mero sathi tv

त्रिशूलीमा खसेको बस ट्रकमा ठोकिएर झरेको आशंका, २३ घाइतेको उद्धार

मुग्लिन-मलेखु सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–३ स्थित फिस्लिङबाट  त्रिशूली नदीमा खसेको बसबाट अहिलेसम्म २३ घाइतेको उद्धार गरिएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्मबहादुर केसीका अनुसार अहिले पनि उद्धार कार्य जारी  छ। बसमा कति यात्रु थिए भनेर यकिन नभएको उनले बताए। सो दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र केही गम्भीर घाइते भएका छन्।  मृत्यु हुनेमा ४ पुरुष र २ महिला छन्। उनीहरुको सनाखत भएको छैन। उद्धार गरिएका घाइतेमध्ये ६ जनालाई काठमाडांै पठाइएको र अरु बाँकी घाइतेलाई भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ।

गम्भीर घाइतेलाई उद्धार गर्न हेलिकोप्टर ल्याउने प्रयास गरिए पनि सफल नभएको प्रहरीले जनाएको छ। काठमाडांैबाट अर्घाखाँची जाँदै गरेको लु१ख २९१ नम्बरको बस बुधबार बिहान अन्दाजी ९ः१५ बजेको समयमा फिस्लिङबाट त्रिशूली नदीमा खसेको हो। बस सडकबाट करिब डेढ सय मिटर तल त्रिशूली नदीमा पुगेको र केही भाग मात्रै देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

ट्रकसँग ठोक्किएको आशंका

ढकालका अनुसार बस ट्रकमा ठोकिएर झरेको अनुमान गरिएको छ। दुर्घटनास्थलमा एउटा ट्रक रहेको र सो ट्रकमा समेत क्षति भएको देखिएको ढकालले जानकारी दिए। मुग्लिनका प्रहरी निरीक्षक केसीले बस ओभरटेक गर्न लाग्दा आफ्नै साइडमा रहेको ट्रकमा ठोकिएको अनुमान गरिएको बताए। यद्यपि, यकिन भने भएको छैन। अहिले त्यही ट्रकमा डोरी लगाएर उद्धारको काम जारी छ। उनले घाइतेहरुसँग कुरा गर्ने अवस्था नभएकाले घटनाको विस्तृत विवरण आउन नसकेको बताए।

Leave A Reply

Your email address will not be published.