mero sathi tv

फेसबुकका ५ करोड प्रयोगकर्ताको डाटा चोरी भएसँगै बाँकी प्रयोगकर्ता पनि असुरक्षित भएका छन् । यो चोरीका कारण जुकरबर्गलाई ४८ घण्टामै नेपालको एक वर्षको बजेटभन्दा धेरै घाटा भएको छ ।

सामाजिक संजाल फेसबुक एकाएक ठूलो घाटामा पुगेको छ । मात्रै ४८ घण्टामा फेसबुकलाई ९ खर्ब बराबरको घाटा लागेको छ । यो रकम नेपालको एक वर्षको बजेटभन्दा बढी हो । नेपालको चालु आर्थिक वर्षको बजेट ८ खर्बको छ ।

फेसबुकमा भएका प्रयोगकर्ताको डाटा लिक भएपछि फेसबुक एकाएक ठूलो घाटामा गएको हो । बेलायती डाटा प्रशोधन फर्म ‘क्याम्ब्रिज एनालिटिका’ पछिल्लो विवादको मुख्य कारण हो । यो फर्ममाथि ५ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी गरेको र त्यसको प्रयोग चुनाव प्रचारप्रसारमा गरेको आरोप लागेको छ । २०१६ मा अमेरिकी राष्ट्रपतिको चुनावमा यो कम्पनीले डोनाल्ड ट्रम्पलाई सेवा दिइसकेको छ । यो कुराको खुलासा न्यूयोर्क टाइम्स र लण्डन अब्जर्भरले गरेका हुन् ।

एक बेलायती प्राध्यापक अलेक्जेन्डर कोगनले फेसबुकमा आधारित एप बनाएका थिए । यो एपलाई २ लाख ७० हजार प्रयोगकर्ताले डाउनलोड गरे । यो एपमा लगइन गर्नलाई फेसबुक आइडी र पासवर्ड चाहिन्थ्यो । जब प्रयोगकर्ताले यो एपमा आफ्नो आइडी पासवर्ड राख्थे उनीहरुको आफ्नो र फेसबुक साथीहरुको सबै डाटा यो एपको माध्यमबाट हेर्न सकिन्थ्यो । यस्तोमा यो एप डाउनलोड गर्ने र उनीहरुका फेसबुक साथी गरी ५ करोड प्रयोगकर्ताको डाटा यो एपको माध्यमबाट चलाइयो । यसअघि पनि अमेरिकी गुप्तचर एजेन्सीका ह्विसलब्लोअर स्नोडेनले पनि फेसबुकले डाटा बेचेर पैसा कमाउने गरेको आरोप लगाएका थिए ।

डाटा चोरीका कारण फेसबुकको शेयर मूल्य ह्वात्तै घटेको छ । उसको शेयर मूल्य ९ प्रतिशतले घटेको छ । यसका कारण जुकरबर्गलाई ९ खर्ब नेपाली रुपैयाँ बराबरको घाटा लागेको छ । यो घाटाले विश्वकै धनीको सूचीमा चौथो स्थानमा रहेका फेसबुकका मालिक मार्क जुकरबर्ग अहिले धनीको सूचीमा सातौं नम्बरमा झरेका छन् ।

Leave A Reply

Your email address will not be published.