एमालेसँग सरकार गठनका विषयमा कुनै छलफल नभएको उपेन्द्र यादवको स्पटोक्ती

एमालेसँग सरकार गठनका विषयमा कुनै छलफल नभएको उपेन्द्र यादवको स्पटोक्ती

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले एमालेसँग सरकार निर्माणबारे औपचारिक छलफल नभएको जनाएको छ। एमालेले फोरम नेपालसँग मिलेर सरकार गठनको तयारी गरेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला फोरम नेपालले एमालेसँग सरकार गठनका विषयमा कुनै छलफल नभएको जनाएको हो। फोरम अध्यक्ष यादवले निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीसँग एक पटक भेट भएपनि सरकार निर्माणको विषयले भने प्राथमिकता नपाएको जनाएका हुन्। उनले एमालेसँग सरकार निर्माणका विषयमा छलफल गरिएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अत्तालिएको भन्दै आपत्ति जनाए। अध्यक्ष यादवले एमाले अध्यक्ष ओलीसँगको भेटमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको उल्लेख गरे। उनले आफूहरुको माग अनुसार संविधान संशोधन नभई आफ्नो पार्टी सरकारमा जाने अवस्था नरहेको अडान बताए। अध्यक्ष यादवले बाम गठबन्धनलाई बहुमत प्राप्त भएकाले सरकार गठन गरेर अघि बढन पनि सुझाव दिए। अध्यक्ष यादवले ३ ठूला दलकै कारण निर्वाचनपछि पनि मुलुकमा संवैधानिक जटिलता देखिएको आरोप लगाए। केही दिन अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेले फोरमसँग मिलेर सरकार गठन गर्न लागेको बताएका थिए। राष्ट्रिय सभा गठनका विषयमा दलहरुबीच सहमति नजुट्दा सरकार गठनमा अन्योल उत्पन्न भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *