Loading...
Home / समाचार / बेमौसमी आँप: मुखलाई काइदा, स्वास्थ्यलाई वेफाइदा !

बेमौसमी आँप: मुखलाई काइदा, स्वास्थ्यलाई वेफाइदा ! 0

हिजोआज बजारमा प्रशस्त मात्रामा आँप पाइन्छ । हेर्दै रहर लाग्ने यस्ता आँप देख्नासाथ खाउँखाउँ लाग्नु स्वाभाविकै हो ।  यस्ता आँप विभिन्न स्वाद तथा नामका साथ उपलब्ध छन् । व्यापारीहरूले आँपलाई बेलै नपुगी पकाएर बजारमा ल्याइरहेका छन् । आँप खाने मौसम भनेको जेठ र असार महिना हो । यो समयमा आँप प्राकृतिक रूपले नै पाकेर खानयोग्य हुन्छ । जेठ-असारमा खाएको आँपले शरीरलाई जति फाइदा गर्छ, बेमौसममा खाएको आँपले स्वास्थ्यमा त्यति नै धेरै असर पुर्‍याउने गर्छ ।

त्रिभुवन विश्वविद्यालयकी पोषणविद् प्रा.डा उमा कोइरालाका अनुसार बेमौसमी आँप खाएकै कारण फुड प्वाइजनिङको समस्या लिएर अस्पताल भर्ना हुने बिरामी बढ्ने गरेका छन् । उनीहरूमा झाडापखाला, वान्ता, पेट पोल्नेजस्ता विभिन्न समस्या देखिने गरेको छ ।

यस्ता समस्या देखिएकै कारण चिकित्सकहरूले समेत यस्ता फलफुल नखान मानिसहरूलाई सचेत गर्छन् ।

‘झट्ट हेर्दा आर्कषक देखिने आँप, अंगुर लगायतका फलफुल चाँडै टिपिने हुँदा यसमा कीटनाशक औषधी (पेस्टिसाइट्स)को प्रयोग पनि अत्यधिक मात्रामा गरिएको हुन्छ । यस्ता केमिकल्सले फलफुललाई मात्र नभएर शरीरका मुख्य अंग कलेजो, मिर्गौला तथा पित्तथैलीमा समेत असर पुर्‍याउने भएकाले यसबारे बेलामै सचेत हुन आवश्यक छ’, प्रा.डा कोइरालाले अनलाइनखबरसित भनिन् ।

कसरी गर्छ बिगार ?

प्रा.डा कोइरालाका अनुसार कलेजोले शरीरमा रगत बनाउने काम गर्छ । जब कलेजोमा केमिकल्सले असर पुर्‍याउँछ, तब कलेजोले रगत उत्पादन गर्न सक्दैन । त्यसैगरी,  मिर्गौलाले शरीरका विषाक्त तत्वहरूलाई छान्ने काम गर्छ । मिर्गौलामा केमिकल्स जम्मा भएपछि यसले राम्ररी छान्न सक्दैन । ती केमिकल्सले मिर्गौलाको कामलाई नै प्रभावित बनाई कालान्तरमा मिर्गौला समेत बिगार्न सक्छ । पित्तथैलीमा पनि यही कुरा लागु हुन्छ । जब पित्तथैलीमा यस्ता केमिकल्स जम्मा भएर बस्छ, तब यसले बाइल डकमै अवरोध सिर्जना गर्नसक्छ । जसका कारण पित्तथैलीमा पत्थरी हुने मात्र नभई यसले प्यान्क्रियाज तथा ठूलो आन्द्राको क्यान्सर समेत गराउन सक्छ ।

त्यतिमात्र हैन, अत्यधिक मात्रामा कीटनाशक औषधी तथा रसायनको प्रयोग गरिएका फलफुललाई पेटले समेत राम्ररी पचाउन सक्दैन । यसबाट पेटमा इरिटेशन पैदा हुन गई ग्याष्ट्रिक, अल्सर, डायरिया जस्ता समस्या देखा पर्छन् ।

यसबाट बच्न के गर्ने त ?

वरिष्ठ खाद्यविद् इन्द्र सिटौलाका अनुसार यस्ता समस्याबाट बच्न कुनै पनि मौसममा यस्ता बेमौसमी फलफुल सकेसम्म त नखानु नै बेस हुन्छ । खानै परेमा त्यसलाई रातभरि पानीमा भिजाएर खाएको खण्डमा त्यसमा प्रयोग भएका विषाक्त स्वतः नष्ट हुने गर्छ । भेनेगर, कागती वा चुक अमिलो जस्ता पदार्थमा यस्ता फलफुललाई २/३ घण्टा डुबाएर राख्दा त्यसमा रहेको विषाक्त पदार्थ नष्ट हुने गर्छ ।

आँप लगायतका बेमौसमी फलफुललाई रातभरि पानीमा डुबाएर राखी भोलिपल्ट खाँदा यसमा भएका भिटामिन, प्रोटिन लगायतका आवश्यक तत्व सजिलै नष्ट हुँदैनन् । यस्ता फलफुललाई  नभिजाईकन सीधै खाएको खण्डमा भने स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ ।

कसरी खाने त ?

कुनै सिङ्गो तरकारी वा फलफुल छ भने त्यसलाई रातभरी पानीमा डुबाउने तथा काटिएका फलफुल तथा तरकारीलाई  २/३ घण्टा पानीमा डुबाएर पनि खान सकिन्छ । यसरी तरकारी तथा फलफुललाई खाँदा यसले शरीरलाई अझ धेरै पोषणतत्व प्राप्त गर्न मद्दत गर्छ ।

त्यसबाहेक, कुनै पनि मौसममा आँप लगायतका यस्ता फलफुल खाँदा यी कुरामा ध्यान दिनु आवश्यक छ ।

-बजारमा आउने प्रायः फलफुल काँचै तथा सरसफाइविना नै आउने गर्छ । यस्ता फलफुल खानुअघि यसलाई राम्ररी सफा गर्नु पर्छ ।

-सफा पानीमा राम्रोसँग पखालेर मात्र खानुपर्छ ।

-सकेसम्म पाकेको फलफुल मात्र खानुपर्छ ।

-बोक्रा सहितको फलफुल खाँदा विशेष ध्यान दिनुपर्छ ।

-सकेसम्म टल्केको, चिल्लो फलफुल किन्नु हुँदैन ।

-काँचो फलफूल खानु हुँदैन ।

आँपबारे जान्नै पर्ने कुरा

फलफुलको राजा मानिने आँपमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन तथा कार्वोहाइड्रेट पाइन्छ । आँपमा एन्टी अक्सिडेन्ट तत्व हुने भएकाले यसले छालालाई नरम तथा आकर्षक बनाउन समेत मद्दत गर्छ । विभिन्न पोषण तत्वले भरिपूर्ण आँप स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

आँप पकाउन प्रयोग भइरहेको बिषाक्त तत्वका कारण हिजोआज आँपले स्वास्थ्यमा फाइदा पुर्‍याउनुको सट्टा हानि गर्न थालेको छ । आँपमा सामान्यतया ‘कार्वाइड’ नामक विषादीको प्रयोग बढी भएको हुन्छ । कार्वाइडमा आसर्निक तथा फस्फोरकको मात्रा बढी हुन्छ । यसले बान्ता हुने, झाडापखाला लाग्ने, पेटको जलन, अनिद्राको समस्या लगायतका आपत्कालीन समस्या निम्त्याउनुका साथै पेटको अल्सर, बिर्सने समस्या, क्यान्सर, घाँटीको समस्या आदि दीर्घकालीन असर समेत पुर्‍याउने गर्छ ।  त्यसैले कुनै पनि समयमा आपको सेवन गर्नुअघि विषादीयुक्त आँप हो कि मौसमी एवं विषादीरहित आँप हो भन्ने कुरा पत्ता लगाउनु आवश्यक छ ।

यसरी थाहा पाउन सकिन्छ, आँप मौसमी हो कि बेमौसमी ?

आँप छान्ने सबैको आ-आफ्नै तरिका हुन्छ । वरिष्ठ खाद्यविद् सिटौला भन्छन्,’ आँप छान्दा कहिल्यै पनि कालो दाग लागेको आँप छान्नु हुँदैन । रसायन तथा विषाक्त प्रयोग गरिएको आँपमा जतासुकै कालो थोप्ला हुने गर्दछ । यस्तो आँप कतै पाकेको र कतै काँचै हुने गर्दछ । हरियो भए पनि सबैतिर हरियो रहँदैन । पहेलो भएको ठाउँमा थिच्नासाथ पिचिक्कै जाने गर्दछ । त्यतिमात्र हैन, कडा गन्ध आउने यस्ता आँप किनेकै एक/दुई दिनमै कुहिन समेत थाल्छ । कडा गन्धकै कारण कसैकसैलाई वाकवाकी समेत लाग्नसक्छ । यस्तो आँप खाँदा घाँटी चिलाउने, कोक्याउनेजस्ता समस्या देखा पर्छ ।

मौसमी आँप भने प्राकृतिक तरिकाबाटै पाकेको हुन्छ । यस्तो आँप एकनासले पाक्ने तथा पहेँलो हुने गर्दछ । कुनै पनि प्रकारको रसायन प्रयोग नगरिएको आँप भेट्नोबाट पहेँलो हुँदै तलसम्म पाक्ने गर्छ । यो थिच्नासाथ लचिलो हुनुका साथै सबैतिर एकनासले दब्ने गर्दछ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites