ ऋण काढेर तेजेन्द्रलाई पठाइन् ।

दुर्घट्ना हुँदा तेजेन्द्र साउदी पुगेको २७ महिना लागेको थियो । यो २७ महिनामा उनले कमाएर पठाएनन् वा पठाउन सकेकन्, नामुलाई अझै थाहा छैन । त्यसमाथि तेजेन्द्रको ट्याक्सी दुर्घट्नामा परेको यो पहिलो पटक पनि थिएन । यसअघि पनि धेरैपटक उनको ट्याक्सी दुर्घट्नामा परेको थियो ।

उनले १ सेप्टेम्बर २०१४ मा फेसबुकमा आफूलाई ठूलो दुर्घट्नाबाट भगवानले बचाए भन्दै विदेशमा गाडी चलाउने काम राम्रो नभएको लेखेका थिए । त्यस्तै उनले विदेशमा गाडी चलाउने अरुलाई पनि होसियार भएर गाडी चलाउन सुझाव दिएका छन् ।
दुर्घट्नाका धेरै पोस्टहरु पनि सेयर गरेका छन उनले । सामाजिक सञ्जालबाट आफ्नो उदाहरण दिँदै साथीहरुलाई सुरक्षित सवारी चलाउन सुझाव दिने तेजेन्द्रलाई भने त्यस्तै दुर्घटनाले लग्यो ।

श्रीमती नामुका अनुसार तेजेन्द्रले चलाएको ट्याक्सी दुर्घटनामा परेकै कारण उनी जेल जानु पर्ने वा ५० हजार रियाल तिर्नुपर्ने थियो । त्यसैले नामुसँग दुर्घट्नाको अघिल्लो दिन तेजेन्द्रले जेल परे भने हाम्रो भेट हुँदैन भनेर फेसबुक च्याटमा कुरा गरेका थिए ।

मृत्यु भइसकेको कुरा विश्वासले पत्यार गर्नुपर्ने
नामुले अघिल्लो दिनसम्म कुराकानी गरिरहेका श्रीमान् भोलिपल्ट दुर्घटनामा परेको सुनिन् । तीन महिना कुरिन् । तीन महिना पछि मरेको खबर मात्र आयो, तर न लास आयो न सास रह्यो । बरु तेजेन्द्रको पार्थिव शरीरको अरु कसैले पूर्वको मोरङतिर दाहसंस्कार गरिसकेको खबर आयो ।

दुईचार पैसा कमाउनकै लागि परिवार छाडेर सात समुन्द्र पारि गएकाहरु कोही सुतेको ठाउँबाट ब्युझिदैनन् । कोही दुर्घटनामा पर्छन् । जसरी निधन भए पनि सबैको लास आउँछ । तर तीन महिनादेखि उपचार गराइरहेको आफ्नो मान्छेको सास कुरिरहेको तेजेन्द्रको परिवारले त उनको लास कसरी आयो, कहाँ आयो र कसले जलायो भन्ने पनि पत्तो पाएन ।

नामुलाई तेजेन्द्रको निधन भएको १ वर्षसम्म पनि श्रीमान् बिते भनेर पत्यार लागेन । मलाई त मसँग रिसाएको होला । ‘मसँग रिसाए पनि छोरीको मायाले फोन गर्नु होला जस्तो लाग्थ्यो । १ वर्षसम्म पनि फोन नआएपछि हो रै छ जस्तो लाग्यो,’ नामुले काखमा बसेकी छोरी सुमसुम्याउँदै भनिन्, ‘यही छोरी हेरेर चित्त बुझाएकी छु ।’

तर आमा सुर्विताले चित्त बुझाउने कुनै बाटो भेटेकी छैनन् । सुर्विताका एउटै भरोसा थिए तेजेन्द्र । तिनै छोरा नै नरहेपछि सुर्विताको मन ठेगानमा छैन । ‘मेरो कोही छैन, अब मलाई कसले पाल्छ, सरकारले पाल्छ कि पाल्दैन होला,’ कुरा गर्दागर्दै सुर्विताले नामु र मतिर फर्केर सोधिन् । तर उनका प्रश्नको उत्तर न त बुहारी नामुले दिन सक्छिन् न मैले नै ।

मर्ने बेलामा छोराको बोली पनि सुन्न नपाएकोमा सुर्विताको मन अहिलेसम्म कुँडिएको छ । साउदी जाने बेलामा पनि उनले छोरासँग भेट्न पाएकी थिइनन् । सुर्विता बाग्लुङ मै बस्थिन् । तेजेन्द्र कपिलबस्तुमा । कपिलवस्तुबाटै साउदी जानका लागि काडमाडौं हिडेका तेजेन्द्रसँग उनको फेरि भेट हुन पाएन ।

छोराको लास पनि अर्कैले दाहसंस्कार गरेकाले सुर्वितालाई छोराको आत्माले शान्ति पाएन भन्ने कुराले मन पोलिरहन्छ । झन हरेक रात देख्ने सपनाले उनलाई छट्पटी हुन्छ । ‘मेरो बच्चाले सपनामा मलाई आमा तिम्ले दिएको मैले केही पाएकै छैन । मलाई अर्कैले पोल्यो आमा भन्छ, मेरो हङ्स लिइदेउ आमा भन्छ,’ सुर्विता सपना सुनाउँदै रुन्छिन् ।

‘मलाई साउदीबाट बाँचेर फर्केको मान्छेसित मेरो छोरा कसरी म¥यो भनेर सोध्न मन थियो,’ मरे भनिएका तर तेजेन्द्रका नाममा साउदीमा उपचार पछि निको भएर घर फर्किएका भोजपुर (अहिले, मोरङको लक्ष्मिमार्ग)का सुवास तामाङसँग भेट्ने मन छ सुर्वितालाई ।
सुर्वितालाई छोराको मृत्युको बारेमा साउदीका साहुले झुक्याए जस्तो लाग्छ । ‘त्यो साहु लबस्तरो रैछ, मेरो नानीलाई कति पछिसम्म काम पनि दिएन । बस्न खान पनि दिएन, मरेपछि पनि लुकायो ।’ सुर्वितालाई सुवासलाई भेटेर आफ्नो छोरा कसरी पर्यो भनेर जान्न मन छ । ‘मलाई त्यो मान्छेलाई भेट गराईदेउ । मेरो छोराको बारेमा सोध्छु । त्यसलाई त सबै थाह थियो होला,’ सुवाससँग सोध्ने यस्ता प्रश्नका चाङ छन सुर्वितासँग ।

सुर्विता अर्कै मान्छेले छोराको सदगत गरे भनेर बर्बराइरहन्छिन् । ‘को को मान्छेले मेरो छोरा जलायो । मरेको छोरालाई ढाँटेर कहाँ लगेर जलाए,’ सुर्विता आक्रोस पोख्छिन्, ‘मेरो नानीको लासमा फूलमाला पनि छैन,’ सुर्विता आक्रोस पोख्छिन् ।
सुर्वितालाई छोराको शरीर खरानी भएको ठाउँ हेर्न मन छ । त्यो ठाउँको माटो छुन र ल्याउन मन छ । भन्छिन्, ‘मेरो छोराको दाहसंस्कार कसरी गर्यौ भनेर सोध्न मन छ ।’

सुवासको भनेर तेजेन्द्रको शव सुवासको परिवारमा पुग्यो, बाँचेर फर्किएलान् भनेर कुरिरहेका तेजेन्द्रको परिवारको खुसी लुटियो, जिउने आधार गुम्यो । आजाद भिसा अथवा आफैंले भिसा किनेर काम गर्ने भिसामा साउदी गएकै कारण तेजेन्द्रको मृत्यु हुँदा जिम्मेवारी लिने पनि कोही भएनन् ।

मृत्यु भएको हो भनेर विश्वास गर्न न लास, न कुनै मृत्यु भएको पुष्टि गर्ने कानूनी प्रमाण । तर पनि आफ्ना मान्छेको मृत्यु स्वीकार्न बाध्य छ तेजेन्द्रको परिवार ।

Leave A Reply

Your email address will not be published.