mero sathi tv

म त श्रीमतीको आयु बढाउन पाँच वर्षदेखि लगातार व्रत बस्दै आएको छु : मदनकृष्ण श्रेष्ठ

कुपन्डोलस्थित सर्वाङ्ग अस्पतालमा ६ महिना लामो किमोथेरापी सकेको एक महिनापछि यशोदा, म र मेरा सहयोगी शुक्रमान तामाङ दिल्लीको रोहिणीमार्गस्थित राजीव गान्धी क्यान्सर रिसर्च सेन्टरमा पेट स्क्यान र कोलोस्टोमी क्लोज गर्नका लागि गयौँ ।

दिल्ली जानु तीनचार दिनअघि नेपाल क्यान्स सोसाइटीका अध्यक्ष दिवाकर राजकर्णिकारलाई फोन गरेर दिल्लीमा मलाई सहयोग गर्ने कोही छ ? भनेर सोधेको थिएँ । उनले भक्तपुर क्यान्सर अस्पतालबाट दिल्लीको राजीव गान्धी क्यान्सर रिसर्च सेन्टरमा क्यान्सरसम्बन्धी स्पेसलाइज कोर्स गर्न गएका डा. रोशन प्रजापतिको नम्बर दिए ।

मैले फोन गरेर डा. प्रजापतिलाई आफू आउन लागेकोबारे बताएँ । उनले आफू बस्दै गरेको होटेलमा एउटा कोठा बुक गरिदिएछन् । हामी त्यहाँ गएर बस्यौँ । त्यस होटेलबाट अस्पताल केही मिनेटको दूरीमा थियो ।

भोलिपल्ट बिहानै हामी अस्पताल पुग्यौँ । अस्पतालमा नेपाली बिरामीको भीड देखेर एकैछिन त छक्कै पर्यौँ । यता हेरे पनि नेपाली, उता हेरे पनि नेपाली । बाहिर हेरे पनि नेपाली, भित्र हेरे पनि नेपाली । एकछिन त नेपालमै छौँ कि जस्तो पनि लाग्यो । कति नेपाली क्यान्सरबाट पीडित रहेछन् ।

राजीव गान्धी अस्पतालमा ‘ए’ ब्लक, ‘बी’ ब्लक, ‘सी’ ब्लक नामका तीनओटा ठूल्ठूलाभवन छन्, जसमध्ये ‘सी’ ब्लक अथार्त तेस्रो ठूलो भवन त नेपालबाट आएका बिरामीले तिरेको पैसाले मात्र निमार्ण गरिएको पनि भन्दा रहेछन् । उक्त कुरा हुन पनि सक्छ । किनकि अस्पतालमा नेपाली बिरामीको त्यत्रो घुइँचो छ ।

डा. रोशनले राजीव गान्धी अस्पतालका सर्जन डा. शिवेन्द्र सिंहसँग चिनापर्ची गराइदिए । पेट स्क्यान र अरु आवश्यक स्वास्थ्य जाँचपछि थाहा भयो, यशोदाका् कलेजोमा पहिला देखिएको क्यान्सरको दाग भेटिएन । सङ्क्रमण शरीरको एक भागबाट अर्को भागमा सरिरहने हुनाले मैले डा. शिवेन्द्रलाई ‘पहिले क्यान्सर देखिएको तर अहिले नदेखिएको कलेजोको भाग काटेर फ्याँक्न हुन्क कि हुन्न ?’ भनेर सोधेँ ।

मेरो उद्धेश्य काटेर फ्याँक्न सके उक्त भागमा फेरि क्यान्सरको सङ्क्रमण देखिँदैन कि भन्ने थियो । मेरो कुरामा डाक्टरले सहमति जनाए । रेक्टम काटेर फ्याँकेको ठाउँ निको भएपछि डाक्टरले कोलोस्टमी क्लोज गरिदिए । त्यसलगत्तै शल्यक्रियामार्फत कलेजोको भाग काटेर फ्याँकिदए ।

शल्क्रिया हुँदै गर्दा अपरेसन थिएटरको ढोकामा उभिएर डा. शिवेन्द्रले भने, ‘पेट स्क्यान गर्दा लिभर क्यान्सर जिरो देखिएको थियो । तर, त्यही ठाउँमा बाहिर छालामा अल्ट्रासाउन्ड गरेजस्तै भित्र लिभरमै छुवाएर अल्ट्रासाउन्ड गरेर हेर्दा शून्य दशमलव पाँच साइजको क्यान्सर देखियो । त्यसैले, लिभर काटेको राम्रै भयो ।’

उक्त शल्यक्रिया सकेर काठमाडौं फर्किएको ६ महिनापछि फेरि थप स्वास्थ्य जाँचका निम्ति दिल्ली पुग्यौँ । पहिला उपचार गरेको राजीव गान्धी अस्पतालका डा. शिवेन्द्रलाई देखायौँ । रिपोर्ट हेरेपछि उनको बडी ल्याङ्वेज अलि फरक देखियो । ६ महिनाअघि कलेजोको जुन भागनिर काटिएको थियो, ठिक त्यसै ठाउँमा पहिले देखिएभन्दा ठूलो आकारमा क्यान्सरको दाग देखियो ।

डाक्टरले भनेअनुसार फेरि दोस्रोपल्ट शल्यक्रिया गरेर कलेजोमा क्यान्सरको दाग देखिएको भाग काटेर फालियो । दोस्रो शल्यक्रियापछि पनि फेरि ६ महिनाभर १२ पटक किमोथेरापी लिनुपर्ने थियो । दिल्लीस्थित बीएल कपुर अस्पताल र काठमाडौंको बी एन्ड बी अस्पताल मिलेर काठमाडौंमा क्यान्सर सेन्टर स्थापना गरेका रहेछन् । त्यही सेन्टरमा यशोदाको ६ महिना लामो किमोथेरापीको क्रम सुरु भयो ।

बैङ्ककमा उपचारका क्रमममा रहँदा सिरिराज अस्पताल परिसरमा किमोथेरापी लिइरहेका क्यान्सरका बिरामी टाउकाको कपाल पूरै झरेका कारण कोही स्कार्फ बाँधेर त कोही मुडुलै हिँडिरहेको देखेको थिएँ । त्यो देख्दा किमोथेरापीपछि यशोदाको पनि कपाल त्यस्तै भएर झर्ने हो कि भन्ने लागिरहेको थियो । सिरिराज अस्पतालका डा. भिचेनलाई मैले ‘डाक्टर साहेब यशोदाको सेतो कपाल सबै झरेर कालो कपाल मात्र बाँकी भइदिए नि हुन्थ्यो हगि ?’ भन्दै ठट्टा गरेको थिएँ ।

मेरो कुरा सुनेर डाक्टरले हाँस्दै ‘त्यस्तो होइन, कपाल झर्छ नै । तर कालो कपालजति पूरै भर्छ र जरा मरिसकेको हुनाले सेतो कपाल भने झर्दैन’ भनेका थिए । नभन्दै त्यस्तै भयो । यशोदाको टाउको कालो कपालजति सबै झरेर गयो । सेता कपाल ज ितझरेन, जसले गर्दा किमोथेरापी सकेको एक महिनापछि उनी सेतो कपालमा कालो रङ लगाएर बुढेसकालमा फेरि तरुनी भएर हिँड्न पाइन् ।

निरन्तरको उपचारबाट विश्राम पाएपछि यशोदाको अनुहार बिस्तारै उज्यालिँदै आयो । त्यति नै बेला उनी र म बनेपाको साँगा डाँडामा उभिएको अग्लो महादेव मूर्ति हेर्न र वरिपरिका ठाउँ घुम्न गयौँ । आमाघर, मामाघर, हरिवंशको घर र अनेका ठाउँमा हामी बुढाबुढी डुल्न निस्कियौँ । त्यसको केही समयपछि यशोदालाई बुहारीको जिम्मा लगाएर मह टिमसँग कार्यक्रम देखाउनका निम्ति नीत महिना लामो अम्ेरिका र क्यानडा भ्रमणमा निस्किएँ ।

२०७१ असोजको पहिलो साताबाट सुरु भएको उक्त भ्रमणमा मसँगै यमन, हरिवंश र रमिला, छोरा मोहित, किरण केसी, शिवहरि पौड्याल, वसुन्धरा भुसाल र गौरीशङ्कर धुजू पनि थिए । उक्त भ्रमणमा अमेरिकाका २८ र क्यानडाका ६ ओटा राज्यमा विभिन्न प्रहसन प्रस्तुत गरियो ।

अमेरिकाबाट फर्किएपछि यशोदालाई स्वस्थ देखेर मनमा आनन्द लागिरहेको थियो । तर एक महिनापछि नै एकदिन यशोदाको घाँटी हल्का फुलेको हो कि जस्तो लाग्यो । मोडेल अस्पतालको सञ्चालक समितिको बैठक सकेर फर्किँदै गर्दा डा. सरोज धिताललाई मैले यशोदाको घाँटी हल्का सुनिएको कुरा सुनाएँ । उनले यस्तो समस्या थाइराइडको कारण हुन सक्छ भन्ने गर्दै एकपल्ट अल्ट्रासाउन्ड गरेर हेर्न अल्ट्रासाउन्डमा केही नदेखिए एकपल्ट बायोप्सी नै गरेर पनि हेर्न सल्लाह दिए ।

भोलिपल्टै मैले मोडेल अस्पातलमा लगेर यशोदाको घाँटीको अल्ट्रासाउन्ड र बायोप्सी गराएर हेर्दा घाँटीमा पनि क्यान्सर देखियो । यशोदालाई सन्चो भएको खुसीमा आनन्द मानेर रमाइरहेको मेरो मन एकैछिनमा अँध्यारो भयो । भोलिपल्टै हामी फेरि डा. रामकण्ठ माकाजूलाई सम्पर्क गरेर धुलिखेल अस्पताल पुग्यौँ ।

डा. माकाजूकै सल्लाहमा सीटी स्क्यान गरेर हेर्दा थाहा भयो, घाँटी र फोक्सोमा पनि क्यान्सर भैसकेको रहेछ । तीन वर्षअघि बैङ्ककको सिरिराज अस्पतालमा पेट स्क्यान गर्दा पनि फोक्सोमा दाग देखिएकै थियो । तर, त्यतिबेला डाक्टरहरुले उक्त दागलाई क्यान्सर होइन भनेका थिए ।

दिल्लीस्थित राजीव गान्धी अस्पताल र फोर्टिज हस्पिटलमा फरकफरक समयमा गरिएको पेट स्क्यानमा पनि फोक्सोमा दाग देखिएको थियो । ती दुवै अस्पतालका डाक्टरले पनि उक्त दागलाई क्यान्सर होइन नै भनेका थिए । तर, धुलिखेल अस्पतालका डाक्टरले उक्त दागलाई क्यान्सर नै हो भनेर ठोकुवा गरे ।

त्यसपछि म यशोदालाई लिएर उपचारका निम्ती बीएल कपुर अस्पताल पुगेँ । उक्त अस्पतालले पनि घाँटी र फोक्सो दुवै ठाउँमा क्यान्सर नै भएको ठहर गर्दै दाग देखिएको भाग शल्यक्रियामार्फत काटेर फाल्न सकिने बतायो ।

२०७१ फागुन पहिलो साता दक्षिण कोरियाका दुई सहरमा पुगेर कार्यक्रम देखाएर उतैबाट हङकङ र मकाउमा गएर कार्यक्रम देखाउन जानुपर्ने कार्यक्रम तय भैसकेको थियो । त्यसैले दिल्लीमै शल्यक्रिया गर्न समय पर्याप्त थिएन ।

कोरिया, हङकङ र मकाउको कार्यक्रमका लागि महिनौँ अगाडिदेखि हल बुक गरिवरी टिकटसमेत बिक्री भइसकेको हुनाले ती कार्यक्रमलाई पछि सार्न पनि नमिल्ने, रद्द गर्न पनि नमिल्ने, मेरो सट्टा अरु कुनै कलाकारलाई पठाउन पनि नमिल्ने, फोक्सो र घाँटीको शल्यक्रिया दुईतीन हप्तापछि सार्न पनि नमिल्ने । बडो अप्ठ्यारो अवस्थामा थिएँ म ।

त्यसैले डाक्टरहरुको सल्लाहमा दिल्लीको सट्टका काठमाडौंकै बी एन्ड बी अस्पतालमा शल्यक्रिया गर्ने निर्णय गरेँ । फोक्सोको अपरेसन गर्दा करङको बीच भाग चिरेर त्यहाँको हड्डी फट्याएर त्यसबीचबाट उपकरणहरु छिराएर फोक्सोको क्यान्सर भएको भाग काटेर निकाल्नुपर्ने ।

त्यसलगत्तै घाँटीको अपरेसन गर्नुपर्ने । त्यस्ती बिरामी श्रीमतीलाई छोडेर आफू विदेश पनि जानैपर्ने । छोरा यमन र बुहारी रिङ्कु त अमेरिका छाडेर नेपालमा आमा स्याहार्न आएका छँदै थिए । तैपनि मेरो अनुपस्थिति बिरामीलाई खट्किन सक्थ्यो र दुःख लाग्न सक्थ्यो ।

यो सबै परिस्थितिबारे अमेरिकामा रहेकी छोरी जानकार थिइन् । ‘त्यति टाढाबाट आउने दुःख गर्नु पर्दैन, गाह्रो हुन्छ’ भनेर मैले सम्झाइरहेको थिएँ । तैपनि ‘म कसैको कुरा सुन्दिनँ । मैले नेपाल आउने टिकट लिइसकेँ ।

म ममीको अपरेसनको एकदिनअघि आइपुग्छु । ड्याडीको अनुपस्थितिमा दाइभाउजूको साथमा म पनि सँगै भएँ भने ममीको मन अलिकति हल्का हुन्छ’ भनेर अपरेसनको एकदिनअगाडि छोरी आएरै छाडिन् ।

४ फागुन, २०७१ का दिन बी एन्ड बी अस्पतालमा यशोदाको फोक्सो र घाँटीको अपरेसन सम्पन्न भयो । त्यसैको भोलिपल्ट बिहानै लगेज र ह्यान्ड क्यारी बोकेर म अस्पताल पुगेँ । आईसीयू कक्षमा शरीरका ठाउँठाउँमा विभिन्न पाइप र तार जडान गरेर सुतिरहेकी यशोदाको छेउ पुगेर उनका हात सुस्तरी समातेर धेरै बेर बसिरहेँ । अस्पतालबाट सोझै विमानस्थल गएर कोरियाका लागि उडेँ ।

कोरियाको सोलस्थित रङ्गमञ्चमा कार्यक्रम गरिरहँदा आईसीयूमा छाडेर आएकी यशोदाको अनुहार उनको पीडादायी अवस्थाको दृश्य छिनछिनमा सम्झना भइरह्यो । नेवारबहादुर, बाहुनबहादुर नामक प्रहसन देखाइरहँदा दर्शक मज्जाले हाँसिरहेका थिए । प्रहसनको मध्यतिर एक ठाउँमा मलाई लाग्यो, हरिवंशले बोलेपछि मात्रै मैले बोल्ने पालो आउँछ ।

म धेरै बेरसम्म हरिवंशको संवाद कुरिरहेको थिएँ । तर, हरिवंश भने केही नबोली मलाई हेरिरहे । मैले ठानेँ, हरिवंशले डाइलग बिर्सेछन् क्यारे । एकैछिनमा नै म झसङ्ग परेँ । बोल्ने पालो त हरिको होइन, मेरै पो रहेछ । रङ्गमञ्चमा प्रहसन देखाइरहँदा पनि मेरो ध्यान भने आईसीयूमा छटपटाइरहेकी यशोदामै पुगिरहेको थियो ।

फोक्सो र घाँटीको शल्यक्रियाको एक वर्षपछि ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा सीटी स्क्यान गरेर हेर्दा यशोदाको फोक्सोमा फेरि १६/१७ ओटा क्यान्सरका ससाना छिटाजस्ता थोप्ला देखिए । मैले फेरि लामो सास तानेर सुस्केरा हालेँ ।

बी एन्ड बी अस्पतालमा कार्यरत डा. पङ्कजकुमार बर्मनले यशोदाको पछिल्लो समयको उपचार गर्दै आएका हुनाले मैले यसबारे उनलाई नै बताएँ । उनले फेरि किमोथेरापी दिनुपर्ने सल्लाह दिँदै भने, ‘पहिलेजस्तो साधारण किमो होइन, हाई डोजको टार्गेटेड किमो दिनुपर्छ ।’

उक्त किमोबापतको शुल्क सुन्दा म एकछिनै आत्तिएँ । त्यतिबेला साहित्यकार जगदीश घिमिरे दाइले भनेको कुरा सम्झे । उनी ‘क्यान्सर उपचारमा लाग्ने पैसाबारे कुरा गर्यो भने धाक लगाएको जस्तो हुन्छ’ भन्थे । नभन्दै त्यस्तै रहेछ । महिनैपिच्छे लाखौँलाख खर्च भइरहने ।

मैले यो कुरा एउटा समारोहमा भेटिएका गीतकार यादव खरेललाई पनि सुनाएँ । ‘के गर्नु दाइ, डरलाग्दो खर्च लागिरहेछ, कहिलेकाहीँ त राति निद्रा नै लाग्दैन’ भन्दा यादव दाइले ‘केही चिन्ता नगर, भगवानले हेर्छन तिमीलाई । भगवान छन् । मलाई अचेल यस्ता कुरामा विश्वास लाग्छ’ भनेर मेरो मन बलियो बनाइदिए ।

मैले भनेँ, ‘हुन त हो, दाइ । पुराणहरुका अनुसार यो संसार कहिले देवताले सञ्चालन गर्छन् त कहिले राक्षसहरुले । सायद मैले बाँचेको समयचाहिँ राक्षसहरुले सञ्चालन गरेको बेलामा पर्यो होला ।’ मेरो कुरा सुनेर यादव दाइले अनुभवी स्वरमा ‘त्यस्तो अवस्था अस्थायी हुन्छ । केही पीर गर्नुपर्दैन’ भनेर मलाई हौसला दिइरहे । यस्ता शब्दले केही हदसम्म भए पनि मन गल्नबाट बचाउँदो रहेछ ।

एकपल्ट गायिका आनी छोइङ डोल्माले होटेल द्वारिकाजमा आयोजना गरेको सानो डिनर कार्यक्रममा दुईचारजना साथीहरु तीजको व्रतको महत्वबारे कुरा गर्दै थिए । श्रीमानको आयु बढ्छ भन्ने जनविश्वासका आधारमा श्रीमतीहरुले पानीसम्म नखाई तीजको व्रत बस्छन् ।

उनीहरुको कुरा सुनेर मैले भनेको थिएँ, ‘म त श्रीमतीको आयु बढाउन पाँच वर्षदेखि लगातार व्रत बस्दै आएको छु ।’ मेरो कुरा सुनेर आनीले भनिन्, ‘हो दाइ, तपाईँजस्तो श्रीमान पाइने हो भने कसैले यहाँ आनी नै बन्नुपर्दैन ।’

– मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ बाट

Leave A Reply

Your email address will not be published.