mero sathi tv

पुत्रलाई सम्झिँदै प्रचण्डले भने- पीडालाई शक्तिमा बदलेर जनताको निम्ति समर्पित हुन्छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवारको प्रिय सदस्यको बिछोडमा पनि पीडालाई शक्तिमा बदलेर राष्ट्र र जनताको निम्ति समर्पित भएको बताएका छन्। चलचित्र ‘कान्छी’ को विशेष प्रदर्शन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दहालले पीडालाई शक्तिमा बदलेर राष्ट्र र जनताको निम्ति अझ बढी समर्पित गर्ने सङ्कल्प गरे।

‘श्वेताजी ले आफ्नो पीडालाई शक्तिमा बदलेर आफ्नो श्रीमानको सम्झनामा श्वेता श्री फाउण्डेसन खडा गरेर माझी बस्ती बनाउने सामाजिक क्रियाकलामा र चलचित्रद्वारा सामाजिक सन्देश दिने साहस गर्नुभएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु’, अध्यक्ष दाहालले भने, ‘मैले पनि त्यस्तै आफ्नो उद्देश्यका निम्ति समर्पित भएर आफ्नो परिवारका प्रिय पात्र परिवारका सदस्यहरूको बिछोडको पीडालाई शक्तिमा बदलेर राष्ट्र र जनताको निम्ति अझ बढी समर्पित गर्ने सङ्कल्प गरेको छु।’

सामाजिक चलचित्र कान्छीको प्रदर्शनको ४३ औँ दिनको अवसरमा कुमारी हलमा विशेष प्रदर्शनी आयोजना गरिएको थियो। अध्यक्ष प्रचण्डले चलचित्र कान्छी सामाजिक र पारिवारिक चलचित्रको रूपमा रहेको र कथावस्तुमा पनि सामाजिक सन्देश, भावना, द्वन्द्वलगायतको सबै पक्ष भएकोले उत्कृष्ट रहेको बताए।

विशेष समारोहमा वरिष्ठ डिजाईनर सुन्दर श्रेष्ठलाई अध्यक्ष प्रचण्डले सम्मान गरेका थिए। चलचित्र सन्तानबाट चलचित्रको प्रचार सामग्री डिजाइन सुरु गरेका श्रेष्ठले अहिलेसम्म १२ सय भन्दा बढी चलचित्र र विभिन्न नोट र सिक्काको समेत डिजाइन गरेको भन्दै काया फिल्म्सले सम्मान गरेको हो। अध्यक्ष प्रचण्डले श्रेष्ठले कलाको क्षेत्रको माध्यममा राष्ट्रको गौरव अभिबृद्धि गरेकोमा धन्यवाद दिए।

Leave A Reply

Your email address will not be published.