मलाई पनि श्रीमानको शवसँगै जलाइयोस् ,दुनियाँले थाहा पाऊन् पुत्र वियोगको मेरो पीडा :गंगामाया

मलाई पनि श्रीमानको शवसँगै जलाइयोस् ,दुनियाँले थाहा पाऊन् पुत्र वियोगको मेरो पीडा :गंगामाया

 युद्धमा असंलग्न छोरो मारियो । जायजेथा हरण गरियो । सँगै शैय्यामा सुतेका श्रीमान् निचेष्ट भए । अर्को छोरो बेपत्ता भयो । पुत्र वियोग संसारको सबैभन्दा ठूलो वियोग हो । एउटी आमा तड्पिरहेकी छन् १४ वर्षदेखि । उनको दैनिकी नियाल्दा पनि अनुभूत गर्न सकिन्छ– पुत्र शोकको जलन कत्तिको हुन्छ ।

वियोगान्त चलचित्रमा समेत विरलै देख्न पाइने यो दृश्य एउटी आमाले दश वर्षकै अन्तरालमा भोगिन्, बेहोरिन् ।

तैपनि थाकेकी छैनन् र न्याय पाउने आशमा हल न चल भएर अस्पतालको शैय्यामा कष्टपूर्वक सास फेरिरहेकी छन् ।

० ० ०

वीर अस्पतालको आईसीयू वार्ड । शैय्या नम्बर ७ । गोरखा फुजेलकी गंगामाया अधिकारीले आमरण अनशन सुरू गरेको ६ वर्ष भइसकेको छ । ६ वर्षको अन्तरालमा अधिकारी परिवार देश–विदेशका समाचारका हेडलाइन बने । मानव अधिकारवादी संघसंस्थाको छलफलको अजेन्डा बने तर उनीहरूको माग ज्युँका त्युँ रह्यो । बरु बल्झँदै दुखिरह्यो ।

“यहाँ त मानिस आउन–जान छाडिसकेका थिए, तपाईंहरूचाहिँ किन आउनुभएको नि ?,” हामी पुग्नेबित्तिकै सोधपुछ कक्षकी परिचारिकाले प्रश्न हुत्याइन् र आश्चर्यभावले आँखा फिँजाइन् ।

भित्र दुईजना महिला प्रहरीहरू स्याहारमा जुटेका थिए । नागरिककै पोशाकमा रहेकी एकजनाले हातमा आगन्तुक पुस्तिका लिएकी थिइन् । अर्की युवतीचाहिँ हातमा मोबाइल खेलाउँदै थिइन् ।

मानिसको बाक्लो आउजाउ हुँदो हो त सोधपुछ गर्दै दिन बित्थ्यो । आउने–जाने नहुँदा उनीहरूको दिन पनि मोबाइलको स्क्रिनमा औँला दौडाउँदै र गंगामायाको स्याहारमै बित्छ । “अचेल मानिसहरूको आउजाउ कम भएको छ,” हातमा आगन्तुक पुस्तिका लिएकी युवतीले पनि हामीलाई यसै भनिन् ।

फेरिइछन् गंगामाया । अनुहार ढक्क फुलेछ । शरीर पनि कुँजिदै गएको रहेछ । केही समयअघि उनको अवस्था नाजुक थियो, अहिले उठेर बस्नसम्म सक्दिरहिछन् ।

“दुई महिनाअघि खुट्टाको अप्रेसन गर्दिए, किन गर्दिए थाहा छैन, कतिबेला फुत्त सास जान्छ, यसै भन्न सक्दिनँ,” कुराकानीको सुरूमै पीडा पोखिन् । अनुहारको उज्यालो क्रमशः ओझेल पर्दै गयो ।

“अचेल कसैसँग मुख उघारौँझैँ लाग्दैन, कति सुनाउनु सन्तान वियोगको बेदना, कसले सुन्न बाँकी छ र यो पीडा ? वायुसरह फैलिएर कुन सहरमा मात्र पुगेको छैन होला ?,” उनले नाक खुम्च्याइन् र बोल्न आनाकानी गर्न थालिन् ।

पीडादायी ६ वर्ष २०६१ जेठ ६ गते हो उनको कान्छो छोरा मारिएको, तत्कालीन विद्रोही पक्षबाट । युद्धप्रति बैरभाव थिएन, बरु बेमतलव थियो । युद्धरत पक्षसँग आग्रह, पूर्वाग्रह पनि थिएन । कहिलेकाहीँ विद्रोही पक्ष आउँथ्यो, भात खान्थ्यो, बाटो लाग्थ्यो ।

अचानक छोरो मारियो– सेनामा भर्ती भएको निहुँमा ।

“१७ वर्षको छोरो सेनामा भर्ती भएको थिएन,” गंगामाया बर्बराउँछिन्, “अनाहकमै मारियो !”

उनको बर्बराहट यतिमै सकिँदैन, “बम बारुद खेलाउन गएको भए चित्त बुझ्थ्यो । युद्धमा असंलग्न मानिसलाई रिस उठेकै भरमा मारिदिन पाइन्छ ?” भक्कानिन्छ उनको मन । आशा थियो– छोरो मारियो, कानुनको त हत्या भएको छैन नि ! पक्कै न्याय पाइन्छ ।

तर, त्यही आशाले जीवन क्रमशः उजाडिँदै गयो ।

०६१ को गृष्मयाममा पुत्र वियोगले विह्वल बनिन् । कोख उजाडियो उनको ।

त्यसको ठीक दश वर्षपछि ०७१ असोज ६ गते सिन्दूरसमेत उजाडियो ।

न्याय माग्न ६ वर्षअघि प्रधानमन्त्री निवास पुगेका थिए । तर न्यायको सट्टा पति नन्दप्रसाद अधिकारी र गंगामायाको हातमा हतकडी ठोकियो र प्रहरी वृत्त कमलपोखरी पुर्‍याइयो । ३९ दिन जेलको चिसो सिँढीमा कैदीसरह तड्पाएपछि उनीहरूले भोक हड्ताल सुरू गरेका हुन् ।

वीर अस्पतालको आकस्मिक कक्षमा राखेर अनशन तोडाउने प्रयत्न पटकपटक नभएको होइन, तर पुत्रवियोगले विह्वल मातृपितृ हठका अघिल्तिर सरकार निरीह भयो ।

परिणामस्वरूप अनशन बसेको ३३४ दिनमा उनका पति निष्प्राण बने । पतिको शव ३ वर्षदेखि शिक्षण अस्पताल महाराजगञ्जमा छ, दाहसंस्कारसमेत हुन सकेको छैन ।

“न्याय नपाई शव जलाउन दिन्नँ, को आउँदो रहेछ आओस् ! यहाँ नभए अन्तर्राष्ट्र जान्छु, न्यायको ढोका ढकढक्याउन,” उनको अठोट छ ।

मातृहठको पराकाष्ठा एउटी महिलाले गुमाउने कति कुरा हुन्छ ? शायद त्यसको हिसाबकिताब गर्न मुस्किल हुन्छ । यौवन रित्याएर पुष्ट बनाएको कोख विद्रोही पक्षले निमोठ्यो । सिन्दूर राज्यले उजाडिदियो ।

जेठो छोरो नुरप्रसाद अधिकारी गत चैतदेखि बेपत्ता छन् । कोख, साथ, गाँस उजाडिएर बगरतुल्य बनेकी गंगामाया नितान्त एक्ली छिन् । आफ्नो भन्नु २ जना सरकारी रखवारी मात्रै हुन् ।

अन्नपानीको शरीर । एक दिन खान नपाए हायलकायल हुन्छ ज्यान । सङ्घर्ष खानकै लागि हो भन्नेहरू पनि छन् । आफैँलाई निर्मम यातना कत्तिञ्जेल त ?

“एउटी आमा भएर सोच्दा आफूबाहेक गुमाउन बाँकी केही पनि छैन मेरो । निख्रिन बाँकी यही झिनो सासमात्रै हो, त्यही पनि सरकारलाई नै बुझाइदिन चाहन्छु,” भित्तामा टाँसेको छोरो कृष्णप्रसादको फोटोतिर आँखा पुर्‍याउँदै मसिनो आवाजले बोलिन् उनले ।

हरेक रात ऐंठन हुन्छ । सपनामा त्यही छोरो आउँछ । किशोरवयको छोरो काखमा लुटपुटिन्छ र हरपल न्यायको याचना गरिरहन्छ ।

यही स्वप्न–दुःस्वप्नले हो उनलाई सरकारसँग सिँगौरी खेल्न बाध्य बनाएको । भोकै, प्यासै तड्पाएको ! अनशनको शैय्यामा थल्याएको ।

“घर, कोख, सिउँदो सबै उजाडियो, अनशन बस्न कतै जग्गा बाँकी छैन, कतिले ठान्दा हुन्– अस्पतालमा अनशन किन बसेको होला, भोक हड्ताल बस्न अन्त त ठाउँ पनि छैन,” मनले भनिरहन्छ उनको ।

नन्दप्रसादको दाहसंस्कार नन्दप्रसादको शव शिक्षण अस्पतालको मुर्दाघरमा थन्किएको छ । “नन्दप्रसादको शव न्याय नपाई खरानी हुँदैन, सरकारमा बस्नेहरू अन्तर्राष्ट्रिय अदालत धाउनुपर्ने हुन्छ, सजिलै जल्दैनन् मेरा पति,” उनी अड्डी कस्छिन् ।

न्याय पाउने आश त छैन तर उनको एउटै इच्छा छ– “पतिको शवसँग आफूलाई पनि जलाइयोस् । थाहा पाऊन् दुनियाँले, पुत्र वियोगको पीडा कस्तो हुँदो रहेछ । भोलिका दिनमा न्याय नपाएर हाम्रो परिवारको जस्तो दुःखान्त कसैको नहोस् । सबैले चेतून्, पाठ सिकून् ।”

आफूले न्याय नपाएको गुनासो गर्न छाडिसकेकी छिन् गंगामाया । “भोलिका दिनमा न्याय नपाएर म जसरी अरू आमा तड्पिन नपरोस् । मैलेझैँ अरू पत्नीहरूले पती गुमाउन नपरोस् । घरबार नउजाडियोस् । मेरो जसरी सिन्दुर नखोसियोस् । जति गुमाउनू परोस्, मैले नै परोस्,” यत्ति हो उनको इच्छा ।

“कानुनी राज्य र विधिको शासनको वकालत गर्ने ९ प्रधानमन्त्री र दुई राष्ट्रपति फटाइकेकी छु । दुनियाँले सुन्नेगरी भन्न चाहन्छु– न्याय दिन नसक्ने निरीह अनुहार लिएर मेरो अनशन बिथोल्न कोही नआउनू, इतिहासमा हाँडीको श्रीपेच लाउनुपर्ला !,” तन सुके पनि मातृत्व सुकेको छैन उनको ।

सरकारको निरीहता ६ वर्षअघि उनको माग सामान्य थियो– युद्धमा असंलग्न छोराको हत्यारालाई कानुनी कारवाही गरियोस् र कब्जा गरेको सम्पत्ति फिर्ता होस् !

“न्यायको याचना गर्दागर्दै पति अनशनमै दिवंगत भए । छोरो वेपत्ता भयो । यसको पुर्ताल कसले गरिदिन्छ ? हुँदाखाँदाको परिवार उजाडियो, सर्वश्व हरणको पूर्ति कसरी हुन्छ ? मानसिक आघातको औषधि कसले गरिदिन्छ ?” उत्तरहरू उनीसँगै कोमामा छन् । बौरिनै नसक्नेगरी ।

तथापि भन्छिन्, “सासले नपाए लासले लिन्छ न्याय बाबु !”

 “छोराको हत्यारालाई कारबाही गर भन्दा तत्कालीन सरकारले ‘मानसिक सन्तुलन गुमेका दम्पत्ति’ भनेर अस्पताल पुर्‍यायो । हत्यारालाई पक्रिद्याओन भन्दा यी बूढा नारीमा हतकडी ठोक्यो ! प्रहरीले लछारपछार पारे ! के मात्र अत्याचार भोग्न बाँकी छ र हामीले,” शोकाकूल बनिन् र शैय्याको बारमा बाँधेको राष्ट्रिय झन्डामा आँखा पुर्‍याइन् ।

तर, यी सबैमा मारिएको छोराले न्याय पाओस् भन्दा बढ्ता चाहना छैन । सन्तानप्रतिको माया भन्दा बढी केही छैन । कसैलाई नियोजित हिसाबले फसाउने दुःचेष्ट पनि छैन उनको । न त सशस्त्र संघर्षसँग पूर्वाग्रह नै छ ।

युद्धकालमा मारिने कृष्णप्रसाद एक्ला हुन् र ? गंगामायाको नाम सुन्नेबित्तिकै अधिकांशको मनमा यही प्रश्न उब्जिन्छ– युद्धकालमा मारिने कृष्णप्रसाद एक्ला हुन् र ?

 “व्यक्तिगत रिसरागले मारिएको हो मेरो छोरो । युद्धमा संलग्न भएर मारिएको भए जीवनसँग खेलवाड गर्दै दुनियाँलाई रमिता देखाउन अनशन बस्दिनथेँ, आमाले सन्तानको न्याय खोज्दा यसमा के स्वार्थ हुन्छ ?,” प्रश्न गर्छिन् उनी ।

“युद्धमा अनाहकमा मारिने अरू पनि होलान् । अरूका पीडामा खाटा बसे होलान् । अरू चुप लागे भनेर मैले न्याय माग्नुहुँदैन भन्ने छ र ?,” उनी उद्वेलित हुँदै गइन् ।

‘उक्साहटमा अनसन बसेकी होइनँ’ पेटमा ठोस पदार्थ नपरेको ६ वर्ष भइसक्यो । तरल पदार्थले धानेको छ प्राण । पति गुमाएयता दिनको एकपटक च्याउको सुप खान्छिन् । कहिले त्यो पनि नपिउन हठ गर्छिन् । हप्तामा तीनदिन चेत हुन्छिन् बाँकी दिन अचेतै हुन्छिन् ।

मुद्दा एनजीओकरण भयो । सशस्त्र संघर्षलाई कलुषित बनाउन चाहनेहरूले खेले । गंगामायाको आवरणमा शान्ति प्रक्रिया विथोल्न खोज्ने सक्रिय भए– नेपथ्यका यी आवाज उनको कानमा पनि परेको छ ।

“त्यो किमार्थ होइन, एउटी आमालाई न्याय माग्न कसैले सिकाउनुपर्दैन । सन्तानको पीडा आमालाई जति अरूलाई हुँदैन पनि । प्रशव पीडा सहेर जन्माएको सन्तानको माया आमालाई जति अरूलाई कहाँ हुन्छ ? कसैले अनशन बस भन्दा अनशन बस्ने म बच्चा पनि होइन,” प्रतिवाद गर्छिन् उनी ।

‘डलरवादी’ले उक्साए भन्नेलाई अगाडि आउन चुनौती दिन्छिन् र आफूले भोगेका दुःखद घटनाको मिहीन अध्ययन गरेर निष्कर्षमा पुग्न सुझाव दिन्छिन् ।

अनशन कतिञ्जेल ? “छोराको न्यायको आश गर्दा राज्यले पतिको लाश थमाइदियो, बाँचुञ्जेल न्याय पाउँला भन्ने आश त छैन तर पनि हिम्मत हारेकी छैन, सहनै कठिन हुने प्रशव वेदना सहेर जन्माएको छोरो हो, मारिहालेँ भनेर खुलेआम हिँडेका अपराधीलाई उम्कन दिन्नँ, मेरो सासले नपाए लासले पक्कै न्याय पाउँछ ! मेरो पतिको जिउँदो शरीरलाई लासमा बदल्ने प्रधानमन्त्री, मन्त्रीलाई चैनले सुत्न दिन्नँ !,” अन्तिममा आक्रोश पोेखिन् उनले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *