Loading...
Home / समाचार / मानवीय संवेदना हराएको देशमा…

मानवीय संवेदना हराएको देशमा… 0

एउटा मान्छे बीच सडकमा लडेको छ, अरुलाई केही मतलव छैन । सवारीहरु तर्किएर गुडिरहेका छन् ।

बटुवाहरु त्यो लडेको मान्छेलाई लगभग नाघेर हिँडिरहेका छन् । छेवैका दोकानेहरु आफ्नै धन्दामा ब्यस्त र मस्त छन् । अलिक पर्तिर सिठी फुकिरहेको ट्राफिक प्रहरी लडेको यो मान्छेलाई देखेनदेखे झैं गरिरहेको छ । त्यसो त उसले लगाएको वर्दीमा यो मान्छेको पनि पसिना छ ।

दृश्य हिँजो बिहान मित्रपार्क चोकको हो । दृश्य केही बेर नियालिसकेपछि लाग्छ यो शहरमा मान्छेहरुको संवेदना मरिसकेको छ । यहाँ मान्छेहरुले नै मान्छेको मोल घटाएका छन् । अब यो शहर बस्न लायक रहेन ।

यहाँ मान्छेहरुको हृदय धुलो, धुँवा र कार्बनमोनोअक्साइडले खिया परिसकेको छ । मासु, रक्सी र खल्तीको दशबीस टक्काले मान्छेहरु यहाँ मातेका छन् । मात्तिएका छन् ।

ननुहाए पनि महँगा लुगा लगाउनेहरु, धुँवा, धुलो र कार्वनमोनोअक्साइडले फोक्सो जलेकाहरु, फास्टफुडले इन्जिन ध्वस्त भएकाहरुको बाहुल्यता रहेको नेपालको राजधानी अब रोगी मान्छेहरु बस्ने रुग्ण शहरमा तव्दिल भइसकेको छ । यहाँ कसैलाई कसैको केही मतलब छैन । मतलब छ त केवल स्वार्थ, स्वाद, सपना, सुनचाँदी… ।

बाटो हिँड्दा हिँड्दै छारे रोगले लडेको मान्छेको यो हालत देखेर मलाई यो देशमा मान्छेको मोल पनि थाहा पाउन मन लाग्यो । यस असभ्य र रोगी शहरमा साँच्चै कति हो त एउटा मान्छेको मोल ?
र, बाटोमा हिँड्दा हिँड्दै यो मान्छे ढल्न सक्छ भने, के एकदिन यो मान्छेको ठाउँमा म हुन सक्दिन ? तपाईं हुन सक्नुहुन्न ?

जुन देशमा मान्छेको मोल सकिन्छ, ढिलोचाँडो त्यो देश पनि विघटन हुन्छ । भात पाक्यो कि पाकेन भनेर एउटा सितो छाम्दा थाहा लाग्छ, पुरै भाँडाको भात जाँचिरहनु पर्दैन । नेपाल देशको हालत पनि सडकमा ढलेको एउटा मान्छेले दर्शाइरहेको छ, उसको टाउकोबाट झरेको छेवैको नेपाली टोपीले पनि केही त जनाइरहेको छ ।

( लिलाराज खतिवडाको फेसबुकमा पोष्ट गर्नुभएको यो खबर घटना र विचारबाट लिइएको हो)

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites