Loading...
Home / समाचार / के-के भयो ‘कान्छी म्युजिकल नाइट’ मा ?

के-के भयो ‘कान्छी म्युजिकल नाइट’ मा ? 0

सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माणाधीन माझी बस्ती निर्माणमा सहयोग जुटाउन स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित ‘श्वेता श्री’ फाउण्डेशनले आयोजना गरेको ‘कान्छी म्युजिकल नाइट तथा रेड कार्पेट’ मा वरिष्ठ नृत्य निर्देशक बसन्त कुमार श्रेष्ठलाई ५१ हजार रकम सहित लाइफ टाइम एचिभमेन्टबाट सम्मान गरिएको छ ।

मंगलबार साँझ दरबारमार्गको होटल अन्नपूर्णमा आयोजित उक्त साँझमा फिल्मकर्मी, श्वेताश्री फाण्डेशनका सदस्यहरु, ‘कान्छी’ टिम र सञ्चारकर्मी गरि करिब ३ सय पाहुना उपस्थित थिए ।

कार्यक्रममा हास्यकलाकार बसुन्धरा भूषाल र रक्षा नेपालकी प्रमुख सामाजिक अभियान्ता मेनुका थापालाई विशेष सम्मान गरियो । अभिनेत्री भूषाल सम्मान ग्रहणपछि निकै भावुक भएकी थिइन् । यस्तै, फिल्म सम्पादक भूपेन्द्र अधिकारी र माझी बस्ती निर्माणमा सक्रिय रुपमा लागि परेका यज्ञाराज कार्कीलाई प्रोत्साहन पुरस्कार दिइयो ।

फिल्म ‘कान्छी’ को ‘चरी चट्ट परि’ बोलको गीतका गायक तथा संगीतकार राजनराज सिवाकोटीलाई बाइक उपहार दिइयो । ‘चरी चट्ट’ गीतले एक करोड बढी भ्युज पाएपछि उनलाई बाइक उपहार दिइएको हो ।

‘कान्छी म्युजिकल नाइट तथा रेड कार्पेट’ मा नायिका अशिष्मा नकर्मी, जेविका कार्की, नायक विनोद न्यौपाने, नायक तथा निर्देशक आकाश अधिकारी, नायिका मरिस्का पोखरेलले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

हास्यकलाकार कलाकार जितु नेपाल र सन्दिप क्षेत्रीले कमेडी प्रस्तुत गरे भने धर्मेन्द्र सेवन, युवराज चौंलागाईं र माण्डवी त्रिपाठीले ‘कान्छी’ को गीत गाएर दर्शक नचाए । यस्तै, हाँस्यव्यांग्य कवि शैलेन्द्र सिम्खडाले आफ्नो कविता सुनाए ।

बरिष्ठ अभिनेत्री भुवन चन्द, चैत्यदेवी सिंह, बरिष्ठ फिल्मकर्मी नीर शाह, हरिहर शर्मा, गौरी मल्ल, अभिनेत्री करिश्मा मानन्धर, अभिनेता दयाहाङ राई, पुर्व प्रधानसेनापति रुक्मान्द कटुवाल, डि.आइ.जी रमेश खरेल, तेक्वन्दो खेलाडी दिपक विष्ट, डा.भोला रिजाल लगायत वरिष्ठ व्यक्तिहरु ‘कान्छी म्युजिकल नाइट’ मा उपस्थित भएका थिए ।

श्वेताले सहभागी सबैलाई धन्यवाद दिदैं माझी बस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनप्रति कृतज्ञता प्रकट गरिन् । श्वेताले निर्माण र अभिनय गरेको फिल्म ‘कान्छी’ फागुन ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites