mero sathi tv

मेलम्ची सुरूङको औपचारीक ब्रेक थ्रु, पानी काठमाडौं पुग्ने मिति सर्दै

मेलम्ची खानेपानी आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ आजबाट औपचारीक रुपमै घोषणा भएको छ।

सुरूङको बाँकी रहेको सिन्धु अडीटदेखि ग्याल्थुमसम्मको सात किलोमीटर सुरूङ खन्ने काम सम्पन्न भएसँगै उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारीक रुपमा सुरूङ खन्ने काम सम्पन्न भएको घोषणा गरेका हुन्। कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ, खानेपानी तथा सरसफाई मन्त्री विना मगरको साथमा मेलम्ची पुगेका पुनले सो घोषणा गरेका हुन्।

कुल २६ किलोमिटर लम्बाइको सो सुरूङको तेस्रो चरण अन्तर्गत साँढे सात किलोमिटर खण्ड रहेको सिन्धु अडिटबाट प्रवेश गरी ग्याल्थुममा निस्कीएर पुनले सो घोषणा गरेका हुन्। घोषणा कार्यक्रममा बोल्दै उपराष्ट्रपती पुनले सुरूङ खन्न खटिएको कामदारसहित सबै पक्षलाई धन्यवाद दिए।

सुरूङबाट निस्कीएर पत्रकारसँग छोटो अन्तक्रिया दिँदै पुनले नेपालकै पहिलो र लामो सुरूङको निर्माणले अन्य ठाँउमा पनि सुरुङ निर्माण गर्न नमुना बनेको बताए। “अब देशका अन्य ठाँउमा पनि सुरुङ निर्माण सहितको विकास गर्न सकिन्छ भन्ने नमुना बनेको छ, ’ पुनले भने ‘यो सुरूङ निर्माणले काठमाडौंबासीको पानीको अपेक्षा पनि पुरा हुने आशा पलाएको छ।’

सुरुङको अन्तिम समयमा काम सकिएको स्थानमा उपराष्ट्रपनि पुनले रिबन काट्दै सुरुङ खन्ने काम सकिएको घोषणा गरे। सुरूङको पहिलो खण्ड सुन्दरीजल–सिन्धु खण्ड ९.४ किलोमीटरको सन् २०१६ मा र दोस्रो खण्ड अम्बाथान –ग्याल्थुम खण्डको ८.२ किलोमिटर सन २०१७ डिसेम्बरमा निर्माण सम्पन्न भै ब्रेक थ्रु भैसकेको छ ।

काठमाडौं उपत्यकाका करिब १३ लाख बासीन्दाका लागि दैनिक १७ करोड लिटर पानी पुर्‍यायाउने लक्ष्य सहित यो खानेपानी आयोजना सुरु गरिएको हो। वि.सं. २०५५ मा मेलम्ची खानेपानी विकास समिति स्थापना गरी सन् २०१० बाट डाइभर्सन सुरुङ खन्ने काम औपचारीक सुरु गरीएको हो। यसको लागि २७ अर्ब ७६ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए। यो योजनामा एसियाली विकास बैंकको करीब २४ अर्ब रुपैंया खर्च भइसकेको बैंकका दक्षिण एसिया महानिर्देशक हुन किमले बताए।

किमले सुरुङ खनिसक्नु आयोजना अग्रगमनका लागि ठूलो छलाङ रहेको बताए। किमले भने, ‘सुरुङ खन्ने काम पुरा हुनु आयोजनाको इतिहासमा ज्यादै महत्वपुर्ण कोशेढुङ्गा हो। जसले चाँडै नै काठमाडौं उपत्यका बासीन्दाले व्यहोरीरहेको खानेपानीको समस्या कम गर्न सहयोग गर्नेछ।’

कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले आयोजनालाई सगरमाथाको आरोहणसँग तुलना गर्दै हिलारी स्टेप्समा पुगेको बताइन्। ‘अब मेलम्चीको पानी काठमाडौं पुग्न धेरै समय कुर्नू पर्दैन,’ मगरले भनिन् ‘अबको दँशैसम्ममा मेलम्चीको पानी काठमाडौंबासीले प्रयोग गर्न पाउनेछन्।’

सुरूङ खन्ने काम सकिए पनि पानी काठमाडौं पुग्न भने अझै केही समय लाग्नेछ। सुरूङको फिनिसिङको काम तीन किलोमिटर मात्रै सम्पन्न भएको छ। बाँकी खण्डमा ढलान, प्लास्टर लगाएतका काम गर्न केही समय लाग्नेछ। साथै सुन्दरीजलको प्रशोधन केन्द्रको निर्माण कार्य पनि सम्पन्न भएको छैन। आयोजनाको अर्को महत्वपूर्ण काम खोलामा बाँध बाँधी पानी सुरूङमा पठाउने भौतिक संरचना पनि बनेका छैनन्।

यो संरचना बनाउन कम्तीमा दुई वटा हिँउद कुर्नुपर्ने र यही कारणले मात्रै पनि काठमाडौंमा छिट्टै पानी नपुग्ने आयोजनामा सानो ठेकेदारको रुपमा काम गरेका इन्जीनियर श्रीराम न्यौपानेले बताए। ‘अहिले बाहिर भनेजस्तो यो दशैमा नै पानी काठमाडौं पुग्न सजिलो छैन,’ न्यौपानेले भने, ‘बाँधमा कुनै पनि काम सुरु नभएकोले अझै एक दुई वर्ष मेलम्ची काठमाडौं पुग्दैन।’

मेलम्चीको पानी काठमाडौं लगेवापत आफूहरुले पाउनुपर्ने अधिकार प्राप्त नभएसम्म पानी लान नदिने ह्याल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष उपेन्द्र तामाङले बताए। ‘पानी काठमाडौं लगेपछि यहाँका सयौं परिवारको रोजीरोटी गूम्ने अवस्था छ,’ उनले भने, ‘हामी पानी लाने कुराको विरोध गर्दैनौं तर हामीले पाउनुपर्ने हाम्रो अधिकार भने हामी छोड्दैनौं।’

Leave A Reply

Your email address will not be published.