Loading...
Home / Uncategorized / यसकारण छोट्याउनुपर्छ १३ दिने किरिया

यसकारण छोट्याउनुपर्छ १३ दिने किरिया 0

ज्वरोका कारण बेहोस भएका विराटनगर–४, वरगाछीका किरण खरेल, ४०, लाई भदौ अन्तिम साता उपचारका लागि काठमाडौँको ओम नर्सिङ होम ल्याइयो । अस्पताल भर्ना भएको दुई दिनमै उनी बिते । अत्यन्त न्यून आय भएका खरेलका दुई छोरा सिद्धार्थ र सिजन अहिले आर्यघाटनजिक राजराजेश्वरीस्थित किरियापुत्री भवनमा आफ्नो बाबुको किरियामा छन् । क्यान्सरका कारण यसअघि आमासमेत गुमाइसकेका यी दुई भाइलाई यतिखेर बाबुको किरिया खर्च कसरी जुटाउने भन्ने चिन्ता छ ।

निन्याउरो अनुहारमा देखिएका जेठा छोरा सिद्धार्थले भने, “अहिलेसम्म ४० हजारजति खर्च लागिसक्यो । यताउता गर्दा एक लाख त बाबाको किरियामै लागिहाल्ला । वार्षिकीसम्म पुग्दा दुई लाख नै पुग्ला कि !” उनीहरू आफैँले यो किरिया खर्च जुटाउन सक्ने अवस्था छैन । आफन्तले खर्च जुटाइदिएका छन् ।
काठमाडौँको एक क्याम्पसमा व्यवस्थापनमा स्नातक गरिरहेका तनहँुका संजोग आचार्य, २५, लाई हृदयघात भयो । बालाजुको एक चियापसलमा खाजा खाइरहेका बेला बेहोस भएर ढलेपछि उनका साथीले हतारहतार ट्याक्सीमा हालेर सोह्रखुट्टेको मनमोहन मेमोरियल अस्पताल पुर्‍याए । पाँच दिनपछि अस्पतालमै उनको मृत्यु भयो ।

न्यून आर्थिक स्रोत भएका पाण्डे परिवारका लागि अहिले संजोगको मृत्यु संस्कार सकसपूर्ण भएको छ । नाम नखुलाउने सर्तमा मृतकका आफन्तले भने, “छोराले केही गर्ला र जीवन सहज होला भनेर पर्खेर बसेका बाबुआमालाई अहिले छोराको किरियाखर्चसमेत खोज्न पर्ने अवस्था आयो । मैले नै केही पैसा हाल्दिएँ ।” आफन्तका अनुसार १३ दिने संस्कार सक्दा मात्रै ८० हजार रुपियाँ खर्च भएको छ ।

जन्मदेखि मृत्युसम्म गरिने १६ हिन्दु संस्कारमध्ये अन्त्येष्टिलाई विशेष मानिएको छ । मृत्युपछि परलोकको सुख र कल्याणका लागि मृत्यु संस्कार आवश्यक ठानिन्छ । तर, खरेल र पाण्डे परिवारका लागि भने आधा महिना लामो मृत्यु संस्कार बोझ र पीडाको कारक बनेको छ । बित्ने बितिहाले, बाँच्नेलाई सास्ती । उनीहरू लोकलाज टार्नकै लागि मात्र ऋण लिएर संस्कार गर्न बाध्य छन् ।

राजराजेश्वरीस्थित किरियापुत्री भवनमा भेटिएका पुरोहित लीलाप्रसाद आचार्यले लोकलाज ढाक्नकै लागि पनि किरिया संस्कार गर्नुपर्ने बाध्यता नेपाली समाजमा रहेको कुरो सत्य भएको बताए । उनले भने, “पशुपति आर्यघाटमै शव जलाउनेदेखि लिएर १३ दिने कर्म गर्दासम्म खर्च नै गर्दिन भन्दा पनि ५० हजार रुपियाँ त लाग्छ नै ।”

पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव गोविन्द टण्डनका अनुसार आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई पशुपति क्षेत्र विकास कोषले दाहसंस्कार गर्दा र किरियापुत्री भवनमा बस्दासमेत सहुलियत दिने गरेको छ । केही सीमित हिन्दु सम्प्रदायबाहेक अधिकांश हिन्दु शवलाई नदी किनारमा जलाउने गर्छन् । शव जलाएको दिनदेखि १३ दिनसम्म निरन्तर मृत्युसंस्कार जारी रहन्छ । त्यसपछि एक वर्षसम्म गरिने नियमित मासिक श्राद्ध र वर्ष दिन पुगेपछि गरिने वार्षिकी त छँदैछ ।

मृत्युले आफन्त र मित्रलाई पीडा दिने पीडा त छँदैछ तर मृत्युपछि हुने खर्चको बोझले न्यून मध्यमवर्गीय परिवारलाई उत्तिकै बोझ थपिदिन्छ । ८२ प्रतिशतभन्दा बढी हिन्दु भएको नेपालमा मृत्यु संस्कारका कारण नेपालको आर्थिक विकासमै असर पारेको निचोडसहित यो संस्कार पाँच दिनमै सक्नुपर्छ भन्दै ‘हस्ताक्षर अभियान’मा लागेका रामप्रसाद गौतमका भनाइमा एउटा काजकिरियामा कमसेकम दुई लाखदेखि सात लाख रुपियाँसम्म खर्च हुन्छ । भन्छन्, “१३ दिनसम्म एउटा किरियामा दैनिक कमसेकम १० जना संलग्न रहने र परिवारका सबै व्यक्ति त्यसरी नै निष्क्रिय रहँदा त्यसले देशको आर्थिक विकासमै नकारात्मक प्रभाव पार्छ ।”

जानकारहरूका अनुसार काजकिरियालाई १३ दिन मात्र गर्नुपर्नेे नियम जुद्धशमशेरले विसं १९९८ जेठबाट सुरु गराएका हुन् । त्यसअघि १३ महिना नै किरिया गरिने चलन थियो । गौतमका अनुसार १३ दिने संस्कार वेदमा कहीँ पनि उल्लेख छैन । बीचको कालखण्डमा गरुडपुराणमार्फत आएको संस्कार हो यो । गरुड पुराणका सम्पूर्ण विधि मान्ने हो भने अति नै धनीमानीले पनि मृत्यु संस्कार धान्न नसकिने उनको ठम्याइ छ ।

उसो त द्वापर युगको अन्त्यसम्म महान् हिन्दु धरोहर राम, सीता, राधा, कृष्ण आदिको किरिया भयो कि भएन भन्ने प्रसंग कहीँ पनि उल्लेख छैन । त्यसको अर्थ द्वापरको अन्त्यतिर अहिलेजस्ता गरुडपुराणको अर्थ लगाउन नसक्ने पण्डित नभएर उनीहरूको मृत्यु संस्कार भएन भन्नु हास्यास्पद हुन जान्छ । संस्कार सुधारकहरूको मत छ, ‘सात दिनसम्म गरिने श्रीमद्भागवत् सप्ताहलाई एकाहा बनाउन सहजै स्वीकार गर्ने हिन्दु समाजले १३ दिने किरियालाई पाँच दिनमा ग्रहण गर्न सक्नुपर्छ ।’

कुनै पनि धर्म तथा संस्कार निश्चित समयका लागि उपयोगी हुन्छ । संस्कारको सान्दर्भिकता सार्वकालिक हुन्छ भन्नु आफैँमा अन्धविश्वास हो । संस्कार त मान्छे र समाजका लागि हुनुपर्छ । यसर्थ, सती प्रथालगायत अनेकौँ अमानवीय प्रथालाई निषेध गरेर अघि बढेको हिन्दु धर्मले पनि किरिया संस्कारलाई समयसापेक्ष सुधार गर्न सके अति राम्रो हुने बताउँछन् संस्कृतिविद् मोदनाथ प्रश्रित । प्रश्रितका अनुसार किरिया संस्कारमा सुधारबारे गत वर्ष भएको समाजका लेखक, साहित्यकार र प्रबुद्ध व्यक्तिहरूको लामो अन्तरक्रिया र छलफलपछि १३ दिने किरिया संस्कारलाई सात दिनमा झार्नुपर्छ भन्नेमा मोटामोटी सहमतिसमेत भएको छ । किरिया संस्कार सुधार्नुपर्छ भन्नेमा मोहनविक्रम सिंह, मोदनाथ प्रश्रित, नरहरि आचार्य, घनश्याम शर्मा पौड्याल, विष्णु दाहाल र खगेन्द्र संग्रौलासम्म छन् ।

भड्किलो संस्कारले आफू र आफन्तलाई अप्ठ्यारो बनाएको निष्कर्षसहित मृत्यु संस्कारलाई छोट्याउने सर्वसाधारण बिस्तारै बढ्दै छन् । गत भदौमा मात्र पशुपति आर्यघाटनजिकको राजराजेश्वरीस्थित किरियापुत्री भवनबाट तीन जना मृतकको किरिया पाँच दिनमै गरिएको पुरोहित आचार्यले बताए । यस प्रक्रियालाई सहज बनाउने काममा सुधारक पण्डितहरू पनि देखिएका छन् ।
प्रसिद्ध साहित्यकार तारानाथ शर्मा आफ्नो आम्दानी बढाउने उपायका रूपमा मात्रै तत्कालीन समाजका केही व्यक्तिले मृत्यु संस्कारलाई लामो र झन्झटिलो बनाएको बताउँछन् ।

“हाम्रोजस्तो अपठित र धर्मान्ध समाजमा युगौँदेखि संस्कारका नाममा शोषण भएकाले यस्तो संस्कारलाई छोट्याएर शिष्ट तरिकाले शोक मनाउने प्रचलन बसाउनु आवश्यक छ ।” शर्मा आजको युगमा बरखीसमेत बार्नु नपर्ने बताउँछन् ।

साहित्यकार नरनाथ लुइँटेलले ०६६ सालमा बितेकी आफ्नी आमाको किरिया नबसी त्यही १३ दिने ‘किरियावधि’मा ठूली शोककाव्य रचना गरे । लुइँटेलले एउटा प्रसंग कोट्याउँदै भने, “०३६/३७ सालतिर धादिङको जिल्ला पञ्चायत कार्यालयमा कार्यरत सरकारी हाकिम मुरारी शर्माले आमाको किरिया नगर्दा जागिरसमेत छाड्नु परेको थियो । गाउँबाट लखेटिएर उनी नुवाकोट भागेका थिए ।” लामो काजकिरिया र अनावश्यक भोजको संस्कारले सम्पन्न वर्गलाई त असहज नहोला तर भड्किलो र लामो किरिया संस्कारलाई जागरुक नवपुस्ताले घटाउन प्रयास गर्नु आवश्यक छ ।

हड्यो गौदान

मृत्यु संस्कारमा दुई दशकअघिसम्म अनिवार्य मानिएको गौदान (गाईदान) अहिले हटेको छ । ‘परलोकको मार्गमा आइपर्ने पीप र रगतको वैतरणी नदी तर्न गाईको पुच्छर समातेर सहज हुने’ भएकाले गाईदानको प्रचलन चलेको हो । राजराजेश्वरी किरियापुत्री भवनमा भेटिएका पण्डित शेषराज गौतमले व्यावहारिकताका कारण गाई दान गर्ने प्रचलन हराएको बताए ।

पहिला–पहिला पण्डितहरूका आफ्नै गाईगोठ हुन्थे । पाल्न, चराउनसमेत सहज थियो । अहिले बढ्दो सहरीकरण र घट्दो पशुपालनका कारण त्यो सम्भव रहेन । गौतम भन्छन्, “अहिले हामी गाईदान स्वीकार्दैनौँ । जजमानहरूले गाईको सट्टा  पैसा नै दिन थालेका छन् ।” एउटा दुधालु गाई दान गर्न खर्चले पनि धान्न सकिन्न । गाई नै दान गर्ने हो भने एउटा दुहुनो गाईको मूल्य ५० हजारदेखि एक लाख रुपियाँसम्म पर्ने कृषकहरू बताउँछन् ।

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites