Loading...
Home / समाचार / धुर्मुस–सुन्तली दसैं तिहारमा पनि पीडितका घर बनाउन खटिए

धुर्मुस–सुन्तली दसैं तिहारमा पनि पीडितका घर बनाउन खटिए 0

देशभर निर्वाचनको सरगर्मी चढिरहँदा हास्यकलाकार सीताराम कट्टेललाई भने बेग्लै चटारो छ । चन्द्रपुर–८ सन्तपुरका ४८ घर बाढीपीडितका लागि एकीकृत बस्ती बनाउन जुटेका हुन् ।

गत साउनको अन्तिम साता आएको विनासकारी बाढीको चपेटामा परेको दलित समूदायका लागि एकीकृत बस्ती बनाउन उनी दसैँतिहार नभनी खटिरहेका छन् ।

कट्टेल र उनकी पत्नी कुञ्जना घिमिरे सुन्तलीले स्थापना गरेको धुर्मुस–सुन्तली फाउन्डेनको चौथो पारियोजना हो यो । यसअघि काभ्रेको डाँडागाउँमा एकीकृत नमुना पहरी बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा ६५ घर परिवारका लागि एकीकृत बस्ती र महोत्तरी बर्दिबासका ५५ घर मुसहर समूदायका लागि एकीकृत बस्ती बनाइसकेका धुर्मुस दम्पत्तिले सन्तपुरको नमुना बस्ती निकै खर्चिलो भएको समेत बताएका छन् ।

धुर्मुस् भन्छन्– चुनावको चटारोले बाढीपीडितको समस्या ओझेलमा 

दसैँको चटारोमै काम सुरु गरेका हुन् उनीहरूले । माघ २४ मा सक्नेगरी तीव्रतर रूपमा काम पनि भइरहेको उनले जानकारी दिए ।

सन्तपुरका पीडितलाई फाउन्डेशनले घर बनाए पनि अन्यत्रका पीडित भने खुला आकाशमुनि बस्न बाध्य भएको उनी बताउँछन् । बाढी गएको दुई चार हप्ता सरकार र विभिन्न संघसंस्थाले राहत वितरण गरेको भए पनि लगत्तैको स्थानीय तहको चुनाव, चाडपर्व र अहिले आइरहेको प्रतिनिधि र प्रदेशसभाको चुनावले सबैको ध्यान अन्यत्र मोडिएको उनको भनाइ छ ।

“तराईमा जाडो सुरु भइसक्यो, केही समयपछि शीतलहर सुरू हुन्छ,” उनले पीडा सुनाए, “निर्वाचनले गर्दा कसैको ध्यान पुगेको छैन, पीडितहरू ठूलो मारमा छन् ।”

निर्वाचनकै कारण सन्तपुर एकीकृत बस्ती बनाउन सहायता जुट्न कठिन भएको उनको भनाइ छ ।

यस्तो बन्दैछ सन्तपुर

१२ कठ्ठाको कम्पाउन्डमा ४८ पीडित परिवारका लागि बस्ती बन्दैछ त्यहाँ । बाढी नपसोस् भनेर जमिनको सतहबाट ६ फिट उचालेर बस्ती बनाउन लागिएको धुर्मुसको भनाइ छ । ४८ वटा घर बनाउन  ६ करोड लागत अनुमान गरिएको भए पनि अन्तिममा अझै खर्च बढ्ने उनले सुनाए ।

“दसैँतिहार नभनी काम गरिरहेका छौँ । बीचमा छठ पर्वसमेत परेकाले कामदार पाउन गाह्रो छ । तथापि छठ लगत्तै दैनिक पाँचवटा ब्लमा ३०० कामदार राखेर बस्ती निर्माण गर्छौं,” उनले थपे ।

संरचना वातावरण, अपांगता, बालमैत्री हुनेछ भने बस्तीको बीचमा बालउद्यान, सामूदायिक भवन समेत हुनेछ ।

बाढीबाट सर्वस्व गुमाएका  सन्तपुर–८का पीडित परिवारका लागि घर बनाइदिने भएपछि उनीहरूलाई वागमतीको पूर्वीनहरको किनारमा पाल टाँगेर राखिएको धुर्मुसले जानकारी दिए । जाडो बढ्न थाले पनि पीडितहरू जसोतसो बसिरहेको उनको भनाइ थियो ।

बस्ती निर्माणको स्रोत

बस्ती बनाउन फाउन्डेनको आफ्नै स्रोत नभएकाले देश विदेशमा रहेका नेपालीहरूसँग सहयोगको हात थापिरहेको धुर्मुसले बताए । बाढीपीडितको सहयोगको शीर्षकमा फाउन्डेसनमा जम्मा भएको १ करोड ५५ लाख मध्ये एक करोड ३ लाख राहतमै खर्च भएको र बाँकी रकमबाट बस्ती निर्माण सुरू गरिएकाले खर्च अभाव भएको उनले दुखेसो छ ।

“माघ २४ गते हस्तान्तरणको मिति तय गरिएकाले सहयोग जुट्ने आशा गरेका छौँ,” धुर्मुसले विश्वास व्यक्त गरे । सन्तपुरमा दलित चमार, दुसाद, हजाम, मुसहरलगायत दलित समूदाय र केही घर साहसमेत रहेको उनले बताए ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites