Loading...
Home / समाचार / फेवातालमुनिको जग्गा पनि व्यक्तिको नाममा !

फेवातालमुनिको जग्गा पनि व्यक्तिको नाममा ! 0

१७ वैशाख, कास्की। सार्वजनिक जग्गा माफियाले व्यक्तिको नाममा बनाएका घटनाहरु त सुनिए, देखिएकै हो । तर माफियाले अब जमिनमुनिको जग्गामा समेत कब्जा जमाउन थालेका छन् ।

सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर  फेवातालमुनिको झण्डै १७ सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । फेवाताल अतिक्रमणबारे छानबिन गर्न गठित समितिले अध्ययनका क्रममा यस्तो तथ्य फेला पारेको हो ।

समितिका अनुसार, ०३४ सालको नापीको क्रममा १ हजारभन्दा धेरैले फेवातालको जग्गा आफ्नो नाममा दर्ता गराएको भेटिएको छ । यसमा नापी कार्यालयका कर्मचारीहरुको समेत मिलेमतो देखिन्छ ।

समितिका अनुसार फेवातालको उत्तरपश्चिमतर्फको १६९२ रोपनी ६ आना १ दाम जग्गा पानी मुनि छ ।

२०३१ सालमा फेवातालको बाँध भत्किएपछि पानी सुकेको थियो । त्यही मौकामा अवैधरुपमा सार्वजनिक जग्गा एक हजार बढी व्यक्तिहरुले आफ्नो नाममा दर्ता गराएका थिए । तर बाँध पुनर्निर्माण भएपछि तालको पानी फैलिँदै गयो र जग्गा पानीमुनि पर्‍यो । अहिले जग्गा धनिले आफ्नो जग्गा यही हो भनेर देखाउन सक्ने अवस्था छैन ।

फेवाताल अतिक्रमणको श्रृंखला यत्तिमै रोकिँदैन । ताल किनारको ६५ मिटर वरपर कुनै पनि संरचना बनाउन नपाइने नियमको धज्जी उडाउँदै २ सय बढी घरटहरा बनाइएको छ । यसमा व्यवसायी कर्ण शाक्यले बनाउन लागेको पार्क भिलेज रिसोर्ट र बनाइसकेको होटल वाटर फ्रन्टसमेत छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites