mero sathi tv

किन चल्दैनन् नेपाली फिल्म ?

फिल्मको रिलिज डेट तय हुन्छ । प्रोमोहरु बज्न थाल्छन् । शीर्ष गीत घन्किन थाल्छन् । अब फिल्ममेकर्स दर्शकसामु ‘साष्टांग दण्डवत्’ शैलीमा अनुनय-विनय गर्न थाल्छन्, ‘प्लिज नेपाली फिल्मलाई माया गरिदिनुहोला ।’

जस्तोसुकै बनेको होस्, ‘नेपाली फिल्म’प्रतिको दर्शक संवेदना भजाउने उद्देश्यले फिल्ममेकर्स ‘स्वदेशी चलचित्र उद्योगको प्रबर्द्धन’सम्मका कुरा गर्न पछाडि पर्दैनन् ।

 

अब फिल्मलाई ‘माया’ गर्नका लागि दर्शकले केही पैसा र समय खर्चिनुपर्छ । फिल्म राम्रो छ भने त दर्शक स्वतः हलमा तानिन्छन् । राम्रो भएन भने फिल्म चल्दैन ।

अब तिनै फिल्ममेकर्स दर्शकलाई गाली गर्न थाल्छन्, ‘नेपाली दर्शक फिल्म नै बुझ्दैनन् ।’

फिल्मले हलमा हावा खाएपछि निर्माता/निर्देशक त्यसको सबै दोष दर्शकको थाप्लोमा थोपर्छन् । मानौं, दर्शक ‘मूर्ख’ भएका हुन् । दर्शकमा ‘सिनेमा-चेत’ नभएको हो र मानौं दर्शकले ‘नयाँ प्रयोग’ नरुचाएका हुन् ।

खासमा खोट दर्शकमा होइन, मेकर्समै छ । तैपनि, नेपाली फिल्म किन चल्दैनन् भन्नेबारेमा निर्देशक दीपक रौनियारले हालै एक लेखमा भनेका छन्, ‘राम्रा र निकै गतिला फिल्म नचल्नुमा हाम्रा दर्शक नै नेपाली फिल्मप्रति पूर्वाग्रही छन् । त्यसो हुनुमा फिल्मका पण्डित भनिनेहरुले गर्ने जथाभावी र आलोकाँचो टिप्पणी हो ।’

खै रचनात्मक खुबी ?

फिल्म निर्देशक तथा समीक्षक नवीन सुब्बाले नेपाली फिल्मको कमजोरीमाथि एक लाइनमा यसो भनेका छन्, ‘फिल्म निर्माण प्रक्रियाले सिर्जनशीलता माग गर्छ । त्यसका लागि अध्ययन, अनुसन्धान र साधना आवश्यक पर्छन् । नेपाली फिल्मकर्मीमा त्यसको सर्वथा अभाव छ ।’

फिल्म रचनात्मक विधा हो भनेर दोहोर्‍याइरहनु आवश्यक छैन । तर, नेपाली फिल्मको प्रवृत्ति कस्तोसम्म थियो भने एक दर्जन हिन्दी फिल्म हेरेर त्यसैलाई मिसमास गरेर फिल्मांकन गर्नुपर्ने । निर्देशक ऋषि लामिछाने भने खुलस्त छन्, ‘एक दर्जन हिन्दी फिल्म हेरेर स्त्रिmप्ट बनाउनुपर्ने निर्माताहरुको दबाब हुन्थ्यो ।’

चार वटा गीत, तीन वटा फाइट र हिरो-हिरोइनको पारिवारिक द्वन्द्व राखेपछि फिल्म बन्छ भन्ने कच्चा चेत भएका मेकर्सहरु हाबी भए । उनीहरुले दर्शकलाई कतिसम्म उपेक्षा गरे भने हिन्दी, अंग्रेजी, कोरियाली फिल्मको कथा, डायलग र दृश्य मिसमास गरेर रेखा थापा अनि राजेश हमालमाथि फिल्मांकन गरिदिए ।

यो क्रम सुदर्शन थापाले ‘मेरो एउटा साथी छ’ बनाउँदासम्म उत्कर्षमा थियो । उनले ‘मिलेनियर्स फस्ट लभ’ नामको कोरियाली फिल्मबाट जस्ताको तस्तै सापटी लिएर ‘मेरो एउटा साथी छ’ बनाए । तर, उनले दर्शकलाई ‘उल्लु’ बनाउन खोजेको स्वीकारेनन् । बरु, यस्तो तर्क गरे, ‘यदि मेरो एउटा साथीले देब्रे हातले भात खान्छ र मैले पनि देब्रेले नै खाएँ भने मैले साथीको कपी गरेको भन्न मिल्छ ?’

किन चल्दैनन् फिल्म ?

माओवादी हिंसात्मक विद्रोहताका नेपाली फिल्मले लय गुमायो । त्यही बेला हो, दीपक रौनियरले भनेजस्तै नेपाली फिल्मप्रति दर्शकको हेय दृष्टिकोण बनेको । यो दृष्टिकोण फेरिनका लागि निश्चल बस्नेतको ‘लुट’ पर्खनुपर्‍यो ।

त्यसपछि बनेका ‘टलकजंग भर्सेस टुल्के’, ‘कबड्डी’, ‘पशुपतिप्रसाद’ले सामान्य विषयमा पनि गतिलो फिल्म बन्छ भन्ने सावित गरे ।

तर, त्यसलाई स्वाभाविक र रोमाञ्चक ढंगले प्रस्तुत गर्नुपर्छ । परिवेश, पात्र र संवादलाई ‘अतिरञ्जित’ नगर्दा त्यो बढी तिख्खर स्वादको हुने पनि यिनै फिल्मले पुष्टी गरे ।


तर, अन्य आलाकाँचा फिल्ममेकर्सले यसलाई कति सजिलो रुपमा बुझे भने उनीहरु धमाधम दयाहाङ राई, सौगात मल्ल, विपिन कार्कीहरुमाथि फिल्मांकन गर्न थाले । यसको ‘साइड इफेक्ट’ देखिन थाल्यो, नेपाली फिल्मप्रति दर्शक बिच्किए । दयाहाङ, सौगातहरुको ‘ब्रान्ड भ्यालु’ घट्न थाल्यो ।

‘लोकल परिवेशलाई लोकल शैलीमा भन्नुपर्छ, दर्शकमा रोमाञ्चकता ल्याउन ‘द्विअर्थी डाइलग’ राख्नुपर्छ, हिरो दयाहाङहरुलाई नै लिनुपर्छ’ भन्ने रेडिमेड मानसिकताले थुप्रै फिल्म डुबे । यो घानमा केही राम्रा फिल्म ‘साँघुरो’, ‘झुम्की’हरु पनि पिसिए ।

एकाध फिल्ममेकर्सबाहेकलाई फिल्म कस्तो बनाउने वा कस्तो हुनुपर्छ भन्ने पूर्ण ज्ञान नभएको प्रष्ट हुन्छ । बिहेको भिडियो एडिट गरेको वा केही म्युजिक भिडियो बनाएको भरमै फिल्म बनाउन तम्सनेहरुमा नवीन सुब्बाले भनेजस्तै, ‘साधना, अध्ययन र अनुभवको अभाव छ ।’

फिल्म निर्देशक तथा विश्लेषक प्रकाश सायमी कुनै बेला भारतमा सत्यजीत रेले शुरु गरेको ‘पाथेर पाञ्चाली’कै अभ्यास नेपालमा दोहोरिरहेको बताउँछन् । यस्ता फिल्मले ‘मास’ होइन, ‘क्लास’लाई लक्षित गर्ने उनको बुझाइ छ ।

‘फिल्म समग्रमा मनोरञ्जन उद्योग हो । यसले सबै किसिमका दर्शक तान्ने सामथ्र्य राख्नुपर्छ ।’-निर्देशक प्रकाश सायमी

राम्रै ख्याती कमाएका ‘कालो पोथी’, ‘सेतो सूर्य’जस्ता फिल्ममा पनि आम दर्शक रमाउन सकेनन् । समीक्षक र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले ‘उत्कृष्ट’ भनेका यी फिल्मले आम दर्शकको आँखालाई भने रिझाउन सकेनन् ।

आफूलाई ‘अब्बल’ निर्देशक मान्नेहरुले बनाएका फिल्मले किन दर्शकको ध्यान खिच्न सक्दैनन् ? यो दर्शकको होइन, मेकर्सको समस्या हो । किनभने, हामीकहाँ फिल्म भनेको अन्धाले हात्तीलाई बुझेजसरी बुझ्ने प्रवृत्ति छ ।

तर, अन्तर्राष्ट्रिय फिल्मको ट्रेन्ड बुझेको दाबी गर्नेहरु अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका लागि फिल्म बनाइरहेका छन् । फिल्मको सूत्र घोकेकाहरु वृत्तचित्र शैलीको फिल्म बनाइरहेका छन् । तेस्रोथरि पूरानै धङधङी बोकेर फर्मुला फिल्म बनाइरहेका छन् ।

अहिले ‘अब्बल फिल्म बनाइरहेको छु’ भन्नेहरु मल्टिप्लेक्समा केन्दि्रत छन् । सिंगल थिएटरका दर्शक उनीहरुले गुमाइरहेका छन् । मसला फिल्म बनाइरहेकाहरुले मल्टिप्लेक्सको दर्शकको विश्वास जित्न सकेका छैनन् । फिल्म फेस्टिभलका लागि फिल्म बनाउनेहरुले मल्टिप्लेक्समा पनि उनीहरुकै भाषामा ‘बौद्धिक’, ‘सिनेमा चेत’ भएका दर्शकलाई मात्र तान्न सकेको छ ।

फिल्म कस्तो हुनुपर्छ ? यसमा प्रकाश सायमीको भनाइ सान्दर्भिक हुनसक्छ, ‘फिल्म समग्रमा मनोरञ्जन उद्योग हो । यसले सबै किसिमका दर्शक तान्ने सामथ्र्य राख्नुपर्छ । फिल्मले कथा मात्र बेच्ने होइन, संगीत बेच्नुपर्छ, फेसन बेच्नुपर्छ, स्टाइल बेच्नुपर्छ ।’

मेरुदण्ड कमजोर

अभिनेता तथा स्क्रिनप्ले राइटर खगेन्द्र लामिछानेलाई एक निर्माताले बोलाएर ‘स्क्रिप्ट लेखिदिनुपर्‍यो’ भनेछन् । खगेन्द्रले ‘कस्तो कथामा चलचित्र बनाउन लाग्नुभएको हो ?’ भनेर सोधेछन् । निर्माताले अलि हात फिँजाएर भनेछन् ‘त्यो छ नि, सलमान खानको । वान्टेटजस्तो स्क्रिप्ट तयार पार्नुहोस् ।’

फिल्म ‘पशुपतिप्रसाद’ हलमा लागिरहेका बेला खगेन्द्रले त्यो घटना सुनाउँदै भनेका थिए, ‘ती निर्मातालेस्क्रिप्टका लागि दुई लाख रुपैयाँ छुट्याएका रहेछन् । मैले त्यसलाई अस्वीकार गरिदिएँ ।’

नेपाली फिल्म दर्शकले नरुचाउनुको कारणको जरो खोज्दै जाँदा हामी पटकथा अर्थात् स्क्रिप्टमै पुग्नुपर्ने हुन्छ । किनकि, अब हाम्रा लागि प्रविधिको समस्या रहेन । विश्वस्तरको नभए पनि बजेट र कथाको आयतन अनुकुलकै प्रविधि भएको फिल्ममेकर्सको भनाइ छ ।

‘फिल्म निर्माणका लागि अध्ययन, अनुसन्धान र साधना आवश्यक पर्छ, नेपाली फिल्मकर्मीमा त्यसकै अभाव छ ।’ -निर्देशक नवीन सुब्बा

‘टेक्नोलोजीमा हामी खुम्चनुपर्ने अवस्था छैन । तर, समस्या स्क्रिप्टमा छ,’ पछिल्लो छिमलका निर्देशक दिवाकर भट्टराई भन्छन् ।

नेपाली फिल्मको सबैभन्दा कमजोरी पक्ष नै ‘स्क्रिनप्ले’ भएकामा निर्देशक रामबाबु गुरुङ पनि सहमत छन् ।

‘स्क्रिप्टमा मिहिनेत गर्ने चलन छैन ।स्क्रिप्ट झुर भएपछि फिल्म राम्रो बन्दै बन्दैन,’ रामबाबु भन्छन्, ‘स्क्रिप्ट कमजोर भयो भने जतिसुकै अब्बल निर्देशक पनि फेल खान्छ ।’

रामबाबुकै टिममा रहेका लेखक उपेन्द्र सुब्बाका अनुसार फिल्म ‘कबड्डी’को शुरुको ड्राप्ट जस्तो थियो, पछि त्यसमा हेरफेर भयो । फ्लोरमा पुग्दासम्म स्क्रिप्ट अर्कै भयो । कबड्डीको दोस्रो भागको स्क्रिनप्ले लेखनमा उपेन्द्रको पनि संलग्नता छ । उनको भनाइ र खगेन्द्र लामिछानेको भोगाइ करिब मिल्छ, ‘शुरुमा तयार गरिएको स्क्रिप्ट सुटिङ स्पटसम्म पुग्दा कामै नलाग्ने भइसकेको हुन्थ्यो ।’

स्क्रिनप्लेमा खेलाँची

कुनै पनि फिल्मको मेरुदण्ड हो, स्क्रिनप्ले ।स्क्रिनप्लेकै टेकोमा फिल्मको संरचना तयार हुन्छ । नेपाली फिल्म यही विन्दुमा खुस्केको छ ।

‘स्क्रिप्ट राइटिङलाई खेलाँची रुपमा लिइएको छ । फिल्मको सबैभन्दा बलियो पक्ष यही हो,’ अहिलेका चल्तापूर्जा स्क्रिप्ट राइटर सामिप्यराज तिमल्सिना भन्छन् ।

‘ड्रिम्स’, ‘नाइँ नभन्नु ल-४’लगायत दर्जन हाराहारीमा फिल्मको स्क्रिप्ट लेखिसकेका तिमल्सिनाको अनुभवमा नेपाली फिल्ममेकर्सले ‘स्क्रिप्टको भ्यालु’ बुझेका छैनन् । हुन त, नेपालमा मात्र होइन, विश्वमै यस्तो समस्या रहेको उनी बताउँछन् ।

‘नेपाली फिल्ममेकर्सले स्क्रिप्टको भ्यालु बुझेका छैनन् । स्क्रिनप्लेका लागि पैसा पनि एकदमै न्यून छुट्याउने गरिएको छ ।’ -स्क्रिप्ट राइटर सामिप्यराज तिमल्सिना

स्क्रिनप्लेका लागि पर्याप्त समय र पैसा लगानी गर्नुपर्ने हुन्छ । नेपाली फिल्ममेकर्सका लागि भने एक/डेढ महिनामै स्क्रिप्ट तयार गरिदिनुपर्ने बाध्यता छ ।

‘स्क्रिनप्लेका लागि पैसा पनि एकदमै न्यून छुट्याउने गरिएको छ । समग्र फिल्ममै सबैभन्दा हेपिएका भनेकै स्क्रिप्टराइटर हुन्,’ तिमल्सिना भन्छन् ।

प्राविधिक ज्ञानकै कमी

नेपालमा आधा दर्जन हाराहारी स्क्रिनप्ले राइटर छन् । कति त निर्देशक आफैं लेख्छन् । कसै-कसैको के आरोप छ भने नेपाली स्क्रिप्ट राइटरमा प्राविधिक ज्ञानकै कमी छ । उनीहरुमा रचनात्मक क्षमता पनि कमजोर छ ।

थोरै पारिश्रमिक र छोटो अवधिमास्क्रिनप्ले तयार गर्दा त्यसमा स्तरीयता वा सिर्जनशीलता हराउने नै भयो । स्क्रिनप्ले राइटर कुनै मेसिन होइनन्, जहाँबाट सालाखाला वस्तु उत्पादन हुन्छ ।

एउटा फिल्मको मोटामोटी अवधारणा तयार भएपछि त्यसअनुरुपको कथा खोज्नुपर्छ । पात्र डिजाइन गर्नुपर्छ । पात्रको मनोविज्ञान, गेटअप, संवाददेखि लोकेसनसम्मको अध्ययन हुनुपर्छ । तर, एकाध महिनामा त्यो कसरी सम्भव हुन्छ ?

रामबाबु गुरुङ ‘वान लाइन स्टोरी’ बोकेर कबड्डीको परिवेश, कथा, पात्र, संवाद खोज्न मुस्ताङ गएका थिए । उनले फिल्डमै भिडेर कथा मस्काउने काम गरे । नतिजा, फिल्म अब्बल बन्यो । तर, सबैले त्यसो गरेको पाइँदैन ।

‘हामीकहाँ चाहीं एकसरो खाका तयार गरिन्छ, प्राविधिक कुरा पछि निर्देशकले मिलाउने हो,’ तिमल्सिना भन्छन्, ‘क्यामेरा यहाँबाट चार्ज हुन्छ, यहाँ पुग्छ, क्यारेक्टरले यस्तो एक्सप्रेसन जनाउँछ भन्नेचाहीं निर्देशकले थप्छन् ।’

त्यसो त, स्क्रिनप्लेको आफ्नै फम्र्याट हुन्छ । सफ्टवेयरमार्फत् पनि यसको प्रयोग गर्न सकिन्छ । यद्यपि, नेपाली फिल्ममेकर्समा त्यसको अभ्यास नभइसकेको तिमल्सिना बताउँछन् ।

Leave A Reply

Your email address will not be published.