Loading...
Home / समाचार / अबको १० वर्षमा तराईमा ‘पानीयुद्ध’ हुन सक्छ !

अबको १० वर्षमा तराईमा ‘पानीयुद्ध’ हुन सक्छ ! 0

तराईमा बाढी के कारण आयो ? यसका धेरै कारणहरु होलान् । पानी धेरै पर्‍यो भन्ने होला । तर, म के भन्न चाहन्छु भने यसको मुख्य कारण हो-जंगल सखाप हुनु । कुन जंगल भन्दा चुरियामुनिको तराईको जंगल ।

 

पहिले पहाडका मान्छेहरु जाडो छल्नका लागि हिउँदमा तराई झर्थे । आलीमा बसेर धान कटाउँथे । मुरेई खान्थे, खोर्सानी टोक्थे । घाम ताप्थे । तर, अब त तराईमा शीतलहर चल्छ । किनकि जंगल सखाप भयो । ०६२ सालको आन्दोलनका बेलामा तराईमा बस्दा मैले १५ दिनसम्म सूर्यको रोशनी नै देखिनँ ।

तराईमा १० वर्षयता शीतलहर चलिरहेको छ । क्लियर कट छ- जुन क्षेत्रमा जंगल छैन, त्यहाँ पानी पर्दैन । पूर्वी तराईमा सबैभन्दा सुख्खा बेल्ट भनेको हाम्रो वीरगञ्जदेखि सप्तरीसम्म छ । जहाँ जंगल अलि बाँकी छ, त्यहाँ पानी पर्छ । तपाई क्लियर देख्नुहुन्छ, ढल्केबरभन्दा तल पानी परिरहेको हुँदैन । जहाँबाट जंगल सुरु हुन्छ, बर्दिबासदेखि तपाई अगाडि बढ्नोस्, त्यता पानी परिराखेको हुन्छ ।

जनकपुरमा मैले ०३७ सालमा घर बनाउँदा ४० फिटमा पानी आएको थियो । ०१८/२० सालतिर पम्प गाड्नुपर्दैनथ्यो, आफैं पानी आउँथ्यो । ०३६ सालमा त्यो सुक्यो । र, मैले ०३७ सालमा पम्प फिट गर्दा ४० फिटमा पानी आयो ।

जतिबेला म १०/१५ वर्षको थिएँ, पढाइ लेखाइ छाडेर, बरालिएर गाईभैंसी पनि हेर्न जान्थें । त्यसबेला बाँसका आँख्लाहरु भित्रबाट फुटाएर सोझै जमिनमा गाड्यो भने पानी आउँथ्यो । त्यति सतहमा आउँथ्यो पानी ।

म ०२० सालमा काठमाडौंमा आएँ, त्यतिबेलासम्म जनकपुरको हाम्रो घरमा पोखरीको डिलमा अढाइ इञ्चको पाइपबाट २४ घन्टा पानी आउँथ्यो । ०२४ सालमा काठमाडौंबाट कोलकाता गएँ, त्यसबेलासम्म ठीक थियो । ९ वर्ष बसेर पढेँ र ०३६ सालमा जनकपुरमा (डाक्टरी) प्राक्टिस सुरु गरेँ । जनकपुरमा ०३७ मा घर बनाउँदा आँगनमा ४० फिटमा पानी आउँथ्यो ।

म राष्ट्रपति भएपछि ५/६ वर्ष पहिले छोरी अनिताले जनकपुरको घरमा पम्प सुक्यो भनिन् । त्यहाँ काठको घर छ । उनले त्यसलाई मर्मत गरिन् । त्यसबेला आँगनमा पाइप गाड्दा २८० कि २९० फिटमा पानी आयो । म राष्ट्रपतिबाट रिटायर्ड भइसकेपछि मलाई भेट्न आउने मानिसहरुले सुनाइरहेका छन् कि जनकपुरमा ४ सय फिटमा, सवा चार सय फिटमा मात्रै पानी आइरहेको छ । यस्तो किन भयो भने जंगल सखाप भयो ।

उहिलेको मधेस स्वर्गजस्तै थियो

म अहिले ७५ वर्षमा हिँडिरहेको छु, पछिल्लो ६४ वर्षयताको तराईलाई मैले हेरेको छु, देखेको छु । त्यसबेला तराई स्वर्ग थियो ।

हो, कम्युनिकेसन सिस्टम थिएन । पहाडका मानिसहरु पैदल तराई झर्थे । तराईका मानिसहरु पशुपति दर्शन गर्न पनि हिँडेरै आउनुपथ्र्यो । पहाडमा गोरेटो र घोडेटो अनि तराईमा बयलगाढा वा हात्ती घोडाले हिड्थ्यौं । तर, पनि तराई स्वर्ग नै थियो ।

म जतिबेला १२/१५ वर्ष थिएँ, तराईमा मलेरिया धेरै हुन्थ्यो, पहाडका मानिसहरु तल झर्दैनथे । भित्री मधेस, चुरिया र तराईको बीचमा थारु, जनजातिहरु बस्थे । त्योभन्दा तल खेतीबारी गर्ने हाम्रा पूर्खाहरु बस्थे ।

त्यसबेला तराईमा पानीको कुनै कमी थिएन । अन्नवाली पर्याप्त थियो । त्यसबेला तराईमा पानीको भण्डार, अन्नको भण्डार, फलफूलको भण्डार थियो । माछा खाएरै नसकिने । कुनै पनि कुरा किन्नु नपर्ने । सबै हामीकहाँ थियो । भारत भर्खर स्वतन्त्र भएको थियो, उत्तरी भारतको भन्दा हाम्रो अवस्था मजबुत थियो । हाम्रोबाट अन्नबाली उतातिर निर्यात हुन्थ्यो ।

चुरियाभन्दा तल चारकोशे झाडी थियो । सबैभन्दा साँघुरो ठाउँमा चार कोश अर्थात ८ माइल थियो भने धेरैमा १० कोशसम्म फैलिएको थियो । जनकपुर भन्दा १० किलोमिटरमाथि मेरो घर छ, घरबाट केहीमाथि जंगल थियो । बर्दिबास ढल्केबरमा त बाक्लो जंगल थियो । मलाई कृष्णप्रसाद भट्टराईले कहानी सुनाउनुहुन्थ्यो कि ००३ सालमा उहाँ वीपी कोइराला र केदारमणि दीक्षित कपिलेश्वरमा खाना खाएर भेष बदलेर महोत्तरी हुँदै सिन्धुली, काभ्रे हुँदै काठमाडौं पुग्नुहुन्थ्यो । त्यसबेला बर्दिबासको जंगलमा अँध्यारो भएर दिउँसै लालटिन बाल्नुपर्ने थियो ।

मैले देख्दा नै ढल्केबर भन्दा तल अहिले जहाँ कृषि फर्म छ, त्यहाँसम्म बाक्लो जंगल थियो । राजमार्ग बनेको थिएन । चुरियालाई बचाउनका लागि त्यसबेला बफर जोनका रुपमा चारकोशे झाडी थियो । तराईका मानिसहरुसँग धेरै गाईबस्तु थिए । उनीहरु ६ महिना त्यही जंगलको छेउमा बस्थे । परिवारका मानिसहरु गोठालाहरु लिएर जंगलका छेउमा बस्थे । छ महिना तल खेतीपाती गर्थे ।

तराईमा पानी त त्यसबेला पनि पथ्र्यो, बाढी पनि आउँथ्यो । तर, कोशी र बाग्मतीमा मात्रै बाढी आउँथ्यो । कमलाको बाढीले धेरै क्षति गरेको हामीले सुनेनौं । तराईमा खोलाले पहाडबाट मलिलो पाँक माटो ल्याएर फाल्थ्यो र झनै २ मनको सट्टा ४/५ मन धान फल्थ्यो ।

पानी पर्‍यो भने पनि त्यो च्यानलाइज्ड हुन्थ्यो र तलतिर जान्यो अहिलेजस्तो बबण्डर हुन्थेन । अहिले बाडीबाट १२५ बढीको मृत्यु भइसकेको छ ३०/३५ जना हराइरहेका छन् । शुक्रबार, शनिबार र आइतबार तीन दिनको वर्षाले डढे सयको ज्यान गएको छ । फेरि यो पटक हिमाल र पहाडमा धेरै वषर्ा भएन, चुरे बेल्टमा नै बढी भयो । पहिले तराईमा यस्तो हुँदैनथ्यो ।

तपाईहरुले सुन्नुभएको होला, तराईमा सतहिया भन्छ, सात दिनसम्म लगातार पानी पर्थ्यो । त्यसबेला १५ दिनसम्म पानी पर्ने भएकाले बस्तुभाउका लागि सुकेको पराल र खाना पकाउने दाउरा घरमा जोहो गरेर राखिन्थ्यो ।

म किन यो भनिरहेको छु भने त्यसबेला तराईमा जंगल थियो । र, चुुरियामा पनि जंगल थियो । पानी पर्‍यो भने च्यानलाइज्ड भएर जान्थ्यो । ठूलो नदी वागमती, सप्तकोशीमा मात्रै बाढी आउँथ्यो । कमलाको बाढीले १० गाउँ डुवायो भनेको सुनेको थिइनँ । खहरे त थियो तर, पानी आउँथ्यो, सुक्थ्यो । अहिले जंगलजति सखाप भइसक्योे र चुरियामाथि आक्रमण भइरहेको छ । पानी पर्दा चुरियाको कमलो माटो, गिटी र ढुंगा बगाएर तल खहरे खोलामा जान्छ ।

हाम्रो भूमि कमजोर छ, हामी भूकम्पीय जोनमा छौं र त्यसमा पनि हिमाल र महाभारतको पछाडि एउटा जोन छ, त्यो एकदमै ‘फ्रेजाइल’ छ । त्योभन्दा तल अन्न भन्डार छ, जसलाई ‘राइस बल’ भन्नुस् तपाई । लगभग २५ प्रतिशत भूभाग तराईको छ, जहाँको अन्नले सम्पूर्ण देशलाई खुवाएर पनि हामी निर्यात गरिरहेका थियौं ३० वर्ष पहिलेसम्म । अहिले पढ्दैछु, चामल मात्रै एक वर्षमा मात्र २५ अर्बको आयात भएको छ ।

विगतमा चुरियामा बाक्लो जंगल थियो, त्यसले माटोलाई पक्डेर राखेको थियो । पानी पर्दा जमिनले सोस्थ्यो र जमिनमुनि चार्ज गथ्र्यो । त्यही अण्डर ग्राउण्ड पानी पोखरीमा भरिपूर्ण हुन्थ्यो । खाल्डाखुल्डी भरिएका हुन्थे । ५ महिनासम्म त मान्छे माछै मात्र खान्थे । धान खेतमा माछा पाइन्थे । अहिले त धानखेतमा माछा देख्न सकिँदैन । पोखरीमा माछा पालेन भने अन्यत्र पाइँदैन । त्यसबेला त गरीब मान्छेहरुले पनि ६ महिनासम्म माछा खाने, बेच्ने गर्थे ।

म वैज्ञानिक हैन, आफ्नो अनुभव सुनाएको हुँ

वैज्ञानिक भाषामा वैज्ञानिकहरुलाई सोध्नुहोला, तर मैले देखेको आफ्नो अनुभवको कुरा गरिरहेको छु । म मेडिसिनको मान्छे, मलाई कसरी आयो होला कि यो चुरिया संरक्षण गर्नुपर्छ भनेर ?

मैले राष्ट्रपति हुने. सौभाग्य पाएपछि सम्पूर्ण देश घुमें । म के भन्छु भने जसले देशको भूगोल बुझ्दैन, इतिहास बुझ्दैन, देशको राजनीतिको उतार-चढावको इतिहास बुझ्दैन, आफ्नो भूराजनीति बुझ्दैन, यो रिजन बुझ्दैन, त्यसले यो देशको प्लानिङ गर्न सक्दैन ।

म आफू घमण्ड गर्दिनँ, तर मधेसमा जन्मेर, सम्पूर्ण देश घुमेर मैले आफ्नो जीवनको गोरेटो बाटोबाट हिँड्ने क्रममा यो अनुभव गरेको हुँ र तपाईहरुलाई यो अनुभव सुनाएको हुँ ।

म यही काठमाडौंमा ५४ वर्ष पहिले पढ्नका लागि आउँदा यहाँ गाउँजस्तै थियो । हराभरा र सुन्दर थियो । वाग्मती सफा थियो । कञ्चन नदी बगिराखेको थियो । काठमाडौंमा जाडोले हामीलाई सताउँथ्यो । म सुन्धारामा, झोंछेमा बस्थें, जाडोका कारण हामी महिनौंसम्म नुहाउँदैनथ्यौं । सुन्धारामा नुहाउन जान्थ्यौं । जुम्रा परी जान्थ्यो ।

अमृत साइन्स क्याम्पसको होस्टेलमा बस्दाखेरि बालाजुको बाइसधारामा नुहाउन जान्थ्यौं । महिना दिनमा कपडा धुन जान्थ्यौं । त्यसबेला नुहाउन मुस्किल थियो, अहिले जाडो याममा पनि काठमाडौंमा तराईको जस्तै गर्मी छ । यसका अनेक कारणहरु हुन सक्छन्, यसबारेमा वैज्ञानिकहरुसँग सोध्नुहोला, तर मैले साधारण तरिकाले आफ्नै जीवनकालमा देखिरहेको छु कि तराईको जंगल समाप्त भयो, अहिले चुरियाको जंगल र जमीनमाथि आक्रमण भइराखेकोे छ ।

तपाईहरुलाई भन्न चाहन्छु कि म त एउटा कृषक परिवारमा जन्मेर डाक्टर भएँ, प्रजातन्त्रप्रति समर्पित थिएँ । ०१७ सालको घटना मेरै सामुन्नेमा भयो । लोकतन्त्रका लागि योगदान गर्दै राजनीतिमा गएँ । त्यसपछि जनताको आशिर्वादले राष्ट्रपति भएँ । त्यसले गर्दा मलाई के लाग्यो भने मैले अब चुरे संरक्षणको कुरा उठाउनुपर्छ ।

राष्ट्रले मलाई मौका दियो, म राष्ट्रपतिसम्म भएँ र देशको धेरै भाग घुमेको छु । हाम्रो भूमि त स्वर्ग जस्तो छ, यसलाई बचाएर राख्नुपर्छ । प्रकृतिले भनौं वा भगवानले, जे जस्तो दिएको छ, यसलाई बचाएर राख्नुपर्छ । पहाडमा अलि पहिल्यै बुझे कि रुख काट्यो भने पहिरो जाँदोरहेछ । तर, अहिले फेरि पहाडमा डोजर चलाइरहेका छन् । यसले विकास त भयो तर, वातावरणमैत्री विकास भइरहेको छैन ।

चुरियाको माटो बचायो भने त्यहाँको पानी बच्छ, जंगल बच्छ । जंगल बच्यो भने पानीको स्रोत बच्छ । चुरेदेखि तल बोर्डसम्म जल रह्यो भने मात्रै जीवन रहन्छ । त्यसैले हामीले भौतिकरुपमै यो ल्याण्डलाई बचाउनुपर्छ ।

उताबाट बिहारी आए, यताबाट पञ्चले नागरिकता बाँडे

पञ्चायतकालमा हाम्रो जिल्लाका हेमबहादुर मल्ल मन्त्री थिए । मधेसबाट उनीहरु श्रीमान श्रीमती दुईटैले जितेका थिए । त्यसबेला म मेडिकल प्राक्टिसमा थिएँ । उनले भन्थे कि ए यादवजी जंगलमा जानोस्, सखुवा काटेर ल्याउनोस् । जंगल फ्री छ, ल्या न ।

एकदिन म क्लिनिकमा बसिराखेको थिएँ । मेरो भतिजो नाता पर्ने आयो । कताबाट आइस् भन्दा बोर्डर पारि पुगेर आएको भन्यो । किन गएको थिइस् भन्दा सखुवाको काठ बयलगाडामा लगेर बेचेर आएको भन्यो । कतिमा बेच्यौ भन्दा डेढ सय कि दुई सयमा ! अहिले त्यसको दाम कम्तिमा एक लाख होला ।

तराईको जंगल मासिएको मैले आफ्नै आँखाले देखेको । हाम्रो तराईको बेल्टमा पर्ने पहाडी क्षेत्रमा तामाङहरु बढी छन् । सिन्धुलीदेखि लिएर मकवानपुर, काभ्रे, सिन्धुपाल्चोकतिर तामाङहरु बढी छन् । त्यसैगरी मगरहरु पनि छन् । म राजमार्ग बनेका बेलाको कुरा भन्दैछु ।

हामीले गाईवस्तु चराउन आउने माथितिरको जंगलमा पहाडका तामाङ, मगरहरुले जंगल फाँड्दै बस्दै गर्न थाले । त्यहीबेला उतातिर बिहारमा बाढी आयो । बिहारमा डुबिन्छ भनेर त्यतातिरका मानिसहरु विस्थापित भएर यता आउन थाले ।

यतातिर पञ्चहरु थिए । पञ्चले सिफारिस गर्ने अनि नागरिकता दिने । मन्त्रीले नै तिनीहरुलाई नागरिकता देउ भन्ने । किनकि उनलाई त त्यहाँबाट भोट लिनु थियो । हाम्रा जिल्लामा हेमबहादुर जस्ता मान्छेहरु थिए । भोला झा जस्ता मान्छेहरु थिए ।

उनीहरुमध्ये कोही जंगलमन्त्री हुन्थे, कोही के मन्त्री हुन्थे । उनीहरुले भनेर उतातिरका मान्छेलाई प्रधानपञ्चले सिफारिस गर्ने अनि नागरिकता बाँड्ने काम भयो । सिफारिस कसले गर्ने ? प्रधानपञ्चले गर्ने, मन्त्रीले नै गर्ने ।

नागरिकता पाइसकेपछि उनीहरुले बिचरा गरीब मगर र तामाङहरुले २/३ वर्ष लगाएर फाँडेको जमीन किन्न थाले । यसरी जग्गा बेचेपछि ती तामाङ र मगरहरु अर्को ठाउँमा सरेर फेरि जंगल फाँड्दै जाने । यसप्रकारले तराईको जंगल फाँडियो ।
पञ्चायतकालमा जनमत संग्रहका बेलामा सबैभन्दा बढी जंगल फाँडियो । बहुदलका बेलामा पनि राम्रोसँग व्यवस्थित भएन । यो २० वर्षमा चुरियामा बालुवा र ढुंगा खत्तम पारेर क्रसर उद्योगको जालो बिच्छ्याइयो । यसैले गर्दा अहिले सारा कुराहरु बर्बाद भइराखेका छन् ।

मेरो जिन्दगीको ५० वर्षमा तराईको जंगल सखाप भयो । झापा मोरङतिर अलिकति बाँचेको छ । सप्तरीदेखि यता तराईतिर जंगल नै छैन । जनमतसंग्रहका बेलामा म जनकपुरमा (डाक्टरी) प्राक्टिस गर्थेँ र जनमत संग्रह कसरी जित्छ भनेर प्रचारमा जान्थेँ । यसबेलासम्म जंगल थियो । तर, पञ्चायतकालको अन्त्यतिर जंगलमाथि एकदमै आक्रमण भयो ।

बहुदलमा अलिअलि गर्‍यौं तर, राम्रो व्यवस्थापन भएन । त्यसपछि द्वन्द्वकाल र गणतान्त्रिक कालको २० वर्षमा तराईको जंगल सखाप नै भयो, चुरियामा धेरै ठूलो आक्रमण भयो । किनकि राजर्माग बन्यो र पहाड- तराई दुबैतिरबाट बसाई सराई भयो । राजमार्गको दुबैतिर वस्ती बस्यो र बजार बन्यो ।

जंगलको फँडानी ! नदीको कटानी !

तीन/चार वर्षअघि राप्ती, बबईमा बाढी आएको थियो । दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलालीतिरका बस्तीहरु डुबेका थिए । त्यसबेला म त्यहाँ गएको थिएँ । त्यहाँका थारु बन्धुहरुले महत्वपूर्ण कुरा सुनाए । उनीहरुले भने- ए राष्ट्रपतिजी, जंगलको फँडानी ! नदीको कटानी ! खेतको पटानी (बालुवाले ) ! उर्बर भूमि जम्मै बालुवाले छोपिदियो । अब अन्नपात मुस्किल हुन थाल्यो ।

मैले पत्रिकामा पढिरहेको छु, चार लाख मान्छे रौतहटमा मात्रै प्रभावित छन् । चन्द्रनिगाहपुर र रौतहटको जुन मुख्य पीच बाटो छ, त्यो टुटेर त्यहाँ रबरको नौकामा बसेर मान्छे पार गरिराखेका छन् । गौर पूरै डुबेको छ । ४ लाख मान्छे एउटै जिल्लामा प्रभावित भएका छन् । झापादेखि कञ्चनपुरसम्म पूरै प्रभावित भएको छ । यसमा पनि बर्दियासम्म बढी प्रभाव परेको छ । अहिलेको बाढीले डेढ सय मानिसको क्षति भएको छ (मृत्यु भएका र हराइरहेका) । उहिले मैले तराईमा बाढीका कारण यतिधेरै मान्छे डुबेको र मरेको बहुतै कम सुनेको थिएँ ।

यसको मुख्य कारण मैले भनिसकें, बफर जोन, तराईको जंगल सखाप भयो । र, अहिले चुरियाको जंगल समाप्त भइराखेको छ । चुरियाको जगै खन्ने काम भइराखेको छ । हामी भन्छौं यो राष्ट्र बनाउँछौं । तर, भगवानले दिएको जमीन, जंगल र पानी नै हो । चुरेको जमीन कमजोर छ, त्यसलाई बचाउन त्यसको मुनि भगवानले जंगल दिएका छन्, त्यो मासिइसक्यो ।

यही कारणले गर्दा जब पार्नी पर्छ चुरेको फुसफुसे माटो बगेर जान्छ । र, बालुवा ढुंगा गिटी नदीको बेल्टमा जान्छ अनि पानीले तराईको बस्ती डुबाउँछ । खेतमा बालुवा र माटो फाल्छ ।

मन्त्रीसम्मै सेटिङ छ, ढुंगा गिटी भारत जान्छ

अहिले राजमार्ग क्षेत्रमा क्रसर उद्योगहरु खुलेका छन् । हाम्रो देशमा मात्र होइन, भारतसम्म पुगेको छ । यसमा सबैको मिलोमतो छ । स्थानीय प्रशासन, स्थानीय राजनीतिकर्मी, दुई नम्बर व्यापार गर्नेदेखि लिएर सबैको भाग छ ।

जिल्ला विकासले नदीले ठेक्का लगाउँछ । नदीको सतहबाट गिट्टी र बालुवा उठाए त ठीकै छ तर, त्यसमा क्वालिटीको हुँदैन । त्यसपछि उसले राजमार्गमाथिको चुरिया पहाड खोस्रिन्छ । चुरियाको जग नै खनेपछि भासिन्छ र नदीमा बालुवा गिटी जान्छ र बगेर नदी भरिन्छ ।

जंगल फँडानी र चुरियाको उत्खननले नदीको सतह पुरिन्छ र राजमार्गको पुलमुनि बालुवा जम्छ । फेरि बालुवा खोस्रिएर लैजान्छ । त्यसले पुलहरु भासिन्छन् ।

सरकारले कानुन बनाउँछ, लागू हुँदैन । म क्लियर भन्छु, सचिवदेखि राजनीतिकर्मी, मन्त्रीहरु सबको क्रसर उद्योग छ । जस्तो मेडिकलको जालो भनिरहनु भएको छ, त्यस्तै जालो छ । कमिसनतन्त्र छ ।

अहिले पनि हाम्रो देशमा ७० प्रतिशत कृषक परिवार छन् । त्यसैले पानी पनि जरुरी छ । हामी मनसुन बेल्टमा पनि छौं तर, भूवनोट (माटो) कस्तो छ भने अघि नै भनेँ कि भूकम्पीय जोन, नयाँ पहाड, फ्रेजाइल जोन र त्यो पनि पहाड र तराईको बीचको फ्रेजाइल माउन्टेन । प्रकृतिले सुसज्जित गरेर, बचाएर राख्नु भनेर दिएको यो भूमि हामीले अव्यवस्थित ढंगले बालुवा, गिटी, ढुंगा खनेर आफ्नो देशमा मात्र होइन, बाहिरी देशमा पनि पठाइरहेका छौं ।

द्वन्द्वका कारण धेरै बेरोजगार भए र पछिल्लो २० वर्षमा तराईकै धेरै मानिस विदेश गए । उनीहरु कमाएर आउँछन् र कंक्रिटकै घर बनाउँछन् । त्यसलाई पनि बालुवा, गिटी, ढुंगा चाहिन्छ । सडकदेखि विकासको काममा पनि चाहिन्छ । तर, दुई नम्बरी ब्यापारीका कारण पारि (भारतमा) पुगिरहेको छ ।

अबको १० वर्षमा पानीयुद्ध हुन सक्छ

मलाई के लागिरहेको छ भने यही बेसमा, यही रफ्तारमा हाम्रो चुरियाको उत्खनन् हुन्छ, जंगलको फँडानी हुन्छ र बालुवा गिटी अवैज्ञानिक तरिकाले खनिन्छ भने र यसबाट निकट भविश्यमा भयावह परिणाम आउन सक्छ ।

हामी सबैलाई थाहा छ कि हाम्रो देश हिमाल, पहाड र तराई भएको मुलुक हो । पहाड र तराईको बीचमा सिवालिक क्षेत्रलाई हामी चुरे पहाड भन्छौं । यो हाम्रो ‘योङ माउन्टेन’ हो, जसमा तलको चुरे अझ योङ माउन्टेन सिस्टम हो । चार करोड वर्ष पहिले गेगर र थेगर जम्मा भएर चुरिया बनेको हो । यो ‘फ्रेजाइल माउन्टेन’ हो ।

इलामदेखि कञ्चनपुरसम्म ३६ जिल्लामा चुरे बेल्ट छ । यसको ओरिजनमा जाँदा पाकिस्तानको सिन्धु घाँटीदेखि भारतको ब्रह्मपुत्रसम्म यो बेल्ट छ । यो भूमिमा निकै महत्वपूर्ण जंगल र वनस्पति छ । १३ प्रकारको इको सिस्टम छ । ११ सय भन्दा बढी वनस्पती त फूलवाला मात्रै छन् ।

तपाईले सुनिराख्नुभएको छ, गर्मीका बेला राजमार्ग बेल्टमा पानीको क्राइसिस सुरु भइसकेको छ । गत वर्ष म बिरामी पर्नुभन्दा पहिले तराई गएको थिएँ । त्यसबेला महोत्तरीको उत्तरी बेल्टका सातवटा गाउँमा पानीको क्राइसिस सुरु भएको थियो । यसपालि पनि सुनें, सिराहा सप्तरीतिर पनि क्राइसिस सुरु भइसक्यो । यस्तै हो भने अबको १० वर्षमा तराईमा पानीका लागि लडाइँ हुन्छ ।
तराईमा पानी त पहिले पनि पथ्र्यो । मैले सात दिनको, १५ दिनको झरीको कुरा गरें । अहिले बसाइँ सराईको कुरा पनि होला ।
बसाइँ सराईले त्यहाँ मानिसहरु बढी भए । आफ्नो देशमा मानिसहरुको बसाई सराइ त हुन्छ ।

मेरो विचारमा पूर्व-पश्चिम राजमार्ग अलि तल बनिदिएको भए शायद जंगलको फँडानी हुने थिएन । र, यति चाप जंगलतिर हुने थिएन कि ? त्यो गल्ती भएको हो कि ? जंगलको फँडानी गरेर जुन बाटो बन्यो यसले गर्दा त्यहाँ मानिसहरुको बसाइँ सराइ बढी भयो । त्यसैले यो बसाइँ सराइलाई ‘मोडेल म्यानेजमेन्ट’ गर्नुपर्छ ।

समाचार स्रोत : 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites