mero sathi tv

झन्डै दोब्बर मतले जित्नसक्ने यस्तो छ बिना मगरको अवस्था

पति प्रकाश दहालको अल्पायुमै निधन भएपछि नेकपा माओवादीकी कञ्चनपुर–१ की उम्मेदवार बिना मगरले चुनाव जित्ने एउटा आधार ‘सहानुभुति मत’ भन्ने चर्चा सर्वत्र छ । पतिको शोककाबीच पनि चुनावी अभियानमा सक्रिय रहेकी बिनाका लागि सहानुभुति मत पर्याप्त नै छन् । तर, त्यसबाहेक बामपन्थी गठबन्धनकी उम्मेदवार समेत रहेका कारणले दुवै दलको मत स्पर्धीभन्दा दोब्बर बढि रहेको एउटा रूझानले देखाएको छ । उस्तै परे प्रतिनिधि सभा तर्फको सर्वाधिक मतान्तरमा बिनाले जित निकाल्न सक्ने अनुमान गरिएको छ ।

बिनाको प्रतिस्पर्धा नेपाली कांग्रेसका नेता दिवानसिंह विष्टसँग हुँदैछ । संविधानसभामा पनि यी दुईबीच प्रतिस्पर्धा भएको थियो । कञ्चनपुरको दक्षिणी र विकट क्षेत्रको विकासे एजेन्डा दुवैका राजनीतिक र चुनावी मुद्दा बनेका छन् । यस्ता मुद्दा बनेपनि कसले हत्याउनेछ, कञ्चनपुर–१ भन्ने चासो छ । स्थानीय तहको निर्वाचनको मतपरिणामको आधारलाई मान्ने हो भने बामपन्थी गठबन्धनकी मगर झन्डै दोब्बर भन्दा बढि मतले विजयी हुनसक्ने अनुमान गर्न सकिन्छ ।

स्थानीय तहको निर्वाचनको वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा एमालेको १८ हजार ५६९ र माओवादी केन्द्रको १६ हजार ११५ मत गरी वाम गठबन्धनको ३४ हजार ६०४ मत छ भने काँग्रेसको १४ हजार ९५६ मत छ ।
चार स्थानीय तह रहेको १ नं निर्वाचन क्षेत्रमा सबै स्थानीय तहमा वाम गठबन्धनको पार्टीका नेताले नै प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष पद जितेका थिए ।

उक्त निर्वाचन क्षेत्रमा ९८ हजार ५९ मतदातामध्ये महिला ४५ हजार १०७ र पुरूष ४२ हजार ९५२ छन् ।
गठबन्धनमा अन्तरघातको समस्या नआएको खण्डमा मगरको जितलाई मतसंख्याले रोक्न सक्ने अवस्था छैन । यसबाहेक मगरलाई महिला मतादाताको सहानुभुति मत तान्नसक्ने आधार बलियो रहेको छ । पतिलाई गुमाएको भावनात्मक मत पनि बलियो देखिन्छ ।

राजनीतिक एजेन्डामा पनि मगर बलियो छिन् । उनले सीमा समस्या समाधान, सडकको स्तरोन्नति, सिमसार समस्या समाधान, जंगली जनावरको आतंक नियन्त्रण, दोदा र चौधर नदीको कटान नियन्त्रण, आरक्ष विस्थापित समस्याको स्थायी समाधान, शिक्षा, स्वास्थ्य, पर्यटकीय क्षेत्रको विकास, राना थारू संस्कृतिको संरक्षण र प्रचारप्रसार लगायतका विषयको संरक्षणलाई चुनावी मुद्दा बनाएकी छन् ।

बिना त्यहि क्षेत्रकी उम्मेदवार हुन् जहाँ सीमामा समस्या हुँदा एमाले कार्यकर्ता गोविन्द गौतमलाई भारतीय सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको थियो । एमाले भारतको विस्तारवादविरूद्धको मुद्दाले पनि बिनालाई बलियो बनाएको छ ।

कांग्रेसका लागि यस क्षेत्रमा सरकारको नेतृत्व लिनासाथ गरेको निर्णय घातक घाटाको विषय बनेको स्थानीयस्तरमा चर्चा छ । ठूलो मुद्दा बनेको गौतम हत्याका लागि गठित सरकारीस्तरको छानविन र अनुगमन टोलीलाई शेरबहादुर देउवाको सरकारमा नेतृत्व हुनासाथ फिर्ता बोलाइएको थियो । जसको तिव्र विरोध र आलोचना पनि भयो । यस कारण पनि प्रतिस्पर्धी विष्टलाई मतदातालाई कन्भिन्स गर्न चुनौति बनिरहेको छ ।

शेरबहादुर देउवा नेतृत्वकै सरकारले तत्कालीन आरक्ष क्षेत्र विस्तारका क्रममा २०५८ सालमा विस्थापित गरिएका परिवारको हालसम्म पनि पुनः स्थापना नभएको विषयलाई मगरले जोडतोडका साथ उठाएकी छन् । त्यहाँ पनि कांग्रेसलाई मतदाता कन्भिन्स गर्न कठिन छ ।

Leave A Reply

Your email address will not be published.