mero sathi tv

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक चारसय उडान, जहाज ‘होल्ड’ गर्नुपर्ने अवस्था

जहाज उडान र अवतरण व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने अवस्था छ । कुनै एक जहाजको उडान या अवतरण तोकिएको समयभन्दा थोरैमात्रै ढिला भए काठमाडौंको आकाशमा ट्राफिक जाम चुनौतीपूर्ण बन्ने गर्छ ।

सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक औसत ३४६ आन्तरिक तथा बाह्य उडान–अवतरण भएका थिए । विमानस्थलको कन्ट्रोल टावरबाट जहाज व्यवस्थापनमा खटिने एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार अहिले यो संख्या दैनिक ४ सयको हाराहारी पुगिसकेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ९ वैशाख ०७४ मा एकै दिन अहिलेसम्मकै सर्वाधिक ४७४ उडान भएका थिए ।

१८ घन्टा खुल्छ विमानस्थल

त्रिभुवन विमानस्थल दैनिक १८ घन्टा खुला रहन्छ । दैनिक ४ सय उडान हुने दिन औसतमा प्रत्येक २ मिनेट ४२ सेकेन्डमा एउटा जहाज उड्ने या ओर्लने गर्छ । अन्तर्राष्ट्रियतर्फ केवल ९ वटा पार्किङ वे र एउटा मात्र धावनमार्गका भरमा हरेक साढे दुई मिनेटमा एउटा जहाज उडान या अवतरणको व्यवस्थापन गर्नु अत्यन्तै चुनौतीपूर्ण रहेको विमानस्थलमा कार्यरत एयर ट्राफिक कन्ट्रोलरहरू बताउँछन् ।

९ घन्टा अति व्यस्त, होल्ड गर्नुपर्ने बाध्यता

अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन कार्यालयका अनुसार बिहान १० देखि दिउँसो २ बजे र साँझ ७ बजेदेखि रातको ११ बजेसम्म विमानस्थल अति व्यस्त रहन्छ । यो अवधिमा जहाज आकाशमै लामो समय होल्ड हुन्छन् भने ग्राउन्डमा रहेका जहाजको उडान ढिला हुन्छ । ‘अन्तर्राष्ट्रिय गन्तव्यबाट उडेका जहाज अधिकांश बिहान १०–११ बजेपछि काठमाडौं आइपुग्न थाल्छन्,’ नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवानन्द उपाध्यायले भने, ‘यो समयमा अधिकांश आन्तरिक उडानसमेत हुने भएकाले बढी होल्ड र डिले हुने समस्या हुन्छ ।’

विमानस्थल कार्यालयका अनुसार सामान्य वातावरणमा भने एउटा जहाज उडेको या अवतरण गरेको २ देखि ५ मिनेटमा अर्को जहाजको पालो आउँछ । ‘पिक आवर’मा एक साथ बढी जहाज काठमाडौं आइपुग्दा आकाशमा ‘होल्ड’ गरेरै व्यवस्थापन गर्नुपर्छ ।

Leave A Reply

Your email address will not be published.