mero sathi tv

के हो एपेन्डिसाइटिस ?

पछिल्लो समय थुप्रै नेपालीलाई एपेन्डिसाइटिसले सताएको छ । यो एक गम्भीर रोगका रूपमा देखा परेको छ । एपेन्डिसाइटिसले मानिसको ज्यान पनि लिन सक्छ । यस्तो रोगको सम्भावना हुनेबित्तिकै अप्रेसनको तयारी गर्न चिकित्सकको सल्लाह हुन्छ । यो रोग पेटको एपेन्डिक्समा लाग्ने गर्छ र यसलाई एपेन्डिसाइटिस भनिन्छ । एजेन्सीको सहयोगमा यसैबारे तयार पारिएको एक सामग्री :

के हो एपेन्डिक्स ?
एपेन्डिसाइटिस शरीरको एपेन्डिक्स नामक आन्द्राको भागमा हुने रोग हो । शरीरमा हुने छोटो र पातलो थैलीलाई एपेन्डिक्स भनिन्छ । जसको लम्बाइ दुईदेखि तीन इन्चसम्मको हुन्छ । यो मलद्वारसँग जोडिएको हुन्छ । एपेन्डिक्समा हुने दुखाइ र यो सुन्निनुलाई एपेन्डिसाइटिस भनिन्छ । एपेन्डिसाइटिस पेटको दुखाइबाट सुरु हुने गर्छ । यस्तो दुखाइ पटक–पटक हुन्छ । बिस्तारै दुखाइ पेटको तल्लो दाहिने भागमा सर्ने गर्छ, जहाँ एपेन्डिक्स हुन्छ । र, बिस्तारै दुखाइले गम्भीर रूप लिन थाल्छ । जसलाई एपेन्डिसाइटिस हुन्छ उसलाई भोक कम लाग्ने, अनुहार रातो देखिने हुन्छ । एपेन्डिसाइटिस भए छोटो समयमै पेटको सर्जरी गर्नुपर्ने हुन्छ । यस्तो अप्रेसनलाई एपेन्डेटोक्मी भनिन्छ । एपेन्डिसाइटिसको सम्भावना हुनेबित्तिकै सर्जरी गर्ने सल्लाह दिने गरिन्छ । किनभने, एक त यसको स्पष्ट निदान गर्न गाह्रो छ । अर्को एपेन्डिक्स फुट्नुभन्दा शल्यक्रिया गर्नु कम जोखिमयुक्त हुन्छ । यसको शल्यक्रिया गर्दा अन्य दीर्घकालीन समस्याबाट पनि बच्न सकिन्छ ।

एपेन्डिसाइटिसका प्रकार
एक्युट एपेन्डिसाइटिस
यस्तो एपेन्डिसाइटिस तीव्र गतिमा विकास हुने गर्छ । यो केही घन्टा या दिनमै विकसित हुने गर्छ । सुरुमै यसको पहिचान गर्न गाह्रो पनि हुन सक्छ । यस्तो एपेन्डिसाइटिस भएमा तत्काल सर्जरीको अवश्यकता हुन्छ । एपेन्डिक्समा जीवाणु संक्रमण, दिसा या कुनै अन्य प्रकारको रोकावटका कारण यसले शरीरलाई नै जोखिमपूर्ण बनाउँछ । जब एपेन्डिक्समा तीव्र गतिमा ब्याक्टेरिया उत्पन्न हुन्छ, यसको दुखाइ पनि त्यही गतिमा बढेर जान्छ । यस्तो एपेन्डिसाइटिस मृत्युको कारणसमेत बन्न सक्छ ।

क्रोनिक एपेन्डिसाइटिस
यसको दुखाइ लामो समयसम्म हुन्छ । क्रोनिक एपेन्डिसाइटिसले एपेन्डिक्समा बिस्तारै समस्या पार्न थाल्छ । बिस्तारै एपेन्डिक्स र मलद्वार सुन्निन थाल्छ । आन्तरिक दबाबका कारण सुन्निएको एपेन्डिक्सले गम्भीर समस्या निम्त्याउन सक्छ र समयमै उपचार नगर्दा एपेन्डिक्स फुट्न पनि सक्छ ।

लक्षण

सुरुवाती समयमा सामान्य लक्षण देखिन्छ । यसले पेट दुख्नुका साथै भोक पनि कम लाग्ने समस्या हुन्छ । बान्ता हुने लक्षण पनि देखिन थाल्छ ।
बिस्तारै एपेन्डिसाइटिस बढ्दै जान्छ । र, दुखाइ यसको मुख्य लक्षणको रूपमा देखा पर्छ । यसको दुखाइ प्रभावित ठाउँमा मात्र सीमित हुँदैन । शरीरका अन्य भित्री अंगमा पनि दुखाइ फैलँदै जान्छ ।
राेगीलाई दुखाइको निश्चित ठाउँ पहिचान गर्न निकै गाह्रो पर्छ । यसले पेटको सम्पूर्ण भाग दुखेको अनुभूति हुन्छ । र, बिस्तारै यस्तो दुखाइ पेटको तल्लो भागतिर सर्दै जान्छ ।
यसले पेटको माथिल्लो भागमा हल्का दुखाउँछ भने दाहिने तल्लो भागमा भने दुखाइको मात्रा अत्यधिक हुन्छ ।
९९ देखि १०२ डिग्री फरेनहाइटसम्मको ज्वरो अउने गर्छ ।
बिस्तारै पेटको माथिल्लो भाग, पिठ्युँ मलाशयमा पनि दुखाइको अनुभूति हुन थाल्छ ।
पिसाब गर्दा समस्या उत्पन्न हुन थाल्छ ।
ग्यास्ट्रिकका साथै कब्जियतको समस्या पनि बढ्दै जान्छ ।
एपेन्डिसाइटिस पत्ता लागेमा कहिल्यै पनि ल्याजेटिभ औषधि खानुहुँदैन । यो औषधिको सेवनले एपेन्डिक्स फुट्न पनि सक्छ ।

Leave A Reply

Your email address will not be published.